शिक्षा दिवस किन मनाउने ? दिवस मनाउने हो भने अझ सनातनी प्रकृतिको शिक्षा दिवस किन मनाउने ? कि समयसापेक्ष अनुसार मनाउने भन्ने अहम् प्रश्न हाम्रासामु छन्। शिक्षा मन्त्रालयले कर्मकाण्डी रूपमा मात्रै दिवसहरू मनाउने गर्दछ,
किन ? जब जब यस्ता दिवसको समन्वय गर्ने दिन नजिक आउँछन्, मन्त्रालयले यस्ता थुप्रै प्रश्नको सामना गर्नु पर्छ। २०७७ र सोपछि २०७९ सम्म कोभिडलगायत अन्य कारणबाट शिक्षा दिवस नमनाइएको हुनाले यस अवधिमा भने यस्ता प्रश्न मन्त्रालयले सायद सुन्नु परेन। यस अवधिमा शिक्षा दिवस किन नमनाइएको हो ? अब कहिले मनाइन्छ भन्ने जस्ता प्रश्न भने आइरहेकै हुन्।
शिक्षा दिवस किन मनाउने भन्ने प्रश्नको उत्तर खोज्न मानव सभ्यताको विकास क्रमतर्फ हेर्नु उपयुक्त हुन्छ। हामी सबैलाई जानकारी भएकै विषय हो, मानिसको सभ्यताको विकास मानिस समूहमा बस्न थालेपछि सुरु भयो। अनि समुदाय सिर्जना हुँदै गयो। यससँगै सामाजिक अन्तव्र्रिmया बढ्दै गयो। अनुभव आदान प्रदान गर्ने कार्य भए। यस क्रममा सुख, दुःख पनि एकआपसमा बाँडिए। कतिपय सामाजिक कार्यका लागि निश्चित समय र दिन किटान गरिए। केही दिनहरू धार्मिक कार्यका लागि छुट्याइए। यसरी मानव समाजमा विशेष दिनहरू अर्थात् पर्व वा दिवसहरू विकसित भएको हुनु पर्छ।
यही विशेष कार्यका लागि विशेष दिन छुट्याइएसँगै उक्त दिनहरू पर्व वा दिवसका रूपमा विकसित भएको हुनु पर्छ। मानिस जीवनमा झेलिएका दुःख, पीडा बिर्सेर भए पनि उक्त विशेष दिन रमाए होलान्, त्यति बेला। केही विशेष काम गर्न सुरु गरे होलान्। व्यक्ति र समुदायमा रहेको यस्तो अभ्यासपछि मात्र राज्यले ती दिवसलाई सबैले मनाउनुपर्ने दिनका रूपमा घोषणा गरेको हुनु पर्छ। समुदायका पर्वहरूमा विशेष उत्साह देखिन्छ। अपनत्व देखिन्छ तर सरकारले तय गरेका दिन अर्थात् पर्वहरूमा त्यस्तो उत्साह नदेखिएको विगतका केही वर्षका अनुभवले देखाएको छ।
राज्यका पर्वमा सरकारी संरचनाबाहेक समुदायले खासै अपनत्व लिएको देखिँदैन किन ? आममानिसले राज्यका पर्व तथा दिवसमा अपनत्व लिन किन नचाहेका होलान् ? यस विषय थप अध्ययनको क्षेत्र हुन सक्छ। शिक्षा दिवस पनि सरकारले तय गरेको एउटा दिवस अर्थात् राष्ट्रिय पर्व हो। नेपाल सरकार मन्त्रीपरिषद्ले २०८० जेठ ९ गतेको बैठकबाट हरेक वर्षको असोज २ गते शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको छ। तसर्थ यो शिक्षा क्षेत्रका लागि खास पर्व हो, खास दिन हो। मुलुकले अहिलेसम्म ४० वटा शिक्षा दिवस मनाइसक्यो।
दिवस मनाउने क्रमका हिसाबले २०८० को शिक्षा दिवस ४१ औँ हो। जसको आदर्श वाक्य ‘समावेशी र सिपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ रहेको छ। विगतका अनुभवले यस दिवस शिक्षा मन्त्रालयको जस्तो मात्र हुन पुगेको देखिन्छ। शिक्षाकै निकाय तथा संरचनाले पनि यसलाई जति महत्व दिनु पथ्र्याे, त्यति रुचि नदिएको देखिन्छ। सरकारले गरेको निर्णयलाई शिक्षाकै निकाय र शैक्षिक संस्थाहरूले अपनत्व लिने संस्कार किन नबसेको होला ? यस पटक यसलाई समग्र मुलुकको दिवस बनाउने प्रयास भएको छ। राष्ट्रिय पर्वका रूपमा मनाउन खोजिएको छ।
धेरैले बजेटको अभावमा शिक्षा दिवस मनाउन नसकेको भन्ने गरेको सुनिन्छ। के कम खर्च वा थोरै लागतमा शिक्षा दिवस मनाउनै नसकिने हो त ? शैक्षिक संस्थालाई अतिरिक्त भार नपारिकन शिक्षा दिवस मनाउन के गर्नु पर्ला ? हामीकहाँ चाडपर्व भन्नासाथ तडकभडक गर्ने संस्कार बस्यो। यसले खर्च बढाउने नै भयो। यसबाट कम आय हुने व्यक्ति वा संस्थालाई अतिरिक्त भार पर्ने देखियो। तसर्थ सबै तह र निकायमा बिनातडकभडक शिक्षा दिवस जस्ता पर्व मनाउने उपाय खोज्नु पर्छ। अब त सके पैसा खर्च नगरिकन मनाउने कोसिस गर्नु पर्छ। सो नसके कम पैसा खर्च गरेर शिक्षा दिवस मनाउने उपाय अपनाउनु पर्छ।
सानो रकमले शिक्षा दिवस मनाउँदा के कस्ता क्रियाकलाप गर्ने त भन्ने पनि हुन सक्छ। यस दिवसमा व्यापक बहस तथा अन्तव्र्रिmया गर्न सकिन्छ। सरसफाइसँग सम्बन्धित काम गर्न सकिन्छ। तसर्थ रकमकै अभावमा शिक्षा दिवस मनाउन सकिएन भन्ने तर्कमा त्यति दम देखिँदैन। सरकारले निर्णय गरेको विषय शैक्षिक संस्थाले अनदेखा गर्नु भनेको सार्वजनिक जवाफदेहिताको अभाव हो। शिक्षा दिवस वर्षमा एक पटक सबै शिक्षाकर्मी र शिक्षामा चासो राख्नेहरूले एकआपसमा सम्झने दिन हो। स्थानविशेष रूपमा सबै पक्ष एक स्थानमा जम्मा भएर शिक्षाका बारेमा चिन्तन मनन गर्ने दिन हो। राम्रा काम गर्नेलाई सम्झने दिन पनि हो। साथै सुधार गर्नुपर्ने कामलाई सम्झने दिन हो। पदाधिकारीहरूलाई थप प्रतिबद्ध बनाउने दिन हो। थोरै रकममा गर्न सकिने काम गर्ने दिन हो। रकम भए पदक तथा पुरस्कार दिए हुन्छ तर छैन भने असल काम गर्नेहरूलाई सम्झे मात्र पनि पुग्छ।
मन्त्रालयको अनुरोध शिक्षा दिवसको दिन मुलुकका सबै शैक्षिक संस्थाले केही न केही कार्यक्रम आयोजना गरून्। यस दिवसलाई शिक्षा क्षेत्रका सबैले अपनत्व लिऊन्। सबै जना जवाफदेही बनून् भन्ने हो। यस दिन शिक्षाका विषयमा बहस र अन्तव्र्रिmया गरेर बालबालिकालाई केही सिक्ने अवसर दिलाउन सकिन्छ। यस्ता बहस तथा रचनात्मक कामले बालबालिकामा मानवीय भावना साट्ने अवसर मिल्छ। शैक्षिक संस्थाले त यस्ता कार्यलाई अनिवार्य रूपमै सञ्चालन गर्नु पर्छ।
शिक्षा दिवसको अवसरमा मुलुकको शिक्षाका सम्बन्धमा सबै नागरिक कुनै न कुनै रूपमा संलग्न हुन सकून् भन्ने चाहना सरकारको भएकाले सबै शैक्षिक संस्था र शिक्षाका निकायमा अभिभावक तथा नागरिक समाजसँग हातेमालो गरेर कुनै न कुनै कार्यक्रम आयोजना गरोस् भन्ने मन्त्रालयको चाहना छ। अरू धेरै केही गर्न नसके शिक्षा दिवस र हाम्रो दायित्व विषयमा छलफल गरे पनि हुन्छ। सरोकारवालासँग सुधार गर्नुपर्ने रायसुझाव लिए पनि हुन्छ।
मन्त्रालयले राष्ट्रिय स्तरमा पदक तथा प्रमाणपत्र प्रदान गर्ने र केही पुरस्कार दिने कार्यक्रम तय गरेको छ। सके प्रदेश र स्थानीय तहमा यस्ता पदक र पुरस्कारका कार्यक्रम हुँदा सुनमा सुगन्ध हुने छ। सो सम्भव नभएमा छलफल तथा बहस मात्र गर्दा पनि हुन्छ। यसका लागि प्रत्येक पालिकामा शिक्षा समिति र प्रदेश तहमा सामाजिक अर्थात् शिक्षा विषय हेर्ने मन्त्रालयको अगुवाइमा कार्यक्रम हुन सकोस् भन्ने कामना हो।
शिक्षा दिवसका अवसरमा बालबालिकालाई सकारात्मक सन्देश दिन सके यसको सार्थकता केही मात्रामा भए पनि पूरा भएको मान्न सकिन्थ्यो। शिक्षामा केही भएन, सबै बरबाद भयो भन्ने जुन भाष्य छ, यो भाष्यलाई बदल्न पनि शिक्षामा सार्वजनिक बहस तथा अन्तव्र्रिmया आवश्यक छ। हाम्रो शिक्षा प्रणाली हामी आफैँले सुदृढ बनाउने हो। अरू कसैले आएर बनाइदिने होइन। यसमा सुधार गर्नका लागि हामी आफैँ लाग्नु पर्छ। यस दिवसलाई हामीले गर्न सक्छौँ, बनाउन सक्छौँ, अब सबै जना लागौँ भन्ने भाष्य निर्माण गर्ने पुनीत कार्यमा लगाउन सकेमा ठुलो उपलब्धि हुने थियो।
म जे गर्दै छु, सबै ठिक गर्र्दै छु अनि बिगार्ने जति अरू हुन् भन्ने जुन मानसिकता हामीमा छ, अब त्यसमा परिवर्तन चाहिएको छ। बिगार्ने र सपार्नेमा हामी सबैको भूमिका र जिम्मेवारी छ। सबैले आफ्ना कार्य र कार्यशैलीमा सुधार ल्याउन आवश्यक छ। शिक्षा दिवसको अवसरमा यस धारणालाई सबैले मनन गर्न सके सुधारको आधार बिन्दु यही बन्न सक्थ्यो।