एयरपोर्टमा ऊ उभिएको छ
रातो टीका लगाएर
आफू भनुँ, वा अरूका लागि बाँच्न
आजको जिन्दगी टार्न भनुँ, वा भोलिको जीवन साँच्न ।
बलेसीमा चुहिएका उसका औसत मान्छेका झैँ सपनाहरू
भान्सामा बज्ने रित्ता थालहरू
कौसीमा झङ्कृत अभावका शब्दहरू
ऊ एउटा स्वचालित मेसिन हो
परिवारको एक फाँको खुसीका निम्ति ।
बाल्यकालमा ऊ ओजस्वी कर्णधार देखिन्थ्यो
जुँगाको रेखी बस्दै गर्दा ऊ सम्भावनाहरूको भेल बोकेको मस्त जवान देखिन्थ्यो
जतिखेरै ऊ वयस्क ठानिन्छ–
वैदेशिक श्रमको तस्बिर कोर्छ ऊ ।
राष्ट्रवादको नारामा बेचिएको उसको वैयक्तिक अस्मिता
जनता जनार्दनको आदर्शमा मञ्चन गरिएको उसको मर्यादा
तर यो धर्तीपुत्र फगत बेखबर छ–
सारा नारा र आदर्शहरूबाट ।
एयरपोर्टको साँझको तामझाममा ऊ,
नवयौवना जस्तै देखिन्छ ।
हामी हिजो लाहुरे बन्यौ
र श्रम निर्यात ग¥यौँ ।
हामी अस्ति ‘दरबान’ बन्यौ,
र, श्रम अर्पित गर्यौं।
हामी आज ‘वैदेशिक रोजगार’ भन्छौँ
र श्रम ठेक्कामा बेच्छौँ
यो नै हाम्रो राष्ट्रिय निर्यात हो ।
किनभने हामी वस्तु हौँ
हामीले वस्तु नभईकन स्वरोजगार हुन सिकेनौँ
हामीले कर्मशील भईकन वस्तु नहुन जानेनौँ ।
यो देशका धर्तीपुत्रहरू
विगत खोतलेर त हेर, हाम्रो श्रम कसको निम्ति छ ?
यो देशका धर्तीपुत्रहरू
देशमा बसेर त हेर, जीवन धान्न कति गाह्रो छ ।
ब्रसेल्स, बेल्जियम