• २८ वैशाख २०८१, शुक्रबार

बाह्र वर्षसम्म बनेन पुल, यात्रुलाई खोला तर्न सास्ती

blog

यात्रुको मोटरसाइकल बोकेर तार्दै स्थानीय । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, भदौ १५ गते । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिनेगरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –६, रत्नावतीस्थित सोखु खोलामा वर्षामा आउने बाढीले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौं आवत–जावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको हो । 

खोला तर्न नसकेर एकातिर यात्रु छट्पटाइ रहन्छन्, ठेकेदारको लापरबाहीले अर्कातिर १२ वर्षअघि निर्माण सुरु भएको अलपत्र परेको पुलले गिज्याइ रहन्छ । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलामा पुल निर्माण सुरु भएको बाह्र वर्ष भए पनि पूरा भएको छैन ।

अहिलेसम्म पुल निर्माण सम्पन्न नहुँदा हरेक वर्ष चार जिल्लाका यात्रुले सास्ती खेपिरहेनु परेको छ । पुल निर्माण नहुँदा जिल्लाबाट काठमाडौं वा काठमाडौंबाट जिल्ला हिडेका यात्रु हरेक दिनजसो बाटैमा अलपत्र पर्नेगरेका छन् । गाडी सोखु खोला तर्न नसक्दा एक दिनमा सकिने यात्रा दुई दिन लाग्नेगरेको काठमाडौंबाट खोटाङ आएका यात्रु धनकुमार तामाङले बताउनुभयो । 

केही दिनअघि खोटाङ आउनुभएका तामाङ करिब ८ घण्टा सोलु खोलामा छेकिएको बताउनुभयो । सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउन सुरु हुन्छ । खोलामा बाढी आएर सवारी साधन वारपार गर्न नसकेपछि यात्रुहरुको बिजोग हुनेगरेको छ । 

चार जिल्लाका यात्रुहरु अरु समय बिहान यात्रामा निस्केर साँझसम्म गन्तव्यमा पुग्नेगरेका छन् । तर वर्षातको समयमा सोखु खोलाको बगरमै दिन–रात बित्नेगरेको यात्रुहरुको भनाइ छ ।  

ठूला सवारी साधन खोला तर्न पानीको मात्रा घट्नै पर्ने हुन्छ । मोटरसाइकल स्थानीयले शूल्क लिएर बोकेर तारिदिने गरेका छन् । खोला तारेबापत प्रतिगोटा मोटरसाइकलको ५ सयदेखि हजारसम्म शुल्क स्थानीयले लिनेगरेका छन् । केही दिनको काम लिएर काठमाडौं गएका खोटाङ रावाबेसी गाउँपालिका –६ हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्की आउँदा–जाँदा ५–५ सय रकम दिएर मोटरसाइकल तारेको बताउनुभयो ।

आफै जवरजस्ती तार्न खोज्दा कतिपय सवारी साधन खोलाले बगाउनेगरेको छ । कतिपय सवारीसाधन भने खोलाभित्रै फसिरहेको भेटिन्छ । सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो । तर पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी–विकास एण्ड ब्रदर्श–आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको छ । 

आत्रेयले ७७ साल कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई वटा पुल निर्माण गर्न ५ करोड ३६ लाख ७७ हजार (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता भएको हो । 

आत्रेयसँग सम्झौता गरिएको म्याद पनि गत कात्तिक २६ गते सकिसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापका इन्जिनियर दिपेश मुनाकर्मीले बताउनुभयो । 

सम्झौता मिति सकिएको एक वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माणको काम २४ प्रतिशत मात्र भएको उहाँको भनाइ छ । म्याद थप्न निर्माण कम्पनीले कार्यालयमा केही समयअघि निवेदनसमेत दिएको थियो । तर आवश्यक कागजपत्र नपुगेकाले म्याद नथपिएको इन्जिनियर मुना कर्मीले बताउनुभयो । 

हाल निर्माण कम्पनी बेखबर छ । ठेक्का तोड्न कार्यालयले निर्माण कम्पनीलाई चिठीसमेत पठाइसकेको छ । तर, आत्रेय कम्पनीका प्रमुख रविन्द्र कुँवर सम्पर्कमा नआएको उहाँको भनाइ छ ।