• १० मंसिर २०८१, सोमबार

केवरत जातिमा भाषाप्रेम

blog

मोरङ जिल्ला अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ९ तथा रतुवामाई नगरपालिका–२ मा केवरत जातिको बसोबास छ । २०७८ सालको जनगणनाले यिनीहरूको जनसङ्ख्या ८,८०९ र मातृभाषा केवरतको वक्ता सङ्ख्या ३,४६९ उल्लेख गरेको छ । कतिपय केवरत जातिले आफ्नो जातिको नाम दास पनि लेखेको पाइन्छ । तराईमा विभिन्न आठ समुदायले दास लेखेको पाइन्छ । यसले गर्दा दास कुन जाति वा समुदायभित्रको हो भन्ने कुराले अन्योल छाउँछ । 

यस समुदायले महेन्द्रलाल दास केवरतको अध्यक्षतामा नेपाल केवरत विकास सेवा समाज गठन गरेको छ । यो समाजले हाल पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक चतुरभुज दास केवरत, हाल रङ्गेली बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रजापति दास केवरत, स्थानीय महिला नेतृहरू विमला दास केवरत, हाल सुनवर्षी नगरपालिकाका उपमेयर मीरादेवी केवरत आदिलाई संलग्न गरेर आफ्नो जाति र भाषाको नाम केवरत राख्न र आदिवासी जनजातिको सूचीभित्र समावेश गराउन नेपाल सरकारसमक्ष निवेदन पेस गरेको छ ।  

त्यस बेला यो जातिबाहेक नेपालमा बसोबास गरिरहेका विभिन्न जातीय समुदायले आदिवासी जनजातिको महलमा सूचीकृत गरी पाउँ भनी नेपाल सरकारमा निवेदन दर्ता गरेका थिए । निवेदकहरूको मागबमोजिम उनीहरूलाई आदिवासीको महलमा सूचीकृत गर्न मिल्ने वा नमिल्ने भन्ने छुट्याउनका लागि नेपाल सरकारको मन्त्रीपरिषद्को मिति २०६५ साल चैत ५ गतेको निर्णयबाट प्राडा ओम गुरुङको संयोजकत्वमा नौ सदस्यीय आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदल गठन भयो । यो समितिले आफ्ना सदस्यहरूमध्ये प्रत्येक सदस्यको संयोजकत्वमा एक जना भाषावैज्ञानिक र एक जना मानवशास्त्री सम्मिलित भएको तीन सदस्यीय टोली बनाएर निवेदकवाला समुदायको बसोबास स्थानमा अध्ययनका लागि पठाउँथ्यो र उक्त टोलीबाट प्रतिवेदन प्राप्त गर्दथ्यो । आदिवासी जनजातिको महलमा सूचीकृत हुन चाहने जातिको छुट्टै भूगोल, छुट्टै इतिहास, भाषा, धर्म, संस्कृति, चाडपर्व, वेशभूषा हुनुपर्ने प्रावधान राखिएका थिए । 

२०६६ सालमा कार्यदलका संयोजक टेकरत्न चेम्जोङको संयोजकत्वमा मानवशास्त्री दिवा चेम्जोङ र पङ्क्तिकार केवरत जातिको विषयमा स्थलगत अध्ययन गर्नका लागि मोरङ जिल्ला अन्तर्गत पर्ने साबिक टकुवा गाउँ विकास समिति, वडा नम्बर ४, कासिजन निवासी नेपाल केवरत विकास सेवा समाजका अध्यक्ष महेन्द्रलाल दास केवरतको घरमा पुग्यौँ । हामीहरूले आफ्नो परिचय र आफू त्यहाँ पुग्नुको उद्देश्य भन्नासाथ उहाँ आसाध्यै खुसी हुनुभयो । उहाँले तुरुन्त नै आफ्नो समाजका सदस्यहरूको भेला गराउनुभयो । त्यस भेलाबाट केवरत जातिको इतिहास, संस्कृति, धर्म, चाडपर्व, देवीदेवताका बारेमा जानकार पाँच जना व्यक्ति छानिए । त्यस्तै भाषाका बारेमा जानकार अन्य पाँच जना व्यक्ति पनि छानिए ।

सम्बन्धित जातिका बारेमा जानकारी भएका व्यक्तिहरूसँग सूचना लिनका लागि उच्चस्तरीय कार्यदलले नै प्रश्नहरू तयार पारेको हुन्थ्यो । ती प्रश्नहरू एकीकृत गरेर प्रश्नावली निर्माण गरी मानवशास्त्रीलाई दिइन्थ्यो । त्यो प्रश्नावलीभित्र अध्ययन गर्नुपर्ने जातिको पुर्खाको इतिहास, उनीहरूको बसोबास क्षेत्र, बसाइँसराइको इतिहास, उनीहरूका महìवपूर्ण पुर्खाहरू, अन्य जाति, भाषी र धर्मावलम्बीहरूसँग उनीहरूको सम्बन्धबारे प्रश्नहरू हुन्थे । यीबाहेक जन्म, विवाह, मृत्यु आदिमा गरिने संस्कार, उनीहरूले मान्ने धर्म, पुज्ने देवीदेवताहरू तथा भ्रमण गर्ने पवित्र धार्मिक स्थलहरू, मान्ने चाडपर्वहरू, लगाउने वेशभूषा तथा गरगहनाहरू, उनीहरूको घर, खानपिन र पेसा आदिका बारेमा प्रश्न सोधिन्थ्यो । 

दिवा चेम्जोङलाई सूचकहरूले दिएको प्रश्नहरूको उत्तर लेख्न बिहानदेखि बेलुकासम्म नै लाग्थ्यो । उहाँ थकित देखिनु हुन्थ्यो तर सूचकहरू भने आफूले जानेका कुरा भन्नमा उत्साहित देखिन्थे । त्यो बेला केवरत समाजका अगुवाहरूले उनीहरूका जातिका नमुना घर, पूजा गर्ने ठाउँ, उनीहरूका वस्त्र, गरगहना आदि देखाए । उनीहरूले दिउँसो भव्य रूपमा प्रवचन र सांस्कृतिक कार्यक्रम आयोजना गरे । 

आफ्नै परम्परागत पहिरनमा सजिएका महिला र पुरुषद्वारा परम्परागत शैलीमा नाचिएको नाच र गाइएको गीत हेर्नलायक र सुन्नलायक थिए । त्यहाँ सहभागी हरेकका अनुहारमा खुसी छाएको थियो । उनीहरूमा आफ्नो जाति र भाषाप्रतिको प्रेम झल्किन्थ्यो । प्रत्येक वक्ताले भाषाको विकासका लागि यथासक्य योगदान पु-याउने प्रतिबद्धता व्यक्त गरे । 

मैले समाज–भाषावैज्ञानिकहरूले विभिन्न भाषालाई तुलना गर्न मोरिस स्वडेसले सूचीमा सङ्कलन गरेका २१० शब्दको अनुवाद छानिएका सूचकलाई केवरत भाषामा गर्न लगाएँ । अङ्गिका, ताजपुरिया, राजवंशी र केवरत भाषाहरूका मूल शब्दहरूलाई तुलना गरेर तिनीहरूबिच समानताको प्रतिशत स्वडेसले विकसित गरेको ‘लेक्सिकोस्टाटिस्टिकल् अनालिसिस् मेथड्’ प्रयोग गरेर परीक्षण गर्दा यी भाषाहरूबिच समानताको प्रतिशत धेरै देखियो । 

यसबाट भारोपेली परिवारभित्र पर्ने यो भाषाको अङ्गिका, ताजपुरिया र राजवंशी भाषाहरूसँग नजिकको सम्बन्ध भएको कुरा पुष्टि भयो । यी भाषाहरूका वक्ताहरूले एकअर्काले बोलेको भाषा राम्ररी बुझ्दथे भन्ने कुरा उनीहरूको भनाइबाट पुष्टि हुन्थ्यो । यस आधारमा यी चार वटै भाषा एउटै भाषाका भाषिकाहरू हुन् भन्न सकिन्थ्यो तर कुनै बोली भाषा हो कि भाषिका हो भन्ने कुराको निक्र्योल भाषावैज्ञानिक आधारमा मात्र हुने होइन । त्यसको छिनोफानो त त्यो जातिले नै गर्छ भन्ने कुरा हिन्दी र उर्दू जस्ता एउटै भाषा जस्ता देखिने र सुनिने बोलीलाई भिन्न भाषाहरूका रूपमा मान्नु तर एक अर्काबिच बोधगम्यता पटक्कै नभएका हाक्का, मान्डारिन्, वु, मिन्, गान् आदि फरक चिनियाँ बोलीलाई एउटै चिनियाँ भाषाका भाषिकाहरू मान्नुले प्रस्ट पार्दछ । यस आधारमा केवरत जातिका सबै सदस्यले आफ्नो जाति केवरत हो र भाषा केवरत हो तथा यो अरूभन्दा फरक छ भनेपछि त्यसमा अरूले विवाद गर्नुपर्ने ठाउँ देखिँदैन । 

हाम्रो टोलीले केवरत जातिको स्थलगत अध्ययन, उनीहरूसँगको अन्तव्रिर्mया र उनीहरूसँग लिएको अन्तर्वार्ता, उनीहरूका धार्मिक स्थल आदिको अवलोकन र भाषाप्रतिका उनीहरूको दृष्टिकोण र प्रतिबद्धता आदिका आधारमा केवरत जातिलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्न आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलमा प्रतिवेदनसहित सिफारिस पेस ग-यौँ । उच्चस्तरीय कार्यदलले २०६६ साल फागुन ६ गते नेपाल सरकारलाई विभिन्न जातिलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्न प्रतिवेदनसाथ सिफारिस ग-यो । 

यसमा केवरत जाति पनि सम्मिलित थियो तर यो प्रतिवेदनलाई नेपाल सरकारले आजसम्म कार्यान्वयनमा ल्याएको छैन । यो कार्यदल गठन हुनुभन्दाअघि ५९ जाति आदिवासी जनजातिको महलमा सूचीकृत थिए । थरुहट आन्दोलन चर्किएपछि यसलाई मत्थर पार्न रानाथारूलाई मन्त्रीपरिषद्को निर्णयबाट आदिवासी जनजातिको महलमा सूचीकृत गरियो । त्यसपछि अहिले आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको छ । 

विसं २०७८ को जनगणनाले केवरत भाषालाई छुट्टै भाषाका रूपमा सूचीकृत गरी यो जातिको जनसङ्ख्या र यो भाषाको वक्ता सङ्ख्यासमेत उल्लेख गरेपछि यस जातिमा हर्ष छाएको छ ।