• ११ साउन २०८१, शुक्रबार

काभ्रे अदालतमा बढ्दो सम्बन्ध विच्छेदका मुद्दा

blog

फाइल तस्बिर

केदार तिमल्सिना  

काभ्रेपलाञ्चोक, भदौ २ गते । काभ्रेपलान्चोकमा पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बढ्दैगएको छ । शारीरिक तथा मानसिक यातना दिएको तथा खान लगाउन नदिएको वा घरबाट निकाला गरेको लगायतका विभिन्न कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्ने विवाहित जोडिएको सङ्ख्या बढेको काभ्रेपलाञ्चोक अदालतको तथ्याङ्कले देखाएको हो । 

अदालतका सूचना अधिकारी अप्सरा चापागाईँले पछिल्ला केही वर्षदेखि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको बताउनुभयो । उहाँले अदालतमा आर्थिक वर्ष २०७६/७७ देखि आ.व. २०७९/८० सम्ममा बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दैगएको बताउनुभयो । 

अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा अदालतमा सम्बन्ध विच्छेदका २९३ मुद्दा दर्ता भएको थियो भने आ.व. २०७७/७८ मा ३८८ वटा, आ.व. २०७८/७९ मा ६ सय र गत आ.व. २०७९/८० मा अदालतमा ६५९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । 

सूचना अधिकारी चापागाईँले अदालतमा सम्बन्ध विच्छेदका लागि आउने जोडीहरूका भित्री कारण जे–जे भए पनि अधिकांशले शारीरिक तथा मानसिक यातना दिएको, खान, लगाउन नदिएको तथा घर निकाला गरेको कारण सम्बन्ध विच्छेद्य गर्न लागेको उत्तर आउनेगरेको बताउनुभयो । 

उहाँले अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये आ.व. २०७६/७७ मा अदालतमा दर्ता भएका मुद्दामध्ये २०४ वटा, आ.व. २०७७/७८ मा २७२ वटा, आ.व. २०७८/७९ मा ४५३ र गत आ.व.मा ५३८ वटा मुद्दाको फर्स्यौट गरेको बताउनुभयो । अदालतमा बर्सेनि सम्बन्ध विच्छेदको मुद्दाको चाप बढेपछि दुई वर्षअघि जिल्ला अदालतले आ.व. २०७४/७५ देखि २०७७/७८ मा अदालतमा दर्ता भएका एक हजार ६ वटा मुद्दाको अध्ययन गरी सम्बन्ध विच्छेद्य गर्नुको कारण, सम्बन्ध विच्छेदको मुद्दा फर्स्यौटको अवधि, सम्बन्ध विच्छेद्य गर्ने महिला–पुरुषको अनुपात, उमेर समूह, जातजातिको स्थिति, नाबालकको संरक्षणको काम लगायतको बारेमा अध्ययन गरेको थियो । 

दुई वर्षअघि अदालतले गरेको अध्ययनले विशेषगरी शारीरिक तथा मानसिक यातना दिएको, खान लाउन नदिएको, घरबाट निकाला गरेको, अन्य महिला तथा पुरुषसँग यौन सम्बन्ध राखेको तथा पत्नीलाई जबरजस्ती करणी गरेको कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्नेगरेको देखाएको थियो ।

पछिल्लो समय सम्बन्ध विच्छेदको अर्को कारणको रूपमा वैदेशिक रोजगारी पनि रहेको पाइएको छ । वैदेशिक रोजगारीका श्रीमान् वा श्रीमती गएपछि श्रीमानले अर्को श्रीमती ल्याउने तथा श्रीमती अर्कै केटासँग विवाह गरेर जाने गरेका कारण पनि सम्बन्ध विच्छेद्य हुनेगरेको अदालतका प्रतिनिधिहरूको भनाइ छ ।