राजन रावत
हुम्ला, भदौ १९ गते । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको क्षेत्र च्याछरामा यातायात सेवा बन्द हुने भएको छ । सो भीरको सडक मर्मत गर्नका लागि गाउँपालिकाले सडक बन्द गर्ने निर्णय गरेको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले च्याछरामा भत्किएको सडक मर्मत गर्न लागेको कारण भदौ २० एक दिनका लागि यातायात सेवा बन्द गरिने बताउनुभयो । च्याछराबाट माथि जाने सडक ठाउँठाउँमा भत्किएका कारण यातायातका साधन आउजाउमा समस्या हुने गरेको कारण त्यसलाई मर्मत गर्न लागिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको आयोजनामा उक्त सडकको जनश्रमदानबाट मर्मत गर्न लागिएको उहाँले बताउनुभयो । बिहानैबाट सडकको मर्मत सुरु गरेर काम सम्पन्न गर्ने गरी काम गरिने भएको छ । सो क्षेत्र सडक भिरालो छ भने त्यसमाथि माथिबाट बगेको पानी सडकमै बग्दा सडक थप बिग्रिएको हो ।
हाल सिमकोटबाट हिल्सातर्फ जाने प्रत्येक सवारी साधनहरुले सो क्षेत्रमा यात्रुहरु झारेर खाली गाडी चलाउँदै आएका छन् । हाल दैनिक ३० भन्दा बढी विभिन्न सवारी साधन सञ्चालन हुने गरेका छन् । गाउँपालिकाले एक दिन सडक बन्द हुने भएका कारण सम्पूर्ण यातायातका साधनहरु सञ्चालन नगर्न आग्रह गरेको छ ।