• ३ जेठ २०८२, शनिबार

दुधकुण्डको दर्शनार्थी बन्दा

blog

रदेखि तलतिर दुधको रङ घोलेर बगिरहने दुधकोशीले खोटाङ र सोलुखुम्बुलाई छुट्याएको छ । आँगनबाट सोलुखुम्बुका नेचा, सल्यान, काँगेल, पञ्चन, मुक्ली, रनेम प्रस्टै देखिन्छन् । त्यसैको शिरमा एउटा हिमाल हाँसिरहन्थ्यो । जुनेली रातमा चम्किरहने हिमाल देखेर रमाइलो लाग्थ्यो । बिहानीपख घामको पहिलो लाली पोतेर मुस्कुराइरहने हिमाल हेरेर दिनचर्या सुरु हुन्थ्यो । हिउँदको समयमा हिमाललाई छोएर आउने बतासबाट बच्न बाक्लो बर्को ओढ्थ्यौँ । त्यही हिमाल हेरेर गाउँमा मिमी÷बेबे (हजुरबुवा÷हजुरआमा) ले हिउँदमा घाम लाग्ने÷नलाग्ने र बर्सात्मा पानी पर्ने÷नपर्ने पूर्वानुमान लगाउँथे । त्यो हिमालको नाम मलाई थाहै थिएन । त्यो हिमाल मैले भोगेको समय र बाँचेको सिङ्गो परिवेशको साक्षी थियो । 

पहिले खोटाङको रिब्दुङ (साबिकको महेश्वरी र जलेश्वरी गाउँ विकास समिति) सोलुखुम्बुमै पथ्र्यो । हिजोआज खोटाङमा पर्छ । म सानो छँदा बुवाले भन्नुहुन्थ्यो, “सोलुखुम्बुको नाम्चे प्रसिद्ध बजार हो । धेरै विदेशी घुम्न र हिमाल चढ्न त्यही बाटो जान्छन् । ऐँसेलुखर्क खोटाङकै प्रसिद्ध व्यापारिक केन्द्र । जहाँ अर्खौलेको सुँगुरका पाठा, बुइपाको भाँडाकुँडा, रावाखोलाको चामल, सोक्माटारको सुर्तीदेखि स्थानीय उत्पादन सङ्कलन गरिन्थे । सङ्कलित सामान नाम्चे बजारसम्म पु¥याइन्थ्यो ।” 

बेलुकीको खाना खाइसकेपछि टुकीको उज्यालोमा ‘होमवर्क’ गर्नुअघि आगो ताप्दै बुवाले भन्नुभएको कुरा चासोसाथ सुन्थेँ । त्यतिबेला स्कुल नभएका कारण बुवाले पढ्न नपाएको गुनासो गरिरहनुहुन्थ्यो । बुवाको कुरा सुन्दा ननिको लाग्थ्यो । मैले पढ्ने मौका पाएँ । स्कुल र कलेजको पढाइ सकिएपछि केही समय स्कुलमा काम गरँे । त्यसपछि निजामती सेवामा प्रवेश गरेँ । यसै सिलसिलामा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भयो । जिम्मेवारी पूरा गर्ने व्रmममा सोलुखुम्बुको पुरानो सदरमुकाम सल्लेरी बजार पुगेपछि थाहा भयो, मेरो घरको आँगनबाट देखिने हिमालको नाम नुम्बुर रहेछ । सल्लेरीबाट नुम्बुर झनै नजिक देखिँदो रहेछ । 

प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल दुधकुण्ड पोखरीबारे पहिल्यैदेखि सुनेकी थिएँ । सोलुखुम्बु पुगेपछि खुम्बु क्षेत्र र दुधकुण्ड पुग्न सबैले सुझाउँथे । जनैपूर्णिमाको अवसर पारेर दुधकुण्ड पुग्ने उपयुक्त समय जु¥यो । 

आवश्यक सामग्री, केही थान कपडा, टिमुर, लसुन, भुटेको मकै झोलामा बोकेर उत्साहसाथ दुधकुण्डको यात्रा सुरु ग¥यौँ । यात्रामा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुख गान्धीमाया तामाङसहित कार्यालयका केही स्टाफ थियौँ । यात्रामा स्वास्थ्य कार्यालयका प्रमुख र निमा याङ्जी थपिनुभयो । हिमाल, पहाड, तराई, पूर्व, पश्चिमका सबै जातजाति मिसिएको समावेशी समूह बन्यो । सल्लेरीबाट ५ बजे हिँडेका हामी डेढ घण्टा गाडीको यात्रापछि सोलुदुधकुण्ड नगरपालिका–१, टाक्सिन्दुडाँडाको रिङ्ममुमा बास बस्यौँ । टाक्सिन्दु डाँडाबाट लुक्ला र दुधकुण्ड जाने बाटो छुट्टिन्छ । 

बिहान सुच्या (हिमाली भेगमा पाइने उवा, नुन, चौँरीको नौनी घिउ मिसाएर बनाइएको चिया) र चम्बा (मकैको पिठो) खाएर ५ः३० बजे गन्तव्यतर्फ लाग्यौँ । रिङ्ममुबाट तेर्सो हिँडेपछि थोरै ओरालो अनि सानो खोल्सी तरेर सरकारी पाटी पुगेपछि सुरु हुन्छ– कामुडाँडासम्मको उकालो ।

उकालो जति हिँड्दै गयो, उति ससाना डाँडा, थुम्की र अझै उकालो पहाड थपिँदै जान्छन् । बाटोको दायाँबायाँ एकैनासे लौठसल्ला, धुपी र लालीगुराँस । उकालोमा गार्माको शेर्पा दाइहरूको समूहले गीत गाए । हामीले पनि थप्यौँ । गीत गाउँदा बाटो काट्न सहज भयो । जङ्गलको यात्रा सकिएपछि कामुडाँडा पुगिन्छ । यहाँको एक होटेलमा खाना खानेको भिड देखियो । कामुडाँडामा खाना खाएर पुनः यात्रा थाल्यौँ । थोरै उकालो हिँडेपछि बाटो तेर्सिन्छ । तेर्सो बाटो काटेर थोरै ओरालो हिँडेपछि जम्लेखोला त¥यौँ । चार घण्टा हिँडेपछि सानो बेनी पुगिन्छ । सानो बेनी पुगेपछि बुट्यान र झाडी मात्रै देखिन्छन् । पाँचऔँले, पदमचाललगायत धेरै थरीका लेकाली जडीबुटी भेटिन्छन् । बाटोको बिचबिचमा धामीको हुल भेटिइन्छ । सेतो जामा र टाउकोमा सेवरी 

(दुम्सीको काँडाबाट बनेको शिरमा लगाउने पगरी) पहिरिएर खाली खुट्टा हिँड्दै, ढोलझ्याम्टाको तालमा लय हालेर धामीहरू गाउँछन्– सोई राजा सोई सोई... सोई रानी सोई सोई... 

बाटोको दायाँबायाँ फुलेका रङ्गीचङ्गी जङ्गली फूल । छङछङ बगिरहेको छहरा । झ्याउँकिरीको एकोहोरो सङ्गीत । पाखाभरि चरिरहेका चौँरी । न चिसो न गर्मी मौसम । डाँडाभरि एकनासका धुपी देख्दा कुशल मालीले बनाएको सुन्दर बगैँचा झैँ लाग्छ ।  सानो बेनीबाट तेर्सो लागेपछि लहरै ठडिएका ढुङ्गाको पहाड छिचोलेर एक घण्टाको यात्रापछि ४ बजे सहस्रबेनी पुग्यौँ । चार हजार ३० मिटर उचाइमा रहेको सहस्रबेनी तेर्सो बाटोको अन्तिम विन्दु हो । त्यसपछि दुधकुण्ड पोखरीसम्म उकालैउकालो हिँड्नु पर्छ । सहस्रबेनीमा ससाना दुई÷तीन वटा अस्थायी होटेल छन् । सहस्रबेनीबाट उकालो हिँड्न नसक्नेका लागि भाडामा घोडाको सुविधा छ । हिँड्न नसक्ने बुढाबढी घोडा चढेर उकालिँदै थिए त कोही ओरालिँदै । हाम्रो टोली हिँडेरै पुग्ने निधोसाथ उक्लियो । उक्लिँदै जाँदा खुट्टा लुला हुँदै गए । ज्यान भारी । पहिले जङ्गलबिच हिँड्नुपर्ने बाटो अहिले ढुङ्गे खुड्किलाले सजिलो छ । उचाइ बढ्दै जाँदा लेक लाग्ने उत्तिकै सम्भावना । हल्का टाउको दुख्ने, हिँड्न गाह्रो हुने र सास छिटो छिटो हुन्थ्यो । लेक लाग्नबाट बच्न लसुन, भुटेको मकै, सातु र चकलेट खाँदै हिँडिरह्यौँ । छिटो हिँड्दा र धेरै बोल्दा गाह्रो हुने भएकाले आराम गर्दै उक्लियौँ । तीन घण्टा उक्लिएपछि भुतकुण्ड पुग्यौँ । 

साँझ पर्दै थियो । जति हिँडे पनि नसकिने दम्साइलो उकालो । पुग्न सकिन्न कि के हो भनेर आँट हार्न लागेका बेला नेपाल रेडव्रmस सोसाइटीका आइवीर सर टर्चलाइट बालेर हामीलाई खोज्दै आइपुग्नुभयो । हामी आउँदै गरेको उहाँलाई जानकारी थियो । उहाँले हाम्रो झोला बोकिदिनुभयो । आइवीर सरले भन्नुभयो, “अब धेरै छैन । त्यही डाँडामा हो ।” चढ्नुपर्ने डाँडा हेर्दा नजिक देखिए पनि पुग्न समय लाग्यो । सहस्रबेनीदेखि दुधकुण्डसम्मको उकालो सबैभन्दा कठिन । थकाइले लखतरान भएका बेला रातिको ८ बजेतिर गङ्गाजमुना ताल पार गरेपछि दुधकुण्डको मेला स्थल पुग्यौँ । नुम्बुर हिमालको काखमा फैलिएको सानो मैदानमा छ÷सात वटा अस्थायी वासस्थान रहेछन् । कोही पोर्टेबल टेन्ट टाँगेर बसेका थिए । चिसो मौसम, मानिसको भिडभाड, नाचगानको रमाइलो, गीतसङ्गीतको रौनकले वातावरण रमझमपूर्ण थियो । आइवीर सरले हाम्रो समूहका लागि खाना र बस्ने प्रबन्ध मिलाउनुभयो । मेला स्थल खचाखच थियो । हामी पुगेको केही समयपछि उपप्रमुखसहितको हाम्रो समूहका सबै आइपुग्नुभयो । 

अत्यधिक चिसो भएकाले सिरकले अनुहार ढाकेर सुत्नुपर्ने । त्यसरी सुत्दा अक्सिजन कमी हुँदा उकुसमुकुस हुन्थ्यो । रात बिताउनै मुस्किल प¥यो । जसोतसो चिसो रात कटायौँ । सुनसान रातमा खुलेको आकाश । आकाशै छुने गरी उभिएको नुम्बुर हिमाल आफ्नै शिरमाथि देख्दा मन फुुरुङ्ङ भयो । बिहान ब्युझँदा झलमल्ल घाम लागिसकेको थियो । टाउको भारी र ज्वरो आएको थियो । सायद हल्का लेक लागेको हुनु पर्छ । हामी बसेको ठाउँबाट केही माथि दुधकुण्ड पोखरी थियो । सुरुमा त पोखरीसम्म पुग्न सकिँदैन झैँ लाग्यो तर पुग्यौँ । १० मिनेट दम्साइलो उकालो हिँडेपछि दुधकुण्ड पुग्यौँ । समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको दुधकुण्ड प्राकृतिक छटाले भरिपूर्ण रहेछ । दर्शनार्थीलाई धूप तथा बत्ती बाल्न सजिलो होस् भनेर पोखरीनजिकै सोलुदुधकुण्ड नगरपालिकाले धूपघर निर्माण गरेको रहेछ । सानो धूपघरमा आफ्नो मनोकाङ्क्षा पूरा गर्न बालिएका धूप र दियो बलिरहेका थिए । 

हेर्दा दुध जस्तो सेतो रङको देखिने हुनाले दुधकुण्ड भनिएको यस पोखरीको प्राकृतिक तथा सांस्कृतिक महिमा छ । नुम्बुर र कार्यालुङ हिमालको काखमा रहेको दूधकुण्डमा परापूर्वकालमा भगवान् शिवले तपस्या गरेको किंवदन्ती प्रचलित छ । खोटाङ, ओखलढुङ्गा, रामेछापलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी दुधकुण्ड दर्शनका लागि पुग्छन् । जनैपूर्णिमामा मात्रै होइन, अन्य समयमा पनि दुधकुण्ड पुग्ने बढ्दै गएको स्थानीयको भनाइ छ । 

पोखरीको सुन्दरताको बयान शब्दमा व्यक्त गर्न कठिन छ । पोखरी फन्को मार्दासमेत धीत मर्दैन । बुवाआमा हुनेले पोखरी फन्को मार्न नहुने भनाइ छ । वरिपरि ढुङ्गाले घेरिएको अँध्यारो देखिने कालो पानीले भरिएको दुधकुण्ड जाँदा मात्र हेर्न हुने तर फर्कंदा हेर्न नहुने भनाइ छ । हामीले त्यसै ग¥यौँ । दर्शन गरेर फर्कंदा बिहानको ८ बजिसकेको थियो । थुक्पाको तातो सुप खाएपछि सामूहिक रूपमा फोटो खिचेर ओर्लियौँ । 

उकालोभन्दा ओरालो हिँड्न सजिलो । पाँच घण्टाभन्दा बढी लगाएर उकालो चढे पनि झर्नलाई डेढ घण्टा मात्रै लाग्यो । सहस्रबेनी झरेपछि बिहानको खाना खाएर हिँडेको हामी सानो बेनी, जम्लेखोला, कामुडाँडाको ओरालो हुँदै टाक्सिन्दुडाँडासम्म झर्दा साँझको ७ बजिसकेको थियो । टाक्सिन्दुबाट गाडी चढेर राति १० तिर सल्लेरी पुग्यौँ । 

घुम्नु भनेको गति लिनु हो । गति लिनु भनेको परिवर्तन हुनु हो । घुम्नु भनेको अनुभूति गर्नु हो । आफ्नो देश, भेष, भूगोल, समाज र परिवेश बुझ्नु हो । यसले नयाँ कुरा सिकाउँछ । नयाँ कुरा सिर्जना गर्न मद्दत गर्छ । ज्ञानको आयातन बढाउँछ । मानिसको सोच बृहत् बनाउँछ । मन प्रफुल्ल बनाउँछ । 

नेपालमा कुण्ड, ताल, पोखरी, पहाड र हिमाल प्रशस्त छन् । पर्याप्त र सहज पूर्वाधार निर्माण, पर्यटन संस्कृति विकास अनि चेतना स्तर मात्र उकास्न सके देशको भूगोल, संस्कृति देखाएर हिमाल, पहाड र तराई घुमाएर विश्वमै समृद्ध देशका रूपमा चिनिन सक्छौँ । 

Author

कोपिला राई