• २२ वैशाख २०८१, शनिबार

सवारीसाधन ट्राफिक कारबाहीमा

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, भदौ ७ गते । एक महिनाको अवधिमा ५२० वटा सवारीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी कारबाहीमा परेका हुन् । सवारी कारबाही तथा जरिबानाबाट तीन लाख ६२ हजार रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्र बस्नेतले बताउनुभयो । यसरी कारबाहीमा पर्ने सबैभन्दा बढी २९९ वटा मोटरसाइकल रहेका छन् । जिप-कार १६५, ट्रक २७ र १० वटा यात्रुवाहक बस, ट्याक्टर सात, टिप्पर छ र छ वटै अटो-टेम्पो कारबाहीमा परेका छन् । 

साउन महिनामा जिल्लाको विभिन्न छ स्थानमा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जना घाइते भएको बस्नेतले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले साउन महिनामा ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।