• १४ मंसिर २०८१, शुक्रबार

हात्तीले भत्कायो जङ्गेपिल्लर

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २३ गते । मेचीनगरस्थित वडा नं. ४ मा नेपाल–भारत सिमानाको जङ्गेपिल्लर हात्तीले भत्काइदिएको छ । आले टुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बर जङ्गेपिल्लर हात्तीले भत्काएको हो । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिल्लर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिल्लर पूर्णरूपमा भत्काएर क्षति पु-याएको छ ।

भारतबाट आउने जङ्गली हात्तीको क्षति न्यूनीकरण र हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि स्थानीय बासिन्दाको प्रयास र वडा कार्यालयको संयोजनमा आरआरटी बनाइएको छ । वडा कार्यालय र सशस्त्र प्रहरी बाहुनडाँगीलाई यस विषयमा आरआरटीले सूचना दिएको थियो । “जङ्गे पिल्लर मक्किएको रहेछ हात्तीले पूर्णरूपमा भत्काइदियो,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “बाहुनडाँगी नाका भएर अहिले दुई सयको समूहमा भारतीय हात्ती नेपाल प्रवेश गरेका छन् । हात्तीले दिनहुँजसो यस क्षेत्रमा भौतिक क्षति पु-याउँदै आएको छ ।” 

नेपाली युवा र भारतीय युवा मिलेर हात्तीको निगरानी गर्दै नियमित गस्ती गर्नका लागि दुवैतर्फ आरआरटी बनाएर काम गरिरहेका छन् । हात्तीबाट हुन सक्ने जोखिम र क्षतिको विषयमा सम्बन्धित निकायमा आरआरटीले जानकारी गराउने गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले औपचारिक रूपमा जानकारी प्राप्त नभएको बताउँदै बुझेर आवश्यक प्रक्रिया थाल्ने जानकारी दिनुभयो ।