गङ्गाकुमारी मिजार
रसुवा, असार २४ गते । चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मङ्गलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको ठाउँ ठाउँमा बाटो संरचना भत्किएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा १० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्प बनेको छ ।
‘नौदेखि दश ठाउँमा बाटो भत्किएको छ, उद्धार र राहत सम्भव हुन सकिरहेको छैन, अध्यक्ष तामाङले भन्नुभयो । बाढीले टिमुरे र रसुवागढी क्षेत्रमा अत्यधिक क्षति गरेको स्थानीय प्रशासनका पदाधिकारीको भनाइ छ । नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगाइसकेको छ। ड्राइपोर्टमा राखिएका विद्युतीय गाडीहरू बगेका छन्।
उहाँका अनुसार अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ । मौसम अझै प्रतिकूल भएकोले थप उद्धार कार्य जटिल बनेको उहाँले बताउनुभयो ।
स्थानीय बस्तीमा बाढी पसेको छैन, तर खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा गम्भीर क्षति पुगेको बताइएको छ। अध्यक्ष तामाङ अहिले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको बताउनुभयो । माथिल्लो क्षेत्रमा पानी पर्न अझै नरोकिएकाले जोखिम कायमै छ, सबैलाई सतर्क रहन उहाँले आग्रह गरिएको बताउनुभयो ।