• १५ वैशाख २०८१, शनिबार

रेड हर्ष र जुट विकास फाइनल भिड्दै

blog

रेड हर्ष (पहेँलो जर्सी) र रेड स्टार फुटबल क्लबबिच मङ्गलबार भएको सेमिफाइनल खेल । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २० गते । बुधवार (आज) इलामको रेड हर्ष फुटबल क्लब र सुनसरीको जुट विकास फुटबल एकेडेमीबिच ताप्लेजुङ गोल्ड कपको उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगेका उक्त दुई टोलीबिच उपाधि भिडन्त हुने भएको हो । 

ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको सेमिफाइनलमा रेड स्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै रेड हर्ष फुटबल क्लब फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीबाट एक–एक गोल बराबरी भएपछि खेल ट्राई बेकरमा धकेलिएको थियो । 

यस्तै सोमबार भएको पहिलो सेमिफाइनलमा जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा नै ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । भारतको दार्जिलिङसहित आठ टोलीको सहभागी भएको प्रतियोगितामा रेड हर्ष र जुट विकास फुटबल एकेडेमी फाइनलमा पुगेका हुन् । 

आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिता विजेताले तीन लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।