नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला यो धर्तीमा पदापर्ण भएको १०९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले बिपीलाई बिस्र्यो भनेर भन्ने र लेख्नेहरूलाई जवाफ दिँदै यस पटक कांग्रेसले तीन दिनसम्म बिपी साहित्य महोत्सव गरेर मनाइरहेको छ । तीन वटा प्रमुख विषय बिपीका साहित्य सिर्जना, प्रजातान्त्रिक समाजवाद र शिक्षासम्बन्धी परिकल्पनामा तीन प्रमुख वक्ताले प्रवचन दिने क्रम चलिरहेको छ भने यिनै सेरोफोरोमा विभिन्न विषयवस्तुमा तीन दिनका अरू थप १२ कार्यक्रम पनि भइरहेकै छ । कांग्रेसले कुनै कार्यक्रम गरे वा नगरे पनि, लोकतान्त्रिक समाजवादको आदर्शलाई नारा बनाए पनि कांग्रेसमाथि लाग्दै आएको एउटा आरोप हो – कांग्रेस बिपी कोइरालाको पथमा छैन । मूलतः कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई त्यागेको छ ।
यो आरोप लगाउनेहरूले नबुझेको एउटा तथ्य के हो भने प्रजातान्त्रिक समाजवाद कांग्रेसको राजनीतिक एवं आर्थिक दर्शन हो । कम्युनिस्टहरूले भन्ने गरेको समाजवादभन्दा पृथक् राजनीतिक रूपमा मात्र नभएर आर्थिक रूपमा समेत समानताका पक्षधर प्रजातान्त्रिक समाजवादी हुन् र उनीहरू राजनीतिक रूपमा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्छन् । कुनै हालतमा कुनै पनि खालको अधिनायकवादी शासन सत्ताको समर्थन गर्दैनन् । आर्थिक रूपमा उत्पादनका सम्पूर्ण साधनमा राज्यको नियन्त्रण हुनु पर्छ भन्ने कुरालाई प्रजातान्त्रिक समाजवादीले स्वीकार गर्न सक्दैनन् । प्रजातान्त्रिक समाजवादको मूल आशय जनताका आधारभूत आवश्यकता पूरा गर्ने दायित्व सरकारको हुनु पर्छ र हरेक नागरिकले कुनै पनि सफलता प्राप्तिमा समान अवसर पाउनु पर्छ ।
कांग्रेसले २०१२ साल मङ्सिर १२ देखि १४ सम्म वीरगन्जमा सम्पन्न कांग्रेसको छैठौँ महाधिवेशनपछि प्रजातान्त्रिक समाजवादी नीति अवलम्बन गरेको हो । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकृत भएर नेपाली कांग्रेसको घोषणा हुँदै गर्दा यसको मूल लक्ष्य जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना नै थियो । यद्यपि, आर्थिक नीतिका बारेमा घोषणापत्रमा भनिएको थियो : नेपाली कांग्रेस जुन समाजको निर्माण गर्न गइरहेको छ, त्यस समाजमा शोषणले कुनै ठाउँ पाउने छैन । अर्थात् धनीहरू धनका बलले गरिबमाथि अन्याय गर्न पाउने छैनन् । नेपाली कांग्रेस समानता र इन्साफका आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण गर्न आकाङ्क्षा राख्छ । नेपाली कांग्रेसको प्रस्थान बिन्दुमा नै प्रजातन्त्रसहितको समानता यसरी उल्लेख थियो । उल्लिखित धारणामा शाब्दिक रूपमा समाजवाद नभनिए पनि प्रजातान्त्रिक समाजवादतर्फ उन्मुख सोच भने प्रस्ट थियो ।
२०१५ सालको आमचुनावमा जाँदा घोषणापत्रमा लगभग तिनै शब्द र वाक्य दोहो-याइएका थिए । घोषणापत्रमा भनिएको थियो : नेपाली कांग्रेस समाजवादी संस्था हो । यसको अन्तिम लक्ष्य एउटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन । धन दौलतका अभावमा उत्पन्न भएको साना ठुलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ । ...सबै अन्याय र असमानतालाई समाप्त पारी पारस्परिक मेल, सदभावना र सहकारिताका आदर्शबाट प्रेरित एउटा ठुलो राष्ट्रका रूपमा हाम्रो वर्तमान समाजलाई पुनर्गठित गर्नु नेपाली कांग्रेसको ध्येय हो । ...नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको बाटो छोटो छैन । यस अवस्थामा देशले निकै लामो र कष्टसाध्य उकालोको बाटो छिचोल्नु छ । तत्कालीन हाम्रो समाजमा समाजवादी लक्ष्य प्राप्त गर्ने साधन उपलब्ध छैनन् । यी साधनलाई सुस्तरी सुस्तरी प्राप्त गर्दै प्रजातान्त्रिक पद्धतिद्वारा हामीले समाजवादका महान् लक्ष्यतर्फ अग्रसर हुँदै जानु छ ।
२०१६ सालमा नेपाली कांग्रेस सत्तासीन भएपछि बिपी कोइरालाको सरकारले १८ महिनाको छोटो अवधिमा सीमित आर्थिक तथा मानवीय साधनका अवस्थामा समाजवादी नीति तथा कार्यक्रम ल्याएकै देखिन्छ । जमिनदारी र विर्ता प्रथाको उन्मूलन, वनजङ्गलको राष्ट्रियकरण, ग्रामीण विकास योजनाको सुरुवात, यातायात प्रणालीको विस्तार तथा मोहीको हक र भूमि व्यवस्थामा सुधार जस्ता काम आर्थिक विकास र आधुनिकताको जग मात्र थिएनन्, समाजवादका आधारशिला पनि थिए । नेपालमा व्यापक औद्योगिकीकरण, सिँचाइ र हवाई पर्यटनका प्रारम्भिक पहल लिएको थियो । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वपश्चिम लोकमार्गको थालनी सँगसँगै सहकारी आन्दोलन र स्वतन्त्र परराष्ट्र नीतिको अगुवाइ पनि नेपाली कांग्रेसको सरकारले गरेको हो ।
२०४६ को राजनीतिक परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले जर्जर र सङ्कुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थ व्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरूप प्रतिस्पर्धात्मक र आधुनिक बनायो । आर्थिक सामथ्र्य बढाएर सामाजिक न्यायउन्मुख लोककल्याणकारी राज्यको जग बसालेको थियो । निजी क्षेत्र, ठुलो सङ्ख्यामा जनता सक्रिय हुने गैरसरकारी संस्था, सहकारी, स्थानीय निकाय र सामुदायिक क्षेत्रलाई समेत यसले आर्थिक, सामाजिक विकासका गतिविधिमा प्रोत्साहित ग-यो । उद्योग, व्यापार, पर्यटन, विदेशी विनिमय, बैङ्किङ, पुँजी बजार, कर तथा राजस्व, ऊर्जा, जलविद्युत्, सञ्चार, हवाई यातायातलगायत अर्थतन्त्रका हरेक क्षेत्रमा उदार आर्थिक नीति अपनाइ स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति प्रारम्भ भयो । त्यसैले अर्थतन्त्रको व्यापक विस्तार हुन गई आजपर्यन्त फराकिलो आर्थिक आधार निर्माण भएको हो ।
२०४८ को बजेटको आकार २६ अर्ब हुँदा राजस्व १३ अर्ब मात्र थियो भने विदेशी अनुदान र ऋणमाथिको निर्भरता ८ अर्ब ५० करोड थियो । त्यस्तो समयमा एकातिर ६४ वटा सार्वजनिक संस्थानले वार्षिक झन्डै एक अर्ब घाटा बेहोरिरहेका थिए । अर्कातिर नयाँ सरकारसँग गाउँ–गाउँमा स्कुल, स्वास्थ्य चौकी, खानेपानी, बाटो–घाटो पु-याउनुपर्ने र व्यापक रोजगारी सिर्जना गर्नुपर्ने जनअपेक्षा थियो । आर्थिक वर्ष २०४९/५० मा मात्र ६०६ वटा नयाँ उद्योग स्थापना गरी अन्दाजी ८९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । उद्योग स्थापना र रोजगारी सिर्जना दुवै दृष्टिले यो नेपालको इतिहासमा नै नयाँ रेकर्ड हो । त्यतिबेला राजस्वका क्षेत्रमा गरिएको साहसिक निणर्यका कारण सरकारको ढुकुटी बढ्यो । यो स्रोतलाई सामाजिक विकासतर्फ उन्मुख गराई विकास बजेटको ७० प्रतिशत रकम ग्रामीण क्षेत्रमा खर्च गर्ने नीति अपनाइयो । विकेन्द्रीकरण तथा सामाजिक सुरक्षाका कार्यक्रममार्फत भौगोलिक हिसाबले स्थानीय स्तरमा र वर्गीय हिसाबले विकासको पहुँच बाहिररहेका जनतासम्म विकासको प्रतिफल सिधैँ पु-याउने प्रक्रियाको प्रारम्भ नेपाली कांग्रेसले नै गरेको हो ।
२०५१ सालमा आइपुग्दा भने नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादका बारेमा अलमलको स्थितिमा थियो । एकातिर विश्वव्यापी उदारीकरणको हावा चलेको थियो र यसलाई स्वीकार नगर्दा दातृ राष्टबाट पाउने सहयोग नआउने लगभग निश्चित थियो । २०४८ सालमै मिश्रित अर्थ प्रणालीमा सम्झौता गरेको कांग्रेसले २०५१ को निर्वाचन घोषणापत्रमा केवल सात ठाउँमा समाजवाद शब्द प्रयोग ग-यो । प्रजातान्त्रिक समाजवाद : आजको सन्दर्भ उपशीर्षक एक अनुच्छेदको थियो र यही अनुच्छेदमा उपशीर्षकसहित छ ठाउँमा समाजवाद शब्द प्रयोग भएका थिए । अर्को शब्द कांग्रेसको आदर्श उल्लेख गर्ने क्रममा घोषणापत्रको अन्त्यतिर लेखिएको थियो ।
कंग्रेसको पछिल्लो निर्वाचन घोषणापत्र (२०७९) मा समुन्नत नेपाल नै बिपीको समाजवाद भनेर व्याख्या गर्ने प्रयत्न भएको छ । घोषणापत्रमा लेखिएका यी शब्दले प्रजातान्त्रिक समाजवादको नयाँ व्याख्या खोजेको आभास दिएको छ : झन्डै ७५ वर्षअघि नेपाली कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै जननायक बिपी कोइरालाले लेख्नुभएको थियो, “हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन्; देशमा सडक, बाटोघाटो, अस्पताल लगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराको अभाव नरहोस्; त्यस्तो (उत्तरदायी शासन) व्यवस्था ल्याउने प्रयत्नमा छौं ।” समुन्नत नेपालको यही कालजयी कल्पनाको उन्नत स्परूप नै नेपाली कांग्रेसको अद्यावधिक विकास सोच हो । पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महìवपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो । समुन्नत नेपाल बिपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या हो ।