• २२ वैशाख २०८१, शनिबार

बिपी साहित्य महोत्सवको तयारी

blog

काठमाडौँ, भदौ १२ गते । नेपाली कांग्रेसले आगामी २४ गतेदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने भएको छ । हरेक वर्ष भदौ २४ गते बिपी जन्मजयन्ती मनाउँदै आएको पार्टीले यस वर्षको ११० औँ जन्मजयन्ती भने तीन दिनसम्म महोत्सवका रूपमा नै मनाउने निर्णय गरेको पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार पार्टीको साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय समितिको बैठकले नै यस वर्ष बिपी जन्मजयन्तीलाई महोत्सवका रूपमा मनाउने निर्णय भएको स्पष्ट पार्नुभयो । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बिपी स्मृति भवन सानेपामा आयोजना हुने महोत्सवमा नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको बहुआयामिक व्यक्तित्वको बारेमा  विभिन्न व्यक्तिको सम्भाषण रहने छ । त्यस्तै बिपीको बहुआयामिक व्यक्तित्वको बारेमा बुझ्न बुझाउन विभिन्न १२ वटा सत्र सञ्चालन हुने छन् । ती सत्रहरूमा बिपीको मनोविश्लेषणात्मक साहित्य र व्यक्तित्व, साहित्यमा पर्यावरण, समय र सवाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी राखिने छ । 

त्यस्तै बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएको १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेको बिपी विषय समावेश गरिएको छ । बिपीका बारेमा चासो राख्ने र नजिकबाट चिन्ने भारतीय प्राध्यापकहरूलाई पनि आमन्त्रण गरिएको पत्रकार पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । यी सत्रहरूसँगै त्यहीँ रहेर कलाकारहरूले बिपीलाई चित्रकलामा उतार्ने र त्यसलाई प्रदर्शनी गर्ने कार्यक्रम पनि समावेश गरिएको पत्रकार सम्मेलनमा विभागका प्रमुख विश्वकर्माले बताउनुभयो । महोत्सवकै अवसरमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझसमेत आयोजना गरिने बताइएको छ ।