• १२ साउन २०८१, शनिबार

भाइरल धागो

blog

भन्नेले त ‘उहिलेका कुरा खुइले’ भन्छन् तर उहिलेका कतिपय कुरा/संस्कार साँचो पनि हुन सक्छन् । महिलाले कपाल नकाटी बाट्ने चलन हिन्दु संस्कारमा थियो । लामो कपाल भएकी महिलालाई ‘लक्षिनकी’ पनि भनिन्थ्यो । त्यसैले महिलाले लामो कपालको सुरक्षार्थ धागो (डोरी) ले बाट्ने चलन चलेको होला । धेरै पहिलेदेखि यो चलन चल्दै आएको छ, जसलाई आमा, दिदी, बहिनीहरूले निरन्तरता दिँदै आएका छन् । 

पहिला–पहिला कपाल बाट्ने फुर्के धागो थियो । बजारमा त्यही एकनासे फुर्के धागो मात्रै पाइन्थ्यो । विकल्प अरू थिएन । यही फुर्के धागोलाई पोखरा कास्की, स्याङ्जा, बागलुङ, तनहुँतिर डोरी भन्ने चलन पनि छ । तीन वटा पोया भएको फुर्के धागो रातो, कालो रङमा रेशमी फुर्का भएको पाइन्थ्यो र अहिले पनि पाइन्छ । 

ऊ बेला गाउँघरमा किसिम किसिमका तेल पाइँदैनथ्यो । तोरीको तेल मात्र पाइन्थ्यो । त्यो तेल कपालमा लगाएर बाँसको काइँयोले कपाल कोर्ने चलन थियो । यसरी कोरिइसकेपछि धागोको साथमा कपाल बाटेर चुल्ठो पारेपछि त्यस दिनलाई कपालको कामै सकिन्थ्यो । यसो गरेपछि काम गर्दा जेलिने, लट्टा पर्ने डर पनि हुँदैन । कपाल बाट्ने चाहिँ आआफ्नै तरिका थियो÷छ । 

विद्यार्थी नानीहरूले रातो, सेतो, हरियो, कालो रिबनले कपाल बाटेर/बाँधेर पढ्न जाने चलन आधुनिक नेपालको प्रादुर्भाव भएपछि नै सुरु भएको हो । गाउँघरका चेलीबेटी फुर्के धागोले नै कपाल चुल्ठी पारेर मेलापात गर्थे । तिजका बेलामा पनि आफूसँग भएकै धागोले कपाल बाटेर सङ्गिनी नाच्थे । सङ्गिनी नाचेको हेर्नेहरूको साँझ परेपछि घुइँचो लाग्थ्यो । दर खाने दिनमा घरमा नै ढकने, खिर, घिउभात, दहीदुध, काँक्राको सिखर्नी, अचार बनाएर खाने चलन थियो । अहिले जस्तो एक महिना अघिदेखि होटल होटल चहारेर पटकौँ पटक दर खाने र व्रतको अघिल्लो दिन माछामासु खाने चलन थिएन ।

संसारका यावत् गतिविधि मोबाइल इन्टरनेटको सुविधाका कारण हातहातमै देख्न, सुन्न पाइन्छ । गत सालको तिजअघि पनि सामाजिक सञ्जालमा भाइरल बन्यो – अलिक फरक प्रकृतिको कपाल बाट्ने फुर्के धागो । भाइरल भएपछि यो धागोको नाम नै ‘भाइरल धागो’ रह्यो । यो धागो विभिन्न रङमा बन्यो । अनि फेसनका पारखीहरूलाई त्यही चाहियो । 

सहरबजारमा भाइरल धागोले माग धान्न सकेन । फलतः घरमा बिनाकाम बसिरहेका आमा, दिदी, बहिनीहरू पनि आवश्यक सरसामान जुटाएर आआफ्नै तरिकाले भाइरल धागो/डोरी बनाउन थाले । आफूले बनाउने गरेको फुर्के धागो, पङ्खे धागोलाई समेत छेउ लगाएर भाइरल धागो नै उत्पादन गर्न थाले दमौली, स्याङ्जाका धागो बनाउने कर्मीहरूले पनि । अनि आफ्नो सिप, लगानी अनुसार आफूखुसी मूल्य निर्धारण गर्न थाले । 

धरानमा उत्पादन भएको भाइरल धागोको थोक मूल्य पचहत्तर रुपियाँ थियो भने काठमाडौँमा उत्पादन भएको चाहिँ पचासी रुपियाँ । त्यस्तै चेलीबेटीले घर बसेर आफूखुसी बनाएको आफ्नै सिप प्रयोग गरेका धागोहरू सस्तोमा एक सय बिसदेखि तीन सय रुपियाँसम्म तोकियो ।

सामान्य धागोमा धागो पनि पातलो, छोटो र बनावट पनि सामान्य हुन्थ्यो । यसको मूल्य पनि सस्तो थियो । धागो बाक्लो, मोटो, लामो राखेर नौ वटासम्म फुर्का झुन्ड्याएको धागो चाहिँ महँगो पथ्र्यो । हेर्दा पनि आकर्षक र देख्नासाथै आहा ! भन्ने खालको थियो । यस्तो धागो बजारमा देखा परेपछि फेसनका पारखीहरूले आफ्नो क्रयशक्ति अनुसारको धागो लगाउँछन् । अनि चाडपर्वमा नाचेर रमाइलो गर्छन् ।  यसपालि पनि भाइरल धागोले कस्मेटिक पसल भरिँदै छ । भाइरल धागो स्वदेशमा त लगाउने नै भए, विदेशतिर बसेका नेपाली चेलीबेटीले पनि लैजाने गरेका छन् । पोखरा चुरुङ्गा निवासी कस्मिरा गौतमले एक कोरी (२० वटा) धागो न्युजिल्यान्ड लगेर उतै तिज मनाउने निधो गर्नुभएको छ । 

त्यस्तै पोखरा छोरेपाटनकी सेलिसा बरालले अमेरिकाको टेक्सास राज्यमा आफू र आफ्ना साथीसँगीलाई बाँड्न भनेर १५ वटा धागो खरिद गर्नुभएको छ । फाट्टफुट्ट यसरी धागो खरिद गरेर लानेहरू धेरै छन् । विदेशमा जताजता नेपाली चेलीबेटी बसेका छन्, त्यतै साथीसँगी मिलेर चाडपर्व मनाएर रमाइलो गर्ने गर्दछन् । बजारमा भाइरल धागो चलेपछि पुराना फुर्के धागो, पङ्खे धागो, रेशमी धागोहरू बिक्री हुनै छाडेको पोखरा नयाँ बजारकी विष्णुदेवी बराल बताउँछिन् ।

बजारमा नयाँ सामान उत्पादन हुँदा पनि मान्छेले रोजगारी पाउँदा रहेछन् । पोखरा बजारमा छेउछाउका गाउँबाट पढ्न बसेका चेलीबेटीमा धागो÷डोरी निर्माण गर्ने सिपको विकास भएको छ । यसले ती जाँगरिला हातलाई सामान्य पकेट खर्च चल्ने गरेको छ । सिप र जाँगर छ भने मान्छे बिखर्ची भएर भोकै बस्नु पर्दैन । भाइरल धागो कतिपयका लागि हातमुख जोड्ने कामसमेत बनेर देखा परेको छ ।