• ६ जेठ २०८१, आइतबार

रैथाने बालीको बजारीकरण गर्दै पालिका

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ १४ गते । हरेक साता काठमाडौँमा लाग्दै आएको रैथाने हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण गरेको छ । 

मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाटबजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैँ बिक्री गर्न पुग्नुभएको थियो ।

स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बिक्रीको सुरुवात पालिका अध्यक्ष स्याङ्तानले आफैँले गर्नुभएको हो । मकवानपुरगढी गाउँपालिकाको सहयोगमा अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले ब्रान्डिङ तथा प्याकेजिङ गरेको कालीखोला ब्रान्डको कोदोको पिठो बिक्री गरी अध्यक्ष स्याङ्तानले बजारीकरणको सुरुवात गर्नुभएको थियो । कोदोको पिठोसँगै कोदोको दाना, बेसारको धुलो, लसुन, बाँसबाट बनेका हस्तकला सामाग्री पालिकाको संयोजनमा बिक्री गर्न राखिएको थियो । 

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेको बेसारको धुलो र पौवाडाँडा कृषक समूहले स्थानीय लसुन उत्पादन गरेको हो । 

गाउँपालिका अध्यक्ष स्याङ्तानले मकवानपुरगढी गाउँपालिकाका किसान, कृषक समूह, सहकारीले उत्पादन तथा प्याकेजिङ गरेका कोदोको पिठो, बेसारलगायत स्थानीय एवं रैथाने जातका बालीलाई काठमाडौँको बजारसँग जोड्ने प्रयासको सुरुवात गरिएको बताउनुभयो । 

पालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले पहिलो दिन हाटबजारमा कोदोको पिठो किन्ने उपभोक्ताको उत्साहजनक उपस्थति र राम्रो प्रतिक्रियाले ऊर्जा मिलेको बताउनुभयो । उहाँका अनुसार हरेक शनिबार ‘रैथाने कृषि हाटबजार’ लाग्ने गरेको छ । अब हरेक शनिबार सञ्चालन हुने रैथाने कृषि हाटबजारमा नियमित रूपमा मकवानपुरगढीमा उत्पादित कोदो, कोदोको पिठो र अन्य कृषि उपज राखिने चौधरीले बताउनुभयो ।