• १३ मंसिर २०८१, बिहिबार

बराहताल र पञ्चपुरीमा लालपुर्जा वितरण

blog

नविन सुबेदी

सुर्खेत, भदौ ३ गते । सुर्खेतको बराहाताल गाउँपालिका वडा नम्बर ५ का एक सय ८४ जनालाई लालपुर्जा वितरण गरिएको छ । शनिबार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता तथा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको विशेष आतिथ्यतामा पुर्जा वितरण गरिएको हो ।

बराहतालमा करिब ५ हजार भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासी छन् । बराहताल गाउँपालिका अध्यक्ष भीम बहादुर भण्डारीका अनुसार यसअघि तीन सय ५० जनालाई पुर्जा वितरण गरिएको थियो भने अब ८ सय जनालाई पुर्जा वितरण गर्ने तयारी रहेको छ । 

शनिबार भूमि आयोग सुर्खेत र बराहताल गाउँपालिकाको समन्वयमा पुर्जा वितरण गरिएको हो । अन्य वडाहरूमा पनि पुर्जाको काम भइरहेको बराहताल गाउँपालिका अध्यक्ष भीम बहादुर भण्डारीले जानकारी दिनुभयो । यस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिकाले नगरपालिकाभित्र भएका जग्गा धनीहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । चौँथो चरणमा साबिक सालकोट ८ (झ) र ८ (ञ), साबिक बाबियाचौर ४ (क) र (ख) सिटमा पर्ने ३ सय २७ जनालाई पुर्जा वितरण गरिएको हो ।

पुर्जा वितरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीले जग्गाको मालिक बनाउनका लागि सरकार लागि रहेको यो काम निरन्तर रहने बताउनुभयो । जग्गा धनी प्रमाण पुर्जाबाट जग्गाधनीले अब आफ्नो कुनै योजना बनाउँदा कारोबार गर्दा थप सहज हुने समेत बताउनुभयो । शाहीले आफू कर्णाली सरकारमा सहभागी रहेको हुँदा पश्चिमको समग्र विकासमा पहल गरिरहेको समेत उल्लेख गर्नुभयो ।  

नगरपालिकाले २०२८ सालमा नापी भएका तर जग्गा धनी प्रमाण पुर्जा नपाएकाहरुको लागि चौँथो चरणसम्म ६ सय ६१ वटा पुर्जा वितरण गरिसकेको छ । पञ्चपुरीको वडा नं. ४, ५, ६ र ११ प्रक्रिया पुरा भएका जम्मा ६ सय ६१ जनालाई वितरण गरिएको र अन्य वडामा पनि निरन्तर काम हुने पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिनुभयो । सुर्खेतमा वीरेन्द्रनगर बाहेक अन्य पालिकाहरूमा धमाधम पुर्जा वितरण भइरहेको छ ।