हरिकृष्ण ऐडी
मुगु, भदौ १९ गते । नेपाल टेलिकमको मुगु शाखाले पुरानो जीर्ण अवस्थामा रहेको साँघुरो कार्यालयबाट सेवा दिँदै आएको छ । कार्यालयमा आउने सेवाग्राहीले पुरानो भवनकै कारण सास्ती बेहोर्दै आएका छन् ।
भवन सानो र साँघुरो हुँदा सेवाग्राही वर्षातको समयमा बाहिरै उभिएर सेवा लिन बाध्य छन् । छायाँनाथ रारा नगरपालिका वडा नं-२ का स्थानीय नन्दलाल रोकायाले भवनकै कारण टेलिकमको सेवा अस्तव्यस्त भएको बताउनुभयो । “म सिमकार्ड झिक्न आएको, भीडभाड छ, सेवा कति बेला कताबाट पाइन्छ थाहा छैन, एउटा सिम झिक्न पनि घण्टौं कुर्नुपर्ने भयो,” उहाँले भन्नुभयो ।
साँघुरो भवनमा एक दुई जनाभन्दा बढी कार्यालयभित्र बस्ने ठाउँ छैन । टेलिकम शाखा कार्यालय मुगुका कार्यालय प्रमुख प्रेमराज आचार्याले तीन मिटरको सानो जीर्ण भवनबाट सेवाग्राहीले सास्ती पाएको बताउनुभयो । “यस विषयमा हामीले केन्द्रीय कार्यालयसँग पटकपटक जानकारी गराएका छौं, खै किन हो प्राथमिकतामा परेको छैन,” उहाँले भन्नुभयो ।
कार्यालयको सानो कोठामा दैनिक ४० जनाभन्दा माथि सेवाग्राही कार्यालयमा आउने गरेको सानो भौतिक संरचना भएकाले बढीमा तीन जना सेवाग्राहीसम्म कार्यालयभित्र अटाउन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । सानो कोठामा सेवाग्राहीको कोलाहलले कार्यालयका कर्मचारीलाई पनि कार्य सम्पादनमा काम गर्न कठिनाइ भएको प्रमुखको भनाइ छ ।
टेलिकमका उपकरण राखिएको भवन पनि तीन दशक पुरानो जीर्ण भवनमा उक्त उपकरण राखिएका छन् । यस्ता महत्त्वपूर्ण उपकरणको संरक्षण गर्नलाई केन्द्रीय कार्यालयले अहिलेसम्म कुनै पनि पहल नगरेको पाइएको छ ।
जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले दुर्गमका नागरिकका सहजताका लागि र कर्मचारीलाई सम्बाेधन गर्न आवश्यक रहेको बताउनुभयो ।