• १३ मंसिर २०८१, बिहिबार

जिल्ला अस्पतालले माग्यो पूर्वाधार निर्माणमा सहयोग

blog

जिल्ला स्वास्थ्य कार्यालय मुगु ।

हरिकृष्ण ऐडी

मुगु, भदौ २१ गते । जिल्ला अस्पताल मुगुले बिरामीलाई सेवा दिन आवश्यक पूर्वाधार नभएको भन्दै सहयोगका लागि अपिल गरेको छ । सेवाग्राहीलाई अस्पतालमा पिउने पानीदेखि सरसफाइमा सास्ती हुँदा जिल्ला अस्पताल विकास समितिले जिल्लाका दातासँग पूर्वाधार निर्माणका लागि सहयोग मागेको हो ।

जिल्ला अस्पतालमा खानेपानी, शव वाहन, सुविधा सम्पन्न एम्बुलेन्स, सेवाग्राहीको लागि क्यान्टिन भवन, अस्पताल सुरक्षाका लागि घेरवारको व्यवस्था नभएको भन्दै अस्पतालले जानकारी दिएको छ। 

अस्पताल विकास समितिले गत मंगलबार सरोकारवाला निकायसँग छलफल कार्यक्रम गरी आवश्यक पहलका लागि अनुरोध गरेको हो । समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अस्पतालका समस्या समाधान गर्न जिल्लाका सोरोकारवला निकायले एक–एक वटा ती योजनाको जिम्मा लिन आग्रह गर्नुभयो । छलफलमा समितिले सङ्घीय प्रतिनिधि सभाका सदस्य ऐन बहादुर शाहीलाई सुविधा सम्पन्नको एम्बुलेन्स र शव वाहन, कर्णाली प्रदेशका पूर्वाधार तथा सहरी विकास मन्त्री प्रदेश सभाका सदस्य मङ्गल बहादुर शाहीलाई कर्मचारी आवास भवन र सेवाग्राहीलाई क्यान्टिन भवन निर्माण, कर्णाली प्रदेशका पूर्व पर्यटन तथा संस्कृति विकास मन्त्री प्रदेश सभाका सभासद् जित बहादुर मल्ललाई अस्पताल घेरबार निर्माणमा सहयोग जुटाउन आग्रह गरेको थियो ।

त्यस्तै, छलफलमा पूर्व शिक्षा तथा राज्यमन्त्री हस्त बहादुर मल्ललाई  खानेपानी निर्माण, समन्वय प्रमुख मन्जन बहादुर कार्कीलाई जिल्लाका चार वटा स्थानीय निकायका प्रमुखहरूसँग समन्वय गरी अस्पतालमा सहयोग गर्न वातावरण बनाउन आग्रह गरिएको थियो । छायाँनाथ रारा नगर प्रमुख विष्णु कुमार भामसँग श–शुल्क फार्मेसी स्थापना गर्न, जिल्लाको जल जलाधार कार्यक्रमबाट अस्पताल लाई छुट्टै खानेपानी धारा निर्माण गर्न अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।

पूर्वाधार विकास कार्यलयले अस्पताल गेटदेखि रेडक्रससम्म सडक मर्मत गर्न, त्यसैगरी खानेपानी तथा ऊर्जा कार्यालयलाई खानेपानीको लागि आवश्यक पहल गरी बजेट व्यवस्थापन गर्न आग्रह गरिएको थियो । पूर्व राज्य मन्त्रीले सेवाग्राहीको सहजताका लागि र छिटो छरितो विकास निर्माण गर्ने उद्देश्यले यी योजना जिल्लाका दातालाई  जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी पूर्व शिक्षा तथा राज्य मन्त्री हस्त बहादुर मल्ल, पूर्व प्रदेश पर्यटन तथा संस्कृति विकास मन्त्री प्रदेश सभासद् जित बहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा त्यसैगरि समन्वय प्रमुख मञ्जन कार्कीको उपस्थित थियो ।