• १३ असोज २०८१, आइतबार

बासी तेलकाे पुन:प्रयोग हानिकारक

blog

बासी तेल परीक्षण गरिँदै

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ६ गते । झापाको दमकमा विभिन्न खाद्य सामग्री उत्पादन गर्ने उत्पादकहरुले प्रयोग गर्ने तेलमा शुद्धता नरहने गरेको र उनिहरुले तोकिएको मापदण्ड पूरा नगरी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार तेलमा तारेर बनाईने चिप्सलगायतका खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको भेटिएको छ । एउटै तेललाई लामो समयसम्म खानेकुरा तार्न प्रयोग गरिएको भेटिएको छ, उहाँले भन्नुभयो ।

एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने बताइन्छ । एकपटक केही खानेकुरा पकाइसकेको बासी तेललाई बारम्बार प्रयोग गर्नु स्वास्थ्य दृष्टिकोणले राम्रो नभएकाले आफूहरुले यस विषयमा सम्बन्धित उद्योगी तथा व्यवसायीहरुलाई सचेत गराएको पनि खाद्य अधिकृत न्यौपानेले बताउनुभयो ।

‘फ्राइङ ओइल मनिटर’ साथमा लगेर प्रयोग भएको तेल अनुगमन गरिएको जनाइएको छ । यसले खाद्य पदार्थ पकाउन प्रयोग हुने तेलको अवस्था कस्तो छ भन्ने कुराको नापजाँच गर्ने भएकाले अनुगमन स्थलमा नै बुझाउन सजिलो हुने गरेको छ । फ्राइङ ओइल मनिटरले टि.पि.एम अर्थात ‘टोटल पोल भेटिरियल्स’ २५ भन्दा माथि आँउदा हरियो देखाउँछ । 

त्यस्तो अवस्थामा उक्त तेल कुनैपनि खाद्य पदार्थ पकाउनका लागि योग्य छैन भन्ने यकिनका साथ भन्न सक्छौं, उहाँले स्पष्ट पार्नुभयो । चिप्स उद्योग, भुजिया तथा दालमोठ उद्योग, थुक्पा उद्योग र बिस्कुट तथा पाउरोटी उद्योगहरुमा आफूहरुले अनुगमन गरेको उहाँको भनाइ छ ।

आ.व. २०७९/०८० मा १९३ वटा पसल र उद्योगहरुमा अनुगमन गरिएको न्यौपानेले जानकारी दिनुभएको छ । २२ वटा उद्योग, २६ वटा विद्यालयका चमेना गृह, १९ वटा मासु पसल र १२६ वटा पसल अनुगमन गरिएको उहाँले जनाउनुभयो ।

व्यवसाय दर्ता नगरी लामो समयबाट सञ्चालन गरी रहेको र दर्ता भएकाको नवीकरण नगरेको भेटिएको मिति गुज्रिएको सामानहरु फेला परेको उद्योग र होटलहरुमा सरसफाइको कमी रहेको, मुल्य सूचि नराखिएको, इजाजत पत्र नलिई मदिरा विक्री वितरण गरिएको भेटिएको उहाँले जानकारी दिनुभयो । खाद्य रङको मात्रा र मापदण्ड नबुझिकन प्रयोग गरिएको भेटिएको पनि न्यौपानेले बताउनुभयो ।