• १४ मंसिर २०८१, शुक्रबार

दुर्गम वडाको सेवा काठमाडौँमै

blog

काठमाडौंमै पुगेर सेवा प्रदान गर्दै वडाध्यक्ष ज्ञानबहादुर पाण्डे र वडा सचिव सुवास पौडेल ।

राजकुमार भट्टराई

खोटाङ, भदौ २६ गते । खोटाङको रावाबेसी गाउँपालिका-४ डुम्रेधारा पानीका नागरिकले सङ्घीय राजधानी काठमाडौँमै वडाको सेवा पाएका छन् । डुम्रेधारा पानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौँ बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् । 

डुम्रेकोट सेवा समाज खोटाङ, काठमाडौँको समन्वयमा वडा कार्यालयले सोमबार आयोजना गरेको प्रशासनिक घुम्ती सेवाबाट २ सय बढीले सेवा लिएका छन् । वडाध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा सचिव सुवास पौडेल उपस्थित भएर प्रदान गरिएको घुम्ती सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन भएको थियो । सेवाग्राहीको भिड लागेकाले रातीसम्म सेवा सञ्चालन गर्दा पनि सबै नागरिकले सेवा पाउन सकेनन् । बाँकी नागरिकलाई मंगलबार पुनः दोस्रो दिन सेवा प्रदान गरिएको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।   

स-साना कामका लागि ठुलो खर्च गरेर वडा कार्यालय आउनु पर्ने नागरिकहरूको समस्या छ । जसकारण नागरिकको समस्या मध्यनजर गर्दै काठमाडौँ पुगेर सेवा प्रदान गरिएको वडाध्यक्ष पाण्डेको भनाइ छ । “नागरिकको नजिकको सरकार, अझ भनौँ, छाम्दा भेटिने, देख्दा देखिने सरकार, स्थानीय सरकार हो”, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “नजिकको सरकार भएपछि नागरिकका स–साना समस्या पनि बुझ्नुपर्ने हुन्छ । हाम्रा धेरै नागरिकहरू विभिन्न कामले काठमाडौँमा बस्छन् । त्यसैले हामीले काठमाडौँमा आएर सेवा प्रदान गरेका छौँ ।” 

वडाले सञ्चालन गरेको घुम्ती सेवाबाट २ सय बढी नागरिकले जन्म दर्ता, मालपोत असुली, विवाह दर्ता, विभिन्न सिफारिस लगायत वडाबाट पाउने सबै सेवा लिएका छन् ।