• ७ जेठ २०८१, सोमबार

गोरखापत्र अनलाइन समाचार प्रभाव

मिटरब्याज पीडितहरुको मिनाहा हुन थाल्यो रकम

blog

स्थानीय माया भण्डारी र पीडित सरस्वती सुवेदी पराजुली ।

नवलपुर, भदौ २२ गते । नवलपुरमा मिटरब्याज र ढुकुटी पीडितले आफ्नो गुमेको रकम फिर्ता पाउन थालेका छन् । पीडक र पीडितबीच कावासोतीको ८ नं. वडा कार्यालयमा गई वडा अध्यक्ष भीमबहादुर रिमालको रोहबरमा यसअघि भएको लेनदेन टुंग्याउने सहमति भएको हो । 

वडा कार्यालयमा भएको सहमतिमा लेनदेनको रकम नखुलाइए पनि आन्तरिक सहमतिमा भने पीडितले पाउने रकम खुलाइएको छ । गोरखापत्र अनलाइनले भदौ १४ गते ‘राजनीतिक आडमा मिटरब्याज : अनुचित नेलदेनमा बैंकका हाकिम’ तथा राइजिङ नेपाल अनलाइन र राइजिङ नेपाल दैनिकले गत भदौ १३ गते ‘फिवेर कम्प्लेन्ट्स ड्यू टु पावरफुल लोन सार्कस् : भिक्टिम्स’ शीर्षकको समाचार प्रकाशित भएको थियो । 

पीडितमध्येका एक सरस्वती अधिकारी पराजुली अब ७४ लाख ८० हजार रुपियाँ स्थानीय माया भण्डारीलाई तिर्न नपर्ने भएको हो ।

त्यसैको प्रभावमा मिटरब्याजीले पीडितलाई रकम फिर्ता दिन थालेको पीडितको भनाइ छ । पीडितमध्येका एक सरस्वती अधिकारी पराजुली अब ७४ लाख ८० हजार रुपियाँ स्थानीय माया भण्डारीलाई तिर्न नपर्ने भएको हो । आन्तरिक सहमतिअनुसार अब भण्डारीलाई सुवेदीले दिनुपर्ने भनी गरिएको ३६ लाखको कागज च्यातिएको छ ।

त्यस्तै, १३ लाख ८० हजारको कामना विकास बैंकको बाउन्स गरिएको चेक पनि च्यातिएको छ । सुवेदीले भण्डारीलाई दिएको पुरन गुरुङको नाममा रहेको प्रभु बैंकको ७ लाखको चेक, एस. के. मोटर पार्टसको नाममा सुवेदीले भण्डारीलाई दिएको मेगा बैंकको ८ लाख रुपियाँको चेक, आफूसँग राखेको सुवेदीको हस्ताक्षर भएको प्रभु बैंकको खाली चेक फिर्ता गर्न माया भण्डारी सहमत हुनुभएको पीडित सुवेदीले बताउनुभयो । 

सहमतिपछि गोरखापत्रसँग कुरा गर्दै भण्डारीले दुबै पक्षबीच चित्त बुझेर सहमति गरिएको बताउनुभयो ।

त्यस्तै, विनय सुनचाँदी पसल कावासोतीबाट ५ लाख ५४ हजारको सुन झिकाएर दिएको रकममध्ये ४ लाख आफैँले तिर्न पनि माया भण्डारी सहमत हुनुभएको छ । 


वडा कार्यालयमा गरिएको सहमतिपत्रमा भनिएको छ, ‘हामी दुईबीच विगत केही समयदेखि भएको उक्त लेनदेन हिसाब किताब फरफारक गरी बुझबुझारथ भएकोले आजको मिति उप्रान्त बिगतको कुनै पनि देनदेन, तमसुकको चेक, बिल, भर्पाइ, बैंक स्टेटमेन्ट वा लेनदेन ठहरिने कुनै पनि कागजपत्र भेटिएमा यसै कागजअनुसार बदर हुनेछ ।’ 


सहमतिपछि गोरखापत्रसँग कुरा गर्दै भण्डारीले दुबै पक्षबीच चित्त बुझेर सहमति गरिएको बताउनुभयो । म आफूले राजीखुशीले वडा कार्यालयको रोहवरमा सो कागज गरिदिएको उहाँले बताउनुभयो । फिर्ता गरिएको रकमका बारेमा भण्डारीको फरक मत छ । उहाँले आफूले १३ लाखको मात्र चेक फिर्ता दिएको र योसँगै लेनदेन सकिएको बताउनुभयो । 

माया भण्डारीले भन्नुभयो, ‘‘सहमति गरेको हो । हामी दुवै जनालाई चित्त बुझ्ने तरिकाले लेनदेन र कारोबार हुने गरी गरेको हो । संलग्न छैन भनेको छैन । यसअघि समाचार लेख्ने क्रममा हामीलाई सोधिएन । यसरी लेखेको कुरा गलत हो । कम्तिमा पनि पीडितले दियो भन्दैमा हाम्रो पनि भनाइ समावेश भएको भए हुन्थ्यो भन्ने गुनासो हो । हाम्रो जे कारोबार भएको थियो त्यो हामी दुई पक्षले परिवारसहित बसेर सहमति गरेको छौं ।’’

पीडित सुवेदीले भन्नुभयो, “गोरखापत्रले समाचार लेखेकै आधारमा मैले न्याय पाएकी हुँ, गोरखापत्रप्रति म आभार व्यक्त गर्दछु ।”

यो पनि पढ्नुहोस
Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।