बिहानको निस्तब्धता
यी जागेका सूर्यहरू
स्नेहले सम्पोषित छन्
सधैँको जस्तो यो बिहानी
उसका आफ्नै बिलौनाहरू छन्
आफँैसँग
गुनासाहरू छन्
उसको जीवनबाट
अलिकति जीवन हराए जस्तो
वातावरणले आत्मवञ्चना भने जस्तो
एकदम स्वादहीन
त्यो आकाश
उदास उदास थियो ।
निश्चय पनि
केही अतीतहरू छन्– ऊसँग
केही व्रmान्तिहरू छन्– उसँग
त्यो आत्मकथा
कतै रोइरहे जस्तो
कतै स्पन्दनहीन भए जस्तो
वशीभूत छन्
पीडाका छटपटीहरू
म गहभरि भविष्य बोकेर
उसका पृष्ठहरू
पल्टाइरहेको छु
उसका पृष्ठभूमिहरू
केही वृत्ति लिएर
जन्मिएका छन्
म उसलाई
लिपिबद्ध गर्न चाहन्छु
धुलाम्मे उसका चेतनाहरू
फेरि टकटक्याउन चाहन्छु
थोत्रो भएछ एउटा सपना
म मेरो सगरमाथा चढेर
सपनाहीन आकाश हेरिरहेको छु
एउटा सिङ्गो आकाश खोजिरहेको छु ।