कालीकोट समाचारदाता
कालीकोट भदौ ५ गते । राष्ट्रिय प्रसारण लाइन पुगेको दुई वर्ष भए पनि कालीकोटवासीले नियमित बत्तीको उज्यालो भने पाउन सकेका छैनन् । दिनमा जे जसो भए पनि रातको समयमा ढुक्कले बत्तीको उज्यालो कहिले मिल्छ भनेर यहाँका नागरिक पर्खाइमा छन् ।
रास्कोट नगरपालिका–२ की निर्मला रोकालाई कक्षा १२ को एउटा विषय लागेको छ । त्यसको पूरक दिनका लागि तयारी कक्षा लिन मान्म आएको एक हप्ता भयो ।
तयारी कक्षा पनि बिहान ४ बजे र साँझ ६ बजे राख्दा बत्तीकै अभावले पढ्न पाउनुभएको छैन । घरमा पढ्न पाइँदैन भनेर सदरमुकाम मान्म पुगेका निर्मला जस्तै धेरै विद्यार्थी उज्यालोको पर्खाइमा रातदिन बिताइरहेका छन् । अनिश्चित लोडसेडिङले गर्दा नियमित विद्यालय जाने विद्यार्थीले समेत गृहकार्य पूरा नगरेरै बस्नु परेको छ । खाँडाचक्र नगरपालिका–३ की शर्मिला शाहीको बेलुका पढ्ने बानी पनि हटेको छ। बेलुका पढ्न नपाएको त दुई महिना भइसक्यो ।
शर्मिलाले भन्नुभयो, “साँझमा बत्ती आउन छाडेको धेरै भयो । अँध्यारोमै रात बित्छ ।” खाँडाचक्र नगरपालिका–३, ताडीका नवीन पाण्डेले पनि दुई महिनादेखि बत्ती नहुँदा बेलुकी पढ्न नपाएको गुनासो गर्नुभयो । मान्ममा ग्रिल उद्योग सञ्चालन गर्दै आएका कृष्ण खड्काले विद्युत् अभावकै कारण ग्राहकलाई चर्को मूल्य पर्न गएको बताउनुभयो ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई सय रुपियाँ पर्छ । जेनेरेटरमार्फत काम गर्नु परेकाले ग्राहक मारमा परेको सुनाउनुभयो । दुई वर्षअघि सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पु-याइएको राष्ट्रिय प्रसारण लाइन भरपर्दो नहुँदा कालीकोटका नागरिकले सास्ती खेप्दै आएका छन् ।
एक घण्टामा १५/२० पटक बत्ती जाने गरेको छ । कालीकोटको खाँडाचक्र, सान्नीत्रिवेणी र रास्कोटका ९० प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइन पुगेको छ। त्यस्तै नरहरिनाथ, शुभकालिका, तिलागुफा र पचालझरनाका केही वडामा विद्युत् लाइन विस्तारको काम भइरहेको छ तर बत्ती भने चाहिएका बेला बाल्न पाएका छैनन् । उज्यालो दिनकै लागि भनेर विद्युत् प्राधिकरणले यो वर्ष करिब १० करोड रुपियाँ खर्च गरिरहेको छ। कालीकोटस्थित विद्युत् वितरण केन्द्र प्रमुख विमलप्रसाद शाहले राष्ट्रिय प्रसारण लाइनको ३३ केभीको पावर नपुग्दा र सुर्खेतमा अत्यधिक गर्मी हुने भएकाले कालीकोट, जुम्ला र दैलेखको लाइन काट्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कतै लाइन दिनु पर्छ, कतै पोल ढल्छन्, कम क्षमताको ट्रान्समिटर हुँदा पावर पनि पुग्दैन। प्रमुख शाहका अनुसार पिक आवरमा कालीकोट र जुम्लातिर बत्तीको पावर पुग्दैन । प्रमुख शाहले दैलेखको दुल्लुमा कन्ट्रोल हुने भएकाले आफूलाई पनि बत्ती आउने–जाने कतिखेर हुन्छ भन्ने थाहा नभएको बताउनुभयो। जुम्लासम्म ११ केभी मात्र लाइन गएकाले पावरमा समस्या छ । राष्ट्रिय प्रसारणको लाइन पु-याउन मुगुमा पनि टेन्डरको काम भएको विद्युत् कार्यालयले जनाएको छ ।
२०७२ सालको बाढीपहिरोले क्षति पु-याएको कालीकोटको सान्नीगाड साना जलविद्युत् आयोजनाको नहर नबन्दा कालीकोटका केही स्थानीय तहमा अझै पनि विद्युत् सेवा अवरुद्ध छ । पाँच सय किलोवाट क्षमताको मुम्रास्थित सान्नीगाड साना जलविद्युत् केन्द्र मर्मतमा २०७२ यता झन्डै तीन करोड रुपियाँ खर्च भए पनि भत्किएको नहर अझै सञ्चालनमा आउन सकेको छैन । उज्यालोको अभावले कालीकोटका नागरिक साँझ परेपछि छटपटिने गरेका छन् ।