• २२ असार २०८१, शनिबार

सांसद डा.चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा जलन उपचार कोष स्थापना

blog

काठमाडौँ, भदौ ६ गते । विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा. चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी दिनुभयो । उक्त कोषमा सांसद भण्डारीले एक लाख १०५ रुपियाँ प्रदान गर्नुभएको छ । 

विभागका प्रमुख डा. नकर्मीका अनुसार जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो । सामाजिक सेवा एकाइमार्फत कीर्तिपुर जलन अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गर्ने गरी कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट विपन्नको उपचार गरिने छ । 

उपकरण हस्तान्तरण

यसैबिच जापान सरकारको सहयोगमा साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितिमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । जापान सरकारको अनुदान सहायता अन्तर्गत गम्भीर रूपमा जलेका बिरामीका लागि चिकित्सा उपकरण सामग्री सहयोग गरिएको हो । 

जापान सरकारले जलेका बिरामीको शल्यक्रियाका लागि दुई वटा भेन्टिलेटर र एउटा अटोलोगस स्किन ग्राफ्ट एक्सपेन्डर उपलब्ध गराएको थियो । कार्यक्रममा राजदूत किकुताले परियोजनामा ​​संलग्न सबैको प्रयासका लागि बधाई तथा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले गम्भीर रूपमा पोलेका बिरामीलाई जटिलताबाट बच्न तत्काल विशेष उपचार महत्वपूर्ण हुने भएकाले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा गम्भीर रूपमा जलेका बिरामीको उपचार गर्न सक्ने सीमित अस्पताल भएकाले समस्या हुने गरेको छ ।