• १९ वैशाख २०८१, बुधबार

अर्को मन्डेला जेलमा (कविता)

blog

सानो छँदा

कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथेँ

जसोतसो योग्यता पुगेपछि

पाउँदै गरेको जागिरमा

लोक सेवाको प्रश्नपत्र देखेर डराएथेँ

 

कर्तव्यपालनमा चिप्लिइन्छ कि कतै

प्रहरी प्रशासन र अख्तियारको निगरानीका साथसाथै

न्यायालयको ढोका चहार्न नपरोस् भन्ने कामनाले डराएथेँ

 

डर निरन्तर साथ लागेर हिँडिरहेछ

त्रास मसँगै खान्छ, सुत्छ

भयसँगै उठबस गरिरहन्छ

 

डरको कुनै भर हुँदो रहेनछ

निर्भर त टाढाको विषयवस्तु हुने नै भयो

डरको घर अजङ्गको पो हुँदो रहेछ

 

डर

युवा, वय र उत्तराद्र्धसम्म सँगै हिँड्यो, हिँडि नै रहेछ

परिवर्तनको चिसो घामले होस्

कि जनयुद्धको नामले नै किन नहोस्

त्रासै त्रासको बास त्रासैको त्रासमा डराएथेँ

उहिले पहिले मितिनी आमाले सुनाएको कथा होइन

निद्रामा खै किन पो हो  

कतै मसिनो त कतै चर्को आवाजले पनि डराएथेँ रे

 

विचारको घाम बोकेर हिँड्दा

शासक, सत्ता र प्रशासनले गुप्तचरी गर्नु अन्यथा ठानिएन

तर विचार कहिल्यै हारेन

हा¥यो त सुपुर्दगी, पक्राउपुर्जी र कारागार हा-यो

 

त्यागको मूल्यभन्दा अर्को ठुलो धन राशि हुनै सक्तैन

त्यागले प्रलोभनको पखेटामा आराम खोज्नू हुन्न

विवेक कतिखेर बन्धक बन्छ होसियारी पु-याउनुपर्दो रै छ

 

जीवनको यात्रा सधैँ दुर्गम बाटो हिँड्यो

सुगमको स्वाद चाख्नै चाहेन

परिवर्तनको आगो बोकेर हिँड्यो थाकेन

यात्रामा लागेको घाउ कोट्याएर मल्हम दल्ने फुर्सद भेटेन

 

इतिहास लेख्नेहरूको इतिहास नै मेट्ने घट्ना घटेको

समाचार सुनेकै भरमा हुनु पर्छ

जीवनको अर्थ भर्खर बुझ्दै गरेको नातिको प्रश्न

किन हजुर बा ?

सुन चोर र नुन चोरमा फरक ?

जङ्गलको राजा बाघ पनि सानो प्रलोभनले

भड्खाँलोमा किन पर्छ ?

उनान्सयौँ पटकको जितलाई एक प्रतिशतले पराजित कसरी गर्छ ?

विद्रोह, सङ्घर्ष र बलिदानीका अलौकिक पात्र

इतिहास लेखिनबाट जीवनमा कसरी हार्छ ?

बिनामनसुन कताबाट आएको बादलले सूर्यलाई छेक्छ ?

र, किन

इतिहासको कठघरामा मौन उभिएर

एकपछि

अर्को मन्डेला जेल पर्छ ?

 

जुत्तालाई दोष लगाऊँ कि

पाउलाई

नदेखेरै कतिपय किराहरू परलोक पुगे हुनन्

 

अहिले भर्खर नातिको प्रश्नले

थाहा छैन

यत्ति धेरै किन डराएँ !