• ४ पुस २०८१, बिहिबार

अस्पतालका उपकरण प्रयोगविहीन

blog

सुजन काफ्ले

चरीकोट भदौ १४ गते । दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।

पशु जाँचका लागि ल्याइएका ल्याब र भिडियो एक्सरे मेसिन भवन अभावले प्रयोगविहीन बनेको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त कार्यालय प्रमुख पलट चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पशु जाँच गर्ने उपकरण छ तर राख्ने ठाउँको अभावले थन्क्याइएको छ । दोलखा र सिन्धुपाल्चोक जिल्ला हेर्ने एक मात्र जिल्ला पशु अस्पतालका भवन जीर्ण अवस्थामा पुगेको छ ।” अस्पतालमा दैनिक उपचारका लागि ल्याइने पशुलाई राखेर उपचार गर्ने ठाउँसमेत नभएको चौधरीले बताउनुभयो । उहाँका अनुसार सबै पशुलाई एकै ठाउँमा राखेर उपचार गरिँदा उल्टै रोग एकअर्कामा सर्ने जोखिम उच्च हुन्छ तर छुट्टाछुट्टै राख्नलाई ठाउँ छैन । कतिपय भवनका कोठामा पानी चुहिने गरेको उहाँको भनाइ छ । 

उपचारका लागि भेटेरिनरी अस्पतालमा लगिएका पशु थप सरुवा रोग लिएर फर्किने चिन्ता रहेको किसानको गुनासो छ । भेटेरिनरी अस्पतालले २५ वर्षअगाडि निर्माण गरिएका भौतिक संरचनाबाट सेवा दिँदै आएको अस्पतालले जनाएको छ । 

अस्पतालको भौतिक पूर्वाधार निर्माण र क्षमता विस्तारका लागि बजेट विनियोजन भए पनि भीमेश्वर नगरपालिकाले स्वीकृत नदिँदा बजेट फ्रिज हुने गरेको कार्यालयले जनाएको छ । कृषि तथा पशु विकास मन्त्रालयबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा एक करोड, गत आवमा एक करोड ५० लाख र सहरी विकास तथा भवन कार्यालय धुलिखेलबाट ८० लाख रुपियाँ बजेट आएको थियो । कार्यालयले भवन निर्माणको डिपिआर तयार गरे पनि नगरपालिकाले स्वीकृति नदिएका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको कार्यालयले जनाएको छ । अस्पतालको नाममा दुई हजार दुई २० वर्ग मिटर जग्गा रहेको कार्यालयले जनाएको छ ।