काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटसको चर्चाले नेपाली समाज अझै सेलाएको छैन । सामाजिक सञ्जालमा भाइरल बनेको उहाँको अभिव्यक्तिप्रति सडकको चिया पसलदेखि संसद्का सभाकक्षसमेतमा प्रतिव्रिmया व्यक्त भइरहेका छन् । देश विदेशमा तरङ्ग उत्पन्न गराउने त्यो अभिव्यक्ति ठिक वा बेठिक, आवेश वा दम्भ, अथवा वेदना वा प्रतिशोध जे भए पनि यसको कारक ट्राफिक प्रहरी बनेको छ । राजधानी सहरको महानगर प्रमुखको सुत्केरी पत्नी अस्पतालमा रहेको नवजात शिशुलाई स्तनपान गरेर फर्कंदै गरेको बेला प्रहरीले रोकेर अनाहक दुःख दिन खोजेको महानगर प्रमुख बालेनको सचिवालयको दाबी छ ।
यो घटनामा ट्राफिक प्रहरीलाई नै दोषी देख्नेहरूको कमी छैन । लोकप्रियताको एकछत्र आकाशमा उडिरहेका बालेनका विरुद्धमा पनि उत्तिकै प्रतिक्रिया व्यक्त भएका छन् । कानुन कार्यान्वयन गर्ने निकायले कर्तव्य पालना गर्ने क्रममा थोरै पनि विवेक पु¥याउन सकेन भने समाजमा कति ठुलो रूप लिन सक्छ भन्ने यो एउटा सानो उदाहरण हो ।
ट्राफिक प्रहरीको पहिलो काम प्रचलित कानुनले दिएको अधिकारको अधीनमा रही सडकमा ट्राफिक नियमन र नियन्त्रण गर्नु हो । यातायात व्यवस्थाको नियमन गर्दा अनियमित, अनियन्त्रित, अस्वाभाविक र कानुनले तोकेका साधनलाई रोकेर जाँच गर्नुपर्ने हुन्छ । यो काम ट्राफिक प्रहरीको नियमित काम पनि हो । मादक पदार्थ खाएर साधन चलाएको छ वा आवश्यक कागजात जस्तै लाइसेन्स, बिलबुकबिना चलाएको छ वा चलाउनुपर्ने लेनभन्दा विपरीत चलाएको छ ? पछिल्लो सडक व्यवस्थापनका हिसाबले गति सीमित गरेको छ वा अधिक गरेको छ ? ट्राफिक प्रहरीले यी प्रयोजनका लागि यातायातका साधन रोकेर आवश्यक सोधपुछ र जानकारी लिनु उसको कार्य क्षेत्रको विषय नै हो । त्यति मात्र होइन, उसको नियमित धर्म हो । उसको प्रमुख कर्तव्य पनि हो ।
हाम्रो मुलुकमा सडक दुर्घटनाका प्रमुख कारणमध्ये मानवीय आचरण र व्यवहार प्रमुख रहेको देखिन्छ । आमनागरिकमा जेब्रा क्रसिङबाट मात्र सडक काट्नु पर्छ भन्ने सोचको विकास अझै पनि भएको छैन । यहाँसम्म कि आकाशे पुलमुनिबाट यात्रुहरू आरामसँग सडक काटिरहेका हुन्छन् । ट्राफिक लाइट खुलेका बेला सडक पार गर्न हुँदैन भन्ने चेतसमेत यात्रुमा देखिँदैन । अर्कातिर ट्राफिक लाइट नभएका ठाउँमा जेब्रा क्रसिङमा सडक पार गर्ने अधिकार यात्रुको हो भन्ने सामान्य ज्ञान नभएका ड्राइभरहरूमा सामान्य लेखपढवाला मात्र छैनन्, करोडौँको गाडी चलाउने पढेलेखेका देखिने सम्भ्रान्तहरू पनि छन् तर ट्राफिक प्रहरीले अधिकांश घटनामा चालकलाई मात्रै दोषी देखाउने प्रवृत्ति रहँदै आएको छ ।
सबै गल्ती चालकबाट मात्र हुँदैनन्, तथापि ट्राफिक प्रहरीलाई प्रशिक्षित गर्ने क्रममा नै उसको मनोविज्ञान त्यसरी नै तयार गरिएका कारण चालकहरू अनाहकमा दण्डित हुने गरेका छन् ।
नियम कानुन भनेको समयसँगै परिवर्तन हुनु पर्छ । कतिपय सन्दर्भमा परिस्थितिवश नियमको उल्लङ्घन भएको पनि हुन सक्छ तर कानुन कार्यान्वयन गर्ने अख्तियार पाएको व्यक्तिले उचित ढङ्गमा न्याय दिन सक्नु पर्छ । उदाहरणका लागि हाम्रा सडकहरू सतह मिलेका समथर र सिधा छैनन् । ५० किलोमिटरको गतिमा आएको गाडी हल्का ओरालो लाग्दै गर्दा ५५/६० को गतिमा पुग्न सक्छ । यसलाई गल्तीका रूपमा लिने नलिने ? । कतिपय चालकलाई हरेक सडक अनुसारका नियम थाहा नहुन सक्छ ।
हाम्रा सडकमा नियम जनाउने सङ्केत चिह्नको अभाव छ । त्यस्तो अवस्थामा चालकलाई केवल सम्झाइबुझाइ पठाउनु टा«फिक प्रहरीको दायित्व हुन आउँछ तर नियम पालनाका लागि अभिप्रेरित गर्नुको सट्टा अनेक तरहको झमेला खडा गरेर जरिबानाका नाममा राजस्व सङ्कलन गर्ने नियत राख्नु हुँदैन । राजस्व सङ्कलन गरेर स्याबासी र कमिसन लिने प्रवृत्तिले ट्राफिक प्रहरीलाई बदनाम मात्र गराएको छैन, ट्राफिक प्रहरीप्रतिको नागरिक धारणासमेत नकारात्मक बनेको छ । आममानिसमा ट्राफिक प्रहरीप्रति सकारात्मक दृष्टिकोण बन्न नसक्नुको प्रमुख कारण यो पनि हो । नेपाल प्रहरीले तय गरेको प्रहरी सबैको साथी अनुसारको काम र व्यवहार भएको पाइँदैन । प्रहरीले भने जस्तै गरी जनताको साथी बन्न सकेको छैन । प्रहरीको कामकारबाहीप्रति कसैले प्रश्न उठायो भने सत्य वा असत्यको खोजी नगरी प्रहरीका विरुद्ध सामाजिक सञ्जालमा जनलहर देखा पर्छ । आममानिसमा प्रहरीले ठिक ग¥यो भन्दा पनि प्रहरी भनेको पेसा नै गलत गर्नका लागि हो, नागरिकलाई अनाहक झन्झटमा फसाउनका लागि हो भन्ने धारणा बढेको छ । यो त राम्रो कुरा होइन, समाज र प्रहरी दुवैका लागि । प्रहरी त नागरिक सुरक्षाका लागि खटिने सरकारी बर्दीधारी सङ्गठन हो । उसको विश्वास गर्न छाडेर अविश्वास गर्नु कदापि राम्रो होइन तर अविश्वास गर्ने वातावरण कसरी बन्यो त्यतातर्फ सरोकारावाला सचेत हुनु जरुरी छ ।
केही दिनअघि भक्तपुरको जडीबुटी पेप्सीकोला सडक खण्डमा भएको दुर्घटनाको भिडियो देख्ने, हेर्ने जो कोहीले बस चालकको गल्ती देख्छ । बसले किचेर तीन जनाले अनाहक ज्यान गुमाएका छन् । जिप धकेलिएर छेउ लागेको छ तर प्रहरी समाचारमा जिप र बस ठोक्किदा दुर्घटना भएको सुन्नु प¥यो । यो समाचारले बस चालकलाई प्रहरीले जोगाउने नियत राखेको हो कि भन्न भान भएको छ । तर त्यस्तो नहोस् र हुनु पनि हुँदैन । दुर्घटनालाई तोडमोड गर्नु समाज विकासका लागि त्यति शोभनीय हुँदैन । आज प्रहरीको सीसिटिभी नभएका ठाउँमा नागरिकका मोबाइलले काम गरेका छन् । सो घटनामा प्रहरीको समाचार आउनुअघि नै सामाजिक सञ्जालमा प्रत्यक्ष भिडियो छ्यापछ्याप्ती समाचार बनिसकेको अवस्थामा प्रहरीले जे भने पनि नागरिक समाजले सो घटनाका बारेमा पर्याप्त र यथार्थ थाहा पाइसकेका थिए ।
निश्चय पनि सबै प्रहरी खराब मात्रै हुँदैनन् । न त सधैँ प्रहरीले मात्रै गल्ती गर्छ । न्यायशास्त्रमा एउटा भनाइ छ, ‘सय अपराधी उम्किउन् तर एउटा पनि निर्दोष नागरिक नपरोस् ।’ प्रहरी सङ्गठनभित्र विभिन्न समुदाय, क्षेत्र र सामाजिक हैसियतका मानिस सेवारत छन् । कुनै एक प्रहरीको व्यक्तिगत स्वभाव र आचरणका कारण भएको गल्तीको दोष सिङ्गो प्रहरी सङ्गठनले बदनाम कमाउनु हुँदैन । प्रहरीको सङ्गठन राज्य कोषबाट तलब, लुगा, रासन अनि खुराक खाने सङ्गठन हो । त्यसैले राज्य कोषमा राजस्व तिर्ने, बुझाउने नागरिकप्रति, देशप्रति प्रहरी उत्तरदायी र कर्तव्यनिष्ठ हुनै पर्छ । उसले नागरिक र देशप्रतिको बफादारिता कहिल्यै भुल्नु हुँदैन ।
ट्राफिक प्रहरीले दुर्घटना कम गर्न र यातायात सञ्चालनलाई सुव्यवस्थित गर्नका लागि गाडीहरूको जाँच गर्नु आवश्यक छ । नियम विपरीत काम गर्नेलाई कानुनसम्मत कारबाही पनि गर्नु पर्छ । ट्राफिक प्रहरीले गर्ने कारबाही सप्रमाण हुनुका साथै न्यायसङ्गत हुनु पनि उत्तिकै जरुरी छ ।
प्रहरी कारबाहीका विधि र प्रक्रियामा अपनाउने पारदर्शिताले आममानिसमा उसले ठिक ग¥यो भन्ने अनुभूति दिलाउन सक्छ र जनसमर्थनसमेत प्राप्त गर्न सक्छ । यसका लागि कार्य क्षेत्रमा खटिने हरेक प्रहरी आफ्ना कर्तव्य र दायित्वप्रति सजग र सचेत रहन जरुरी छ । यसो गर्न सकियो भने तिललाई पहाड बनाउने दुस्साहस कसैले गर्दैन, सम्भवतः त्यस्तो कल्पनासमेत कसैले गर्न सक्दैन । आफ्नो कार्य क्षेत्रमा सही र ठिक ढङ्गले काम गर्ने दौरानमा
सानो, ठुलो पद र धनी, गरिब नभनी सडकमै न्याय निशाफी तरिकाले काम गर्ने हो भने आमनागरिक ट्राफिक प्रहरीको पक्षमा उभिन बाध्य हुनेछन् । ट्राफिक प्रहरीको मनोबल सधैँ उँचो रहेनछ तर व्यक्तिगत स्वार्थमा लागेर ठुलालाई चैन, सानालाई ऐन भन्ने किसिममा काम गरेमा ट्राफिक प्रहरीको साथ आमनागरिकले दिन नसक्ने कुरा पनि उत्तिकै सही र साँचो हो ।