• १३ मंसिर २०८१, बिहिबार

रास्काेटमा खाद्यान्न अभाव

blog

प्रेमराज सिम्खडा

कालीकोट, भदौ ७ गते । कालीकोट जिल्लाको रास्काेटमा खाद्यान्न अभाव भएको छ । नगरपालिकाले नगरमा चामल ढुवानी नगरेपछि रास्काेटमा चामल अभाव भएको हो ।  

खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड र हिम्चुली कृषि सहकारी संस्था बीचको सहकार्यमा आपूर्ति गर्दै आएको सरकारी अनुदानको खाद्यान्न नगरपालिकाले आफैं ल्याउने निर्णय गरे पनि आपूर्ति नगर्दा खाद्यान्न सङ्कट भएको छ । 

पहिलेदेखि हिम्चुली कृषि सहकारी संस्थाले चामल ढुवानी गर्दै आएको थियो । केही समय अगाडि नगरपालिकाले सहकारीलाई चामल ल्याउन नदिने निर्णय गरेसँगै नागरिक चामल पाउनबाट वञ्चित भएका छन् । चामल अभाव हुँदा अन्य व्यापारीबाट महँगाे मूल्य तिर्न उपभोक्ता बाध्य छन् । 

नगरपालिका प्रमुख धर्मराज शाहिले नगर सरकार सक्षम भएकाले आफैं ल्याउने निर्णय गरेको बताउनुभयो । कुनै अरू कारण छैन सरकारले साझेदारी गर्न खोजेको उहाँले बताउनुभयो । यता हिम्चुली कृषि सहकारी संस्थाका सूचना अधिकारी रूपेन्द्रबहादुर ऐडीले नगरले निर्णय गरे पनि आफूहरू ढुवानीका लागि तयार रहेको तर खाद्य तथा व्यापार कम्पनी लिमिटेडमा चामल नभएका कारण परिपूर्ति गर्न नसकेको बताउनुभयो ।  

सूचना अधिकारी ऐडीले नगर आफैं ल्याउने निर्णय गरेको साँचो हो, तर आफ्नो सहकारीले पहिले नै सम्झौता गरेकाले कसैले निर्णय गर्दैमा रोकिने अवस्था नभएको सुनाउनुभयो ।