विश्वेश्वरप्रसाद कोइराला (बिपी) नेपालको राजनीतिक, सामाजिक र साहित्यिक इतिहासका आधुनिक चिन्तक हुन्। उनी नेपालको प्रजातान्त्रिक राजनीतिका सङ्घर्षशील नेता र आधुनिक नेपाली आख्यानका कुशल स्रष्टा मात्र होइनन्, मूलतः उनी प्रखर चिन्तक हुन्। उनले गरेको राजनीतिक तप र साहित्य साधना चिन्तनकै प्रायोगिक रूप हुन्। बिपी पनि मानिस नै थिए, नेपाली मानिस तर उनको क्षमता सामान्य व्यक्तिको भन्दा उच्च र असामान्य थियो। उनको चिन्तन राष्ट्रियता र बौद्धिकताले पूर्ण थियो। मानवीय मूल्य र मान्यताले निर्देशित थियो। त्यसैले बिपी चिन्तन र सिर्जनाको खोज र विश्लेषण गर्दा सबल पक्ष सधैँ प्रकाशमान देखिन्छ भने अभाव पक्ष छायामा पर्छ।
बिपीका साहित्यिक र राजनीतिक–सामाजिक जीवनधारा भिन्नभिन्न उद्देश्य र प्रयोजनका निमित्त भिन्नभिन्न स्रोतबाट अभिप्रेरित जीवन अभिव्यक्तिका माध्यम हुन्। राजनीतिक उद्देश्य विजिगीषा हो भने साहित्यिक उद्देश्य जिजीविषा हो। अर्थात् अप्रजातान्त्रिक विधि, संस्कार र व्यवस्था बदल्न बिपीले राजनीति गरेका हुन् भने मानवजीवन र सामाजलाई अभिव्यक्ति दिन साहित्यको सिर्जना गरेका हुन्। चिन्तन र उद्देश्य अनुरूप नै उनले सिद्धान्त र प्रयोगलाई महत्व दिए। राजनीतिक उद्देश्य पूरा गर्न प्रजातान्त्रिक समाजवादी बाटो अवलम्बन गरे भने साहित्यिक उद्देश्य पूरा गर्न व्यक्तिवादी अथवा मनोविश्लेषणवादी साहित्यको सिर्जना गरे।
यद्यपि बिपीको राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्वलाई अलग्याएर हेर्न सकिँदैन। अन्योन्याश्रित व्यक्तित्वलाई बोकेर बिपी चिन्तनले गतिशीलता प्राप्त गरेको छ। यिनका राजनीतिक चिन्तन र अभिव्यक्तिमा पाइने मानवतावादी दृष्टि, प्रजातान्त्रिक संस्कार, मानव अस्तित्व र मूल्यले यिनको साहित्य चिन्तन र सिर्जना प्रभावित देखिन्छ भने यिनका राजनीतिक चिन्तन र अभिव्यक्तिहरू साहित्य चिन्तक तथा स्रष्टा बिपीका कलापूर्ण प्रस्तुतिबाट प्रभावित देखिन्छन्। फेरि पनि समाजवादी नेता र अराजकतावादी लेखक बिपीबिचको यो सम्बन्धले नजिकिनुलाई भन्दा टाढिनुलाई महìव दिएको छ।
बिपीले साहित्यलाई खुला जीवनको व्यापक र विराट क्षेत्र स्वीकारेका छन् भने राजनीतिलाई नियमबद्ध जीवनको सङ्कुचित र सीमित क्षेत्र स्वीकारेका छन्। नियमहरू बनाएर तिनको कार्यान्वयन गर्ने काम राजनीतिको हो भने मानवभावना र अनुभूतिलाई विस्तार गर्न उसको संवेदनशीलतालाई विकसित तुल्याउने काम साहित्यले गर्छ। बिपी चिन्तनका सन्दर्भमा राजनीति र साहित्यको स्रोत र उद्देश्यको विश्लेषण गर्ने हो भने परस्पर अन्तर्विरोधी स्रोत र उद्देश्यको स्पष्ट सत्ता स्वीकार्न सकिन्छ। यही तथ्यको स्पष्ट अभिव्यक्तिका निमित्त उनी लक्ष्मणरेखा कोर्छन्– “म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ।”
शब्दकोशहरूमा ‘अराजकतावाद’ र ‘समाजवाद’को अर्थ खोज्ने हो भने केही सीमित र भिन्न अर्थ पनि बुझ्न सकिन्छ तर बिपीले यी दुई शब्दलाई आफ्नो जीवनमा व्यापक सन्दर्भमा स्वीकारेका छन्। यिनको समाजवादी चिन्तनले राजनीतिक बारेमा स्वतन्त्रता र प्रजातन्त्र तथा आर्थिक र सामाजिक क्षेत्रमा समानता र समान न्यायको सिद्धान्तबाट अनुप्रेरणा प्राप्त गरेको देखिन्छ। यिनले पुँजीवाद मन पराएनन् किनभने पुँजीवादमा आर्थिक क्षेत्रमा समान न्यायको गुन्जाइस रहँदैन। यिनले साम्यवाद झनै मन पराएनन् किनभने साम्यवादमा राजनीतिक क्षेत्रमा स्वतन्त्रता र प्रजातन्त्रको अस्तित्व रहँदैन।
बिपीले विश्वको राजनीतिक, आर्थिक, सामाजिक दर्शन र इतिहासको अध्ययन गरेर त्यसको सार ‘प्रजातान्त्रिक समाजवाद’ जो नेपालको परिवेशमा नअपनाई नहुने राजनीतिक दर्शन वा पद्धति हो भन्ने विश्वास गरी त्यसको सिद्धान्त प्रतिपादन गरे, व्याख्या र प्रचारप्रसार गरे। मुलुकमा यस किसिमको राजनीतिक पद्धति कार्यान्वयन गर्न संवैधानिक राजतन्त्र र बहुदलीय शासनव्यवस्था स्थापनार्थ आजीवन प्रतिबद्ध र सङ्घर्षरत रहे। बिपी कोइरालाको राजनीति प्रजातान्त्रिक समाजवादको उद्देश्यप्राप्तिका लागि प्रतिबद्धतामा आधारित थियो। यिनी सङ्कल्प र आस्थाले यथार्थमा राजनीतिक व्यक्तित्वको कर्तव्य पूरा गर्न सफल व्यक्ति थिए। नेपाली परिवेश अनुरूप समाजवादको सरलीकृत व्याख्या गर्दै बिपीले के भनेका छन् भने नेपाल गरिब छ। यो मुलुक किसानको हो। जसले किसानको, हलो जोत्नेहरूको भलाई गर्छ, जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसको अवस्थालाई चिनेको छ, गाउँको भलाइको जुन नीति छ, कार्यक्रम छ त्यही समाजवादी नीति र कार्यक्रम हो। समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ। त्यो हो– समानता। समानता भनेको राजनीतिक तथा धार्मिक समानता हो।
बिपी मूलतः राजनीतिक प्राणी थिए। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा राष्ट्रिय मेलमिलाप, अध्यात्मवाद, दर्शन, अर्थनीति, जीवनशक्ति, सरकार, राष्ट्रिय परराष्ट्रनीति, पार्टी सङ्गठन, राजनीतिक तथा सामाजिक क्रान्ति आदि क्षेत्रमा यिनले आफ्नो विशद दृष्टि र चिन्तन प्रस्तुत गरेका छन्। नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहासमा राजनीतिक चिन्तनको सूत्रपात र सङ्घर्ष प्रथम प्रजातान्त्रिक सरकारको नेतृत्व र सबल प्रतिपक्षको नेतृत्वसमेत बिपी एक्लैले सफलतापूर्वक सम्पन्न गरेका छन्, तैपनि यिनी राजनीतिलाई जीवनको सङ्कुचित र रूढ क्षेत्र मान्छन् भने साहित्यलाई विराट र उदार क्षेत्र मान्दछन्।
११० औँ जन्म दिवसका अवसरमा बिपीलाई सम्झिँदा उनीसँगको अपूर्व साक्षात्कारलाई म अनुप्रेरक सन्दर्भ र क्षणको रूपमा विमर्श गर्न लालायित हुन्छु। सन्दर्भ २०३७ असारतिरको हो। जनमत सङ्ग्रहको परिणाम स्वीकारेर बिपी, प्रजातान्त्रिक सङ्घर्षमा थोरै निराश र ‘परिणाम’ लाई ‘धोखा’ भन्ने नेपाली कांग्रेसका असन्तुष्ट नेताकार्यकर्तासहित विदेशी नेताहरूलाई समेत आश्वस्त गर्न सक्रिय थिए। लामो समयदेखि अस्वस्थ बिपी यस काममा निकै व्यस्त थिए। यस्तो अवस्थामा हामी सामान्य विद्यार्थीलाई दिनदिन र घण्टौँ समय उपलब्ध गराएर उच्च राजनीतिक तथा साहित्य चिन्तन प्रस्तुत गर्नु हाम्रा लागि कम गर्वको विषय थिएन। त्यस क्षणमा बिपीले व्यक्त गरेका विचार सबै अनुप्रेरक र अनुसरणीय थिए तापनि त्यस लामो भेटवार्तामा भनिएका उनका दुई वाक्य राजनीतिक चिन्तक र राजनेता तथा साहित्य चिन्तक र साधक बिपी कोइरालालाई बुझ्न पर्याप्त थिए। उनले भनेका थिए “मलाई जति परेसानी भए पनि पराजयको कहिल्यै अनुभव भएन। ठुला कलाकारले गरिबै भएर मर्नु पर्छ।” पहिलो सानो वाक्य बिपीको राजनीतिक चिन्तनको सार थियो भने दोस्रो वाक्य साहित्य चिन्तनको सार थियो।
साहित्य चिन्तक तथा साधक बिपी अराजकतावादी लेखनमा विश्वास गर्छन्। यिनकै शब्दमा यिनी अराजकतावादी साहित्यकार हुन्। यिनी शब्दकोशहरूले व्युत्पत्ति र व्याख्या गर्ने सामान्य अर्थका अराजक र अराजकतावादी लेखक होइनन्। ‘अराजक’ शब्दले अभिव्यञ्जित गर्ने कलाकारको विशुद्ध कारिगरीको स्वतन्त्रताका पक्षधर लेखक हुन्। जसरी समाजवादी नेता बिपीले विधिसम्मत प्रजातान्त्रिक राजनीतिक चिन्तन र त्यसको उच्च आदर्श प्रस्तुत गरी एक प्रतिबद्ध असल राजनीतिज्ञको कर्तव्य पूरा गर्न राजनीति गरे त्यसै गरी मानवीय भावना र संवेदनशीलताको विकास गरी उसभित्रका विकृति हटाएर एउटा ‘असल मान्छे’ बनेर जिउने सन्देश दिन र कला आदर्शप्रतिको प्रतिबद्धता प्रकट गर्न साहित्य सिर्जना गरेका हुन्।
बिपीको साहित्य चिन्तन र सिर्जना साहित्यिक सम्मान र ख्याति आर्जन गर्ने उद्देश्यबाट अभिप्रेरित थिएन। नेपाल, नेपाली र नेपाली भाषाको सम्मान गरी कला आदर्श प्रस्तुत गर्ने ध्येयबाट परिलक्षित थियो। यिनको साहित्य साधना राजनीतिक व्यस्तताबाट बचेको समयको सदुपयोग थियो। यिनका अन्तः प्रेरणाको सहज अभिव्यक्ति थियो। ठुलो लेखक बनेर भौतिक ख्याति आर्जन गर्न चाहने सामान्य लेखकको चाहनाभन्दा धेरै माथि उठेर मानवताको सम्मान र मानवजिजीविषाको कलापूर्ण अभिव्यक्तिका लागि साहित्य सिर्जना गर्ने स्रष्टा बिपी स्वतन्त्र र व्यक्तिवादी लेखनमा विश्वास गर्ने अराजकतावादी लेखक थिए। यिनको साहित्य साधनामा मानवीय अस्तित्व र मूल्य, सामाजिक आदर्श र प्रतिष्ठा, नेपालीको सांस्कृतिक महत्व र गरिमा अभिव्यक्त भएका छन् तापनि यिनको साहित्य साधक राष्ट्रका कुनै राजनीतिक–सामाजिक मूल्य र मान्यताबाट बाँधिएको छैन, कसैको व्यक्तिगत प्रलोभन वा निर्देशनबाट प्रभावित छैन। यिनले आफ्नो साहित्य सिर्जनालाई मानवीय अनुभूतिको विस्तार गरी उसको संवेदनशीलतालाई व्यापक पारेर मानव समुदायलाई विराट जीवनको कलापूर्ण अभिव्यक्ति दिने उद्देश्य पूरा गर्न उपयोग गरेका छन्। यही अर्थमा बिपीले आफूलाई ‘अराजकतावादी लेखक’ को कलापूर्ण नाम दिएका थिए।
बिपीसँगको साक्षात्कारमा हामीले राजनीति र साहित्यका सम्बन्धमा प्रशस्त जिज्ञासा राखेका थियौँ। उनको राजनीतिक उद्देश्य र सङ्घर्षका सम्बन्धमा, साहित्यिक उद्देश्य र सिर्जनाका सम्बन्धमा हाम्रा धेरै जिज्ञासा थिए। बिपीका उत्तर सङ्क्षिप्त, सटिक, रोमाञ्चक र अनुप्रेरक हुन्थे। राजनीतिक सन्दर्भको प्रश्नमा उनको भनाइ थियो, “मैले अनन्य यातना भोगिसकेको छु। मलाई तिनको उल्लेख गर्नु उपयुक्त पनि लाग्दैन र चाहन्न पनि। यातना यातनाभोगीका लागि यातना हुँदैन। यातना त केवल द्रष्टा, स्रोता वा पाठकका लागि मात्र हुन्छ। फेरि त्यो मेरो यातना स्वेच्छाको थियो, कुनै करकापको थिएन। मलाई त्यसबखत जति परेशानी परे पनि पराजयको अनुभव भने रत्तिभर भएन। बरु मैले त्यो तपस्या गर्ने सौभाग्य नपाएको भए ज्यादा हीनभावना हुने थियो।” साहित्य र साहित्यकारका सम्बन्धमा राखिएको जिज्ञासामा पनि उनको यस्तै रोमाञ्चकारी भनाइ थियो, “संसारमा कुनै पनि व्यक्तिले नयाँ बाटो देखाउन सकेको छैन। न गान्धीले सके, न हिटलरले सक्यो। दुवै विरोधीका सिकार भए तर कला र कलाकारले नयाँ बाटो देखाउन सक्छ। नयाँ दिशा दिन समय लाग्छ। त्यो गर्र्न कलाकार मात्र सक्षम हुन्छ। सच्चा कलाकारका कोही दुश्मन या विरोधी हुँदैनन्। कलाकारको स्वतन्त्रतामा राष्ट्रिय सम्मानको बहानाले आघात पार्न खोज्नु हुँदैन। ठुला कलाकारले गरिबै भएर मर्नु पर्छ।”
मुलुकमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना भएको पनि दशकौँ बितिसक्यो तर नेपालीको जीवनस्तरमा कुनै सुधार हुन सकेन। हाम्रा प्रतिबद्धता केवल चुनावी भाषणमा मात्र सीमित रहे। राजनीतिमा सेवाभाव शून्य हुँदै गयो। राजनीतिलाई व्यवसाय मान्ने उपभोक्तावादी प्रवृत्तिको विकास भयो। समाजमा इमानदारिता र नैतिकता हराउँदै गयो। साहित्यमा पनि त्यो सेवाभाव, कलात्मक सौन्दर्यले भन्दा उपभोक्तावादी प्रतिस्पर्धाले ठाउँ पाउन थाल्यो। यस्तो खडेरीको अवस्थामा बिपी चिन्तन र उनको राजनीतिक, साहित्यिक र सामाजिक साधना प्रत्येक नेपालीका निमित्त मार्गदर्शक थियो र रहिरहने छ।
बिपी चिन्तनमा साहित्यकारको स्थान महत्वपूर्ण छ। कलाकारले मात्र अनन्त सम्भावनाको पुञ्जको रूपमा मानव–भविष्यको अध्ययन गर्ने क्षमता राख्ने हुँदा राजनीतिभन्दा साहित्यको स्थान उच्च हुन्छ। राजनीतिमा यो क्षमता रहँदैन। बिपी ती यी चिन्तनलाई अझ स्पष्ट पार्दै के भन्छन् भने डार्बिन, माक्र्स र फ्रायडले मानिसको स्वतन्त्र बहुआयामिक भविष्यलाई चुनौती दिएर एकपक्षीय आग्रहले उसको मूल्याङ्कन गरेका छन्। फ्रायडले मानिसलाई बाल्यावस्थाको मौन दमित तत्वको रूपमा अध्ययन गरेका छन् भने डार्बिनले अन्ध प्रयोगबाट जीवनको विकास भएको विचार प्रस्तुत गरेका छन्। माक्र्सले मानिसको कुनै स्वतन्त्र चिन्तन नभएको विचार व्यक्त गर्दै उसलाई केवल आर्थिक व्यवस्थाको उपज ठानेका छन्। बिपीलाई यो एकाग्रही दर्शन मान्य छैन। त्यसैले यिनले मानिसको अनन्त सम्भावनाको मार्गदर्शनको पक्ष लिएका छन् र यस्तो महान् कार्य गर्न महान् कलाकार मात्र सफल हुने तथ्य प्रस्तुत गरेका छन्।
बिपीका राजनीतिक–सामाजिक र साहित्यिक मान्यता तथा अभिव्यक्तिको खोज र विश्लेषणका आधारमा यिनलाई समाजवादी राजनीति र अराजकतावादी लेखनका पक्षधरका रूपमा प्राप्त गर्न सकिन्छ। यिनको ‘समाजवाद’ शब्दले राजनीतिक स्वतन्त्रता र आर्थिक समानतावादी राजनीतिक पद्धतिको सङ्केत गर्छ र त्यसप्रतिको प्रतिबद्धतालाई पनि इङ्गित गर्दछ। ‘अराजकतावाद’ शब्दले साहित्य सिर्जनाको स्वतन्त्रता, तटस्थता, वैयक्तिकता, सौन्दर्य र मनोहारी कारिगरीलाई अभिव्यञ्जित गर्दछ।