• ५ जेठ २०८१, शनिबार

विशिष्टको रोजाइमा वीर अस्पताल

blog

काठमाडौँ, भदौ २५ गते । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना हुनुभएको छ। 

यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसक्नुभएको छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा शय्या थप भएपछि विशिष्ट व्यक्तिको उपचार सुरु हुन थालेको जानकारी बताउनुभयो। उहाँले वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति यादवसहित कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवको उपचार भइरहेको जानकारी गराउनुभयो। 

“वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति डा. रामवरण यादवसहित तीन जना भिआइपीको उपचार भइरहेको छ,” निर्देशक डा. पौडेलले भन्नुभयो, “पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो।” यसै गरी कोशी प्रदेशका मन्त्री कार्कीलाई डेङ्गु सङ्क्रमण  देखिएपछि अस्पताल भर्नाका हुनुभएको हो।

 कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि चार दिनदेखि वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भइरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा अति विशिष्ट र विशिष्ट व्यक्ति आएर उपचार गर्नु सकारात्मक भएको जानकारी दिनुभयो। 

यसैबिच वीर अस्पतालमा उपचाररत पूर्वराष्ट्रपति डा. यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरी स्वास्थ्यस्थितिबारे बुझ्नुभएको छ। मन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसहित वीर अस्पतालमा उपचाररत तीन जना विशिष्ट व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।