• ५ जेठ २०८१, शनिबार

ज्येष्ठ नागरिकको सामूहिक सम्मान

blog

नेपाली कांग्रेसले सम्मान गरेपछि सामुहिक तस्बिर खिचाँउदै फालेलुङ ६ का ज्येष्ठ नागरिक ।

राधा लुइटेल

फिदिम, भदौ २३ गते । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ का ९२ जना ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ । वि.पी.जयन्तीको अवसर पारेर नेपाली कांग्रेसको वडा कार्य समितिले ज्येष्ठ नागरिकको सामूहिक सम्मान गरेको हो । 

सम्मान गरिएकाहरुमा ६० देखि ९८ वर्ष उमेरका ज्येष्ठ नागरिक रहेको आयोजक नेपाली कांग्रेस फालेलुङ ६ का कार्यवाहक सभापति मनोज राईले बताउनुभयो । उहाँहरूलाई वडा कार्यालय परिसरमा आयोजित भव्य समारोहमा दोसल्ला र कदर पत्र ओढाएर सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका अभिभावक र पथ प्रदर्शक भएकाले योगदानको चर्चा गर्दै सम्मान गरिएको कांग्रेसले जनाएको छ । ज्येष्ठ नागरिकलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिका सह सचिव गजेन्द्र राई, फालेलुङ गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका पालिका सभापति वीर विक्रम थाम्सुहाङ, क्षेत्रीय सचिव सुन्दर आचार्य, कांग्रेस नेता लालबहादुर न्यौपाने र वडाध्यक्ष अमरवीर राई लगायतले कदर पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो ।

“वडामा यत्तिका ज्येष्ठ नागरिकको सामूहिक सम्मान गरिएको यो नै पहिलो पटक हो”, कांग्रेसका वडा सभापति मनोज राईले भन्नुभयो ।