• १४ मंसिर २०८१, शुक्रबार

इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र बन्ने

blog

इलाम नगरपालिका-१ साँखेजुङमा स्थापना गर्न लागिएको चिया तथा अलैंची अनुसन्धान केन्द्रको जग्गा निरीक्षण गर्दै नेपाल कृषि अनुसन्धान परिषद् र इलाम नगरपालिकाको टोली ।

कोकिला ढकाल

इलाम, भदौ ४ गते । इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको हो । 

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरि कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको इलाम नगरपालिकाले जनाएको छ। कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्याएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिनुभयो । यो रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण हुनेछ । दुलालका अनुसार अब ५२ रोपनी जग्गा अनुसन्धान केन्द्रका लागि दाताहरुले उपलब्ध गराउने कार्य भइरहेको छ । आगामी कात्तिक महिनासम्मको उक्त जग्गा पनि केन्द्रका नाममा आइसक्ने बताइएको छ । 

इलाममा स्थापना गर्न लागिएको यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ । सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्छ, यो कार्यालयले चाहिँ अनुसन्धानको काम गर्छ । धनकुटास्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर हिमाल तिम्सिनाले भन्नुभयाे, “अहिलेसम्म नेपाली चियाको जात छैन, नेपाली अलैंचीको पाँच वटा जात बल्ल दर्ता भएको छ । अझै अन्य जातको अनुसन्धान हुनै बाँकी छ ।” यो कार्यालय इलाममा स्थापनापछि चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने तिम्सिनाले बताउनुभयो । 

डाक्टर तिम्सिनासहित इलाम नगरपालिकाको एक टोलीले साँखेजुङस्थित अनुसन्धान केन्द्रका लागि व्यवस्थापन गरिएको जग्गाको निरीक्षण गरेको छ । त्यसोत विसं १९२० मा रोपण सुरु गरिएको चियाको भने अहिलेसम्म नेपालको आफ्नै जात छैन । “चिया रोपेको ६० वर्षपछि आफ्नो जात दर्ता गर्न पाइन्छ । तर १६० वर्ष पुग्दा पनि नेपाली चियाको जात बन्न सकेको छैन,” डाक्टर तिम्सिनाले भन्नुभयो, “अहिले हामी चियाको आफ्नै जात बनाउन पनि लागिरहेका छौं । अब प्रस्तावना तयार गरेर नयाँ जातको दर्ताका लागि अघि बढ्नेछौं ।”

चिया र अलैंचीका लागि इलाम महत्वपूर्ण रहेकाले अनुसन्धान केन्द्र पनि इलाममै स्थापना हुँदा नेपाली चिया र अलैंचीका लागि चिया र अलैंचीको अध्ययन, अवलोकन र अनुसन्धान गर्नेहरुलाई समेत सहज हुने बताइएको छ ।