प्रेम अधिकारी
पशुपतिनगर (इलाम), भदौ १४ गते । इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।
सूर्योदय ११ का ३५० देखि ४०० परिवारले गत वैशाख–ज्येष्ठ महिनामा स्वास्थ्य बिमा नवीकरण गर्न बुझाएको रकम दर्ता सहयोगीले गायब पारेको थाहा पाएपछि अहिले स्थानीय हारगुहार गरिरहेका छन् ।
भदौ लागेपछि अस्पताल पुग्दा बिमा नवीकरण नभएको थाहा पाएपछि स्थानीयले स्वास्थ्य बिमा बोर्डको इलाममा रहेको जिल्ला कार्यालयमा बुझ्दा बिमा नवीकरण नभएको थाहा पाएको स्थानीय पीडित ऋषि भट्टराईले जानकारी दिनुभयो । नयाँ बिमा र नवीकरण गर्न भनी रकम सङ्कलन गरिएकामध्ये ४० को हाराहारीमा मात्र घरमुलीको नाम नवीकरण भएको छ ।
पीडितले रकम हिनामिना भएको थाहा पाएपछि वडा ११ कार्यालय, तीनघरे प्रहरी चौकीमा निवेदन समेत दिएका छन् । स्थानीयले भदौबाट बिमा कार्यक्रमको सुविधा पाउनु पर्ने र दर्ता सहयोगी आलेलाई कारबाही गर्न माग गरेका छन् ।
आलेले नवीकरणका लागि रसिद काट्दा कुनै पुरानो रसिद दिएको त कसैको रसिदमा गत वर्षको मिति उल्लेख गरेको पाइएको छ । पीडित ऋषि भट्टराईले स्वास्थ्यजस्तो संवेदनशील विषयमा यसरी खेलबाड गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र आफूहरूको बिमा सुचारु हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य बिमा कार्यालय इलामका कार्यवाहक कार्यालय प्रमुख जानुका शर्माले उक्त वडामा कार्यरत दर्ता सहयोगी आलेले बिमितबाट नवीकरणका लागि सङ्कलन गरेको रकम र कागजात हालसम्म जिल्लामा नपठाएको बताउनुभयो ।
उहाँले दर्ता सहयोगीले लापरबाही गरेका कारण स्थानीय बिमा सुविधाबाट वञ्चित हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । तीन हजार ५ सयका दरले स्थानीयबाट सङ्कलन गरिएको रकम आलेले गायब बनाएपछि समस्या भएको कार्यालयले जनाएको छ ।
उहाँले दर्ता सहयोगी आले अहिले स्वास्थ्य बिमा कार्यालय इलामस्थित कार्यालयमा सम्पर्कमा समेत नआएको बताउनुभयो । कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘रकम आयो भने पुरानो रसिद काटेर इन्ट्रि गराउनका लागि आइटीसँग कुरा भएको छ तर रकम आउने टुङ्गो भएन ।’ स्थानीय पीडितले भने दर्ता सहयोगीले रकम बुझ्दा दिएको रसिदको अर्धकट्टी सङ्कलन गर्न थालेका छन् ।
दर्ता सहयोगी आले सूर्योदय नगरपालिका–११ कै कर्मचारी भएको बुझिएको छ । सूर्योदय नगरपालिका –११ का वडाध्यक्ष सन्तोष राईले आले वडाकै कर्मचारी भएको जानकारी दिँदै वडाको सम्पर्कमा समेत नभएको जानकारी दिनुभयो ।
उहाँले आउने आइतबारसम्ममा बिलको अर्धकट्टी र रकम लिएर आउन आलेलाई निर्देशन दिएको बताउँदै सो समयमा सम्पर्कमा नआए कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जानकारी दिनुभयो ।
पछिल्लो समय इलाममा बिमा कार्यक्रमको प्रभावकारिता समेत घट्दै गएको छ । बिमाको रकम हिनामिना गर्ने, समयमा नवीकरण नगरिदिने, स्वास्थ्य संस्थाले चाहेको अस्पतालमा जान रेफर नदिने पूर्जामा लेखिएको औषधि नपाइनेजस्ता समस्याले बिमा कार्यक्रम ओझेल पर्दैगएको पाइएको छ ।