• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिद्वारा गौरा पर्वको शुभकामना

blog

काठमाडौँ, भदौ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वको शुभकामना दिनुभएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपले मनाइँदै आएको छ। सो पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न गौरा पर्वले प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ। 

गौरा पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने गरिन्छ। पर्व मनाउने क्रममा गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैतको माध्यमबाट एकअर्काको दुःखसुख बाँडिन्छ। 

त्यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत गौरा पर्वको उपलक्ष्यमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले विविधतामा एकता मौलिक राष्ट्रिय पहिचान भएको र यस प्रकारको पर्वको धार्मिक, सांस्कृति र ऐतिहासिक महìवलाई सबैले आत्मसात गर्दै संवर्धन र संरक्षणको दायित्व निर्वाह गर्नुपर्ने 

बताउनुभएको छ। यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि एक शुभकामना सन्देश जारी गर्नुहुँदै पर्वको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा भनिएको छ– हिमालय पर्वतीय शृङखला अन्तर्गत ऐतिहासिक रूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्ने छ भन्ने कामना गर्दछु।” 

सन्देशमा गौराले सांस्कृतिक ओजलाई झनै बढाउने उल्लेख गर्दै यसबाट सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बन्ने बताइएको छ।