ललितपुर, भदौ २६ गते । विभिन्न राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको स्थान निकै उच्च रहेको र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको धारणा व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएको र आज पनि त्यसको सान्दर्भिकता उत्तिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माक्र्स र गान्धीको बिचारबाट प्रभावित बिपीको बिचारमा माक्र्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ ।” बिपीलाई २०१७ सालमा प्रधानमन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेको विश्लेषण पूर्वनेता भट्टराईको रहेको छ ।
उहाँले बिपीको अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको स्मरण गर्नुभयो । भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल फर्कनुभएको पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । “कोही ठुलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ,” भनेर बिपीको वाणीको स्मरण गर्दै उहाँले भन्नुभयो, “नेपालमा दलहरूबिच कुर्सीमाबाहेक सहमति नजुट्नु दुर्भाग्य हो ।”
नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपी पटनाबाट नेपाल आउँदा होस् वा राजाले प्रधानमन्त्रीबाट हटाउँदा बिपीको पक्षमा भएको जनसमर्थन र अन्तर्राष्ट्रिय समर्थन अन्य समयमा कहिल्यै भएन । राजा महेन्द्रले बिपीलाई अपदस्त गरेपछि संयु्क्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नोबेल प्राइज विजेताले विरोध गरेको घटना ऐतिहासिक भएको उहाँको भनाइ थियो ।
डा. खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेस गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रको महत्वपूर्ण योगदान भएको जिकिर गर्नुभयो ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्बन्ध राख्दा भारत विरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको धारणा व्यक्त गर्नुभयो । ज्ञवालीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिकभन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बिपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा रहँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिएको स्मरण गर्नुभयो ।
उहाँले बिपीसँगको राजनीतिक विचारका आधारमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने पनि बताउनुभयो । कूटनीतिक क्षेत्रका जानकार इन्द्र अधिकारीले बिपीले संयुक्त राष्ट्रसङ्घको १५ औँ साधारण सभामा दिएको अभिव्यक्तिले बिपीलाई विश्व जगत्मा चिनाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बिपीले ठुला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकसित देशमा परिरहेकाले धनी र ठुला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्ने माग गर्नुभयो । जुन अभिव्यक्तिबाट बिपीको उचाइ बढायो ।
प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरूले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा त्यसलाई अस्वीकार गर्ने सामथ्र्य बिपीले राख्नुभएको उहाँको भनाइ थियो ।
बिपीले चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कूटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रूपमा लिने स्पष्ट पार्नुभयो । सो कार्यक्रमको सहजकर्ताका रूपमा सुधीर शर्मा हुनुहुन्थ्यो ।
बिपीको लडाइँ सामन्तवादका विरुद्ध : प्रो. आनन्दकुमार
यसअघिको सत्रमा भारतका जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) का प्राध्यापक आनन्द कुमारले महामानव बिपी कोइराला समाजवादी नेता भएको र उहाँले आफ्नो सम्पूर्ण जीवन सामन्तवादका विरुद्ध लडाइँमा समर्पित गर्नुभएको बताउनुभएको छ । आइतबारदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा आयोजित ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिनको कार्यक्रममा प्रमुख वक्ताका रूपमा आउनुभएका प्राध्यापक आनन्द कुमारले यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘माक्र्स, गान्धी एन्ड बिपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिजम टुडे’ विषयमा आफ्नो भनाइ राख्दै उहाँले बिपीले सदैव पुँजीवादका विरुद्धमा आफूलाई उभ्याएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक समाजवादमा मात्र सबै पक्ष जातजाति र लिङ्गको समानता सम्भव हुन्छ भन्ने कुरालाई बिपीले भित्रबाट आत्मसात् गर्नुभएको थियो ।”
उहाँले राजनीतिज्ञमा हुनुपर्ने दु्रत कार्यशैली र धैर्यता दुवै स्वभाव बिपीको व्यक्तित्वमा रहेको पनि स्मरण गर्नुभयो । कार्यक्रमको अर्को शत्रमा बिपीले नपाएको १५ वर्ष शीर्षकमा विज्ञहरूको धारणा प्रस्तुत भएको थियो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहजीकरण गर्नुभएको सत्रमा हरि शर्माले राजनीतिक पूर्वाग्रहका कारण बिपीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा उहाँको लोकतान्त्रिक समाजवादकोे सैद्धान्तिक अवधारणालाई व्यवहारमा उतार्न नसक्नुभएको धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानुनी शासनको अभ्यास बिपीले चाहँदा चाहँदै पनि पूरा गर्न नसकेको बताउनुभयो । अर्थविज्ञ अच्युत वाग्लेले भन्नुभयो, ‘‘बिपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अगाडि बढ्दा मुलुकमा आर्थिक सुधारका सङ्केत देखिएका थिए तर त्यसले निरन्तरता भने पाउन सकेन ।” आर्थिक मितव्ययिता र त्यसको समुचित प्रयोग कसरी गर्ने भन्ने बिपीको अवधारणालाई तत्कालीन सरकारले २०१६ सालमा सुरुवात भने गरेको उहाँको भनाइ थियो । मञ्चला झाले बिपी नेतृत्वको सरकारले समावेशीता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सोमबार आयोजित गजल साँझमा ३० जना गजलकारको प्रस्तुति रहेको थियो ।
‘वीर गणेशमान’ प्रदर्शन
महोत्सवका दोस्रो दिन लौहपुरुष गणेशमान सिंहको जीवनमा आधारित ‘वीर गणेशमान’ नामक ऐतिहासिक चलचित्र प्रदर्शन गरेको छ । नयाँ पुस्तालाई बिपी चिनाउन आयोजित महोत्सवमा लौहपुरुष गणेशमानले नेपाली राजनीतिमा पु¥याएको योगदानलाई पनि चिनाउनका लागि चलचित्र निर्माण गरेर प्रस्तुत गरिएको हो ।
अदम्य साहस र उत्साहका प्रतीक, प्रजातन्त्रका सेनानी लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित ऐतिहासिक चलचित्र हो ‘वीर गणेशमान’ । २०४६ सालका जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जीवनमाथि बनेको एक ऐतिहासिक र राजनीतिक चलचित्रको कथा नेपालमा प्रजातन्त्रको सुरुवातमा योगदान पु¥याएको राजनीतिक आन्दोलनमा आधारित छ । चलचित्रमा गणेशमानको राजनीतिक जीवनमा केन्द्रित राजनीतिक आन्दोलनलाई मात्र वर्गीकरण गर्छ । यो चलचित्रमा नयाँ पुस्ताको जानकारीपूर्ण र ज्ञानवर्धक देखाइएको छ । सहजमान श्रेष्ठ र विजयरत्न तुलाधरको निर्देशन रहेको चलचित्रमा स्व. भैरवबहादुर क्षेत्री, रामकृष्ण महर्जन, रवि गिरी, कान्ता सिंह, रञ्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                