दमक समाचारदाता
दमक, भदौ २३ गते । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी, गन्गाई, ताजपुरिया जातिले बिहीबार झापामा दधिकाद पर्व मनाएका हुन् ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाइने गर्छ । पत्रकार इन्द्रसिंह राजवंशीका अनुसार भगवान् कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिएको छ । दधिकाद खेल खेलाउँदा आफ्नो मन चाहेको कुरा पुग्ने विश्वास भएकाले गाउँघरमा यो खेल खेलाउने चलन छ ।
भजन कीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाइने गरेको पनि राजवंशीले बताउनुभयो । बिर्तामोड नगरपालिकाको गरामनी, अनारमनी, नचानुवारीलगायतका ठाउँमा दधिकाद पर्व मनाइएको छ ।