सिन्धुली समाचारदाता
खुर्कोट (सिन्धुली), असार २५ गते । गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पहिरो र कटानका कारण यात्रा गर्दाको जोखिम कायमै रहेको छ । बाढीपहिरो गएको झन्डै एक वर्ष हुन लाग्दा पनि ६० किलोमिटर लम्बाइको खण्डमा सुनकोशी नदीले कटान गरेको सडक मर्मत भएको छैन । नदीले एक दर्जनभन्दा बढी ठाउँमा सडकमा थुपारेको पहिरो पन्छाउने काम पूर्णरूपमा नहुँदा यात्राको जोखिम कायमै रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भागसहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्की सडकका कारण यात्रा सहज रहेको उक्त सडकका विभिन्न ठाउँमा बाढीपहिरोले भत्काएर असुरक्षित बनाएको हो । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाउँपालिकाको सुनकोशी नदीको किनार हुँदै निर्माण भएको छ ।
स्थानीयका अनुसार गत वर्ष असोज ११ र १२ को बाढीपहिरोबाट खुर्कोट–घुर्मी खण्डको विभिन्न स्थानमा सडक भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारी साधन सञ्चालनमा कठिनाइ छ । बाढीपहिरोले उक्त खण्डको बलेनी, मुर्कीबेँसी, कुखुरेटार, कालीआँप, च्याकुटार, सोखुबेँसीलगायतका स्थानमा बढी क्षति गरेको छ । मध्यपहाडी सडक आयोजनाले गत जेठको पहिलो हप्तामा ठेक्का लगाई बढी क्षति भएको र अत्यावश्यक ठाउँमा सडक मर्मत सुरु गरे पनि काम अझै सकिएको छैन ।
फिक्कल गाउँपालिकाको सोखुबेँसीमा बाढीले झारेको झन्डै दुई सय मिटर सडक मर्मतको काम सुरु गरिएको थियो । उक्त नदीमा पानीको सतह बढ्नेबित्तिकै काम रोकिएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गका ठाउँ ठाउँमा गएको पहिरो एकतर्फी यातायात सञ्चालन हुने गरी पन्छाइएको छ, पूरै पन्छाइएको छैन । उक्त आयोजनाको ठेक्का लगाएर काम भएको ठाउँमा माटो पुर्नुपर्ने भएकाले त्यहाँ पन्छाएको तर अन्यत्र पन्छाइएको छैन ।”
पहिरो पन्छाउन दुई दिनअघि मात्रै आफूले आयोजना प्रमुखसँग कुरा गरेको तर पन्छाउने काम नभएको उहाँले सुनाउनुभयो । खुर्कोटदेखि घुर्मीसम्मको करिब ६० किलोमिटर सडकखण्डमा दर्जनौँ ठाउँमा माथिबाट पहिरो खसेको छ भने धेरै स्थानमा सुनकोशीले राजमार्ग कटान गरेको छ । पहिरो पन्छाउने र कटान भएका स्थानमा पुनर्निर्माण गर्ने काम पूर्ण रूपमा हुन नसक्दा दुर्घटनाको जोखिम झन् बढेको छ । गोलन्जोर गाउँपालिकामा सुनकोशी नदीको बाढी र राजमार्गको माथिबाट आएको पहिरोले हैबार, बेलेनी, मुर्किबेँसी, कुखुरेटार, कुडुलेलगायतका स्थानमा क्षति भएको छ । सडक आयोजनाले बलेनी र मुर्किबेँसीमा सुनकोशी नदीले कटान गरेको सडक मर्मतबाहेक अन्यत्रको पहिरो पूर्ण रूपमा पन्छाउने काम नगरेको स्थानीयको गुनासो छ ।
गोलन्जोर गाउँपालिका–२ का अध्यक्ष दौलत कार्की सडक आयोजनाले एकतर्फी गाडी सञ्चालन हुने गरी मात्रै पहिरो पन्छाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाढीपछि राजमार्ग निकै जोखिमपूर्ण बनेको छ । बर्खा लागेसँगै खुर्कोट–घुर्मी खण्डको यात्रा त्रासपूर्ण छ । पानी पर्नेबित्तिकै माथिबाट कतिखेर पहिरो आएर सडकमा थुप्रिने हो, ठेगान हुन्न ।” सडकको बिग्रँदो अवस्थाका कारण सवारी साधन तथा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । खुर्कोट–घुर्मी खण्डको यात्रा भगवान् भरोसा रहेको उहाँले बताउनुभयो ।
यता मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापले उक्त खण्डमा सहयोगी कन्ट्रक्सन प्रालिले जेठको पहिलो सातामा भ्याटसहित करिब १० करोड रुपियाँमा ठेक्का सम्झौता गरी गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतको काम भइरहेको जनाएको छ । उक्त कार्यालयका डिभिजन प्रमुख विदुर पौडेलका अनुसार वर्षाअघि काम गर्नैपर्ने ठाउँमा सडकको मर्मत सुरु गरिएको हो । उहाँले भन्नुभयो, “क्षतिग्रस्त ठाउँमा तारजाली हालेर ग्याभिङ र प्लम्ब वाल लगाएर मर्मतको काम भइरहेको छ ।”