• ३ जेठ २०८२, शनिबार

बाटो (कथा)

blog

“जाने हो दिदी ?” 

“जाने भए एउटा सिट खाली छ ।” छेउमा गाडी रोकेर चालकले भन्यो । 

“यो गाडी काँ जान्छ ?” मैले हतार हतार सोधेँ । 

“सिन्धुली,” उत्तर आयो । 

“म उदयपुर जानुपर्ने हो ।” 

“बाटो एउटै हो । खुर्कोटसम्म भेटे चढाइदिन्छु । याँ चिसाँ बाटो कुरेर बस्नुभन्दा हिँड्नु, जाऊँ ।” उसले कर ग¥यो । ड्राइभरछेउको सिट खाली थियोे । म त्यतै लम्किएँ । 

“झोला छ ?” उसले गाडीबाट झर्दै सोध्यो । सायद छतमा राख्नु पथ्र्यो । मैले फाइबरको रातो झोला हातमा देखाइदिएपछि ऊ भित्र पस्यो र भन्यो– भित्रै राख्नु । घाम नओर्लिसकेको बिहान थियो । उज्यालो भएको के भन्नु ? घुर्मैलो उज्यालो मात्रै थियोे । एकसरो शीत ओढेका हरिया रुखमुनि बाटोमा बसेर म घुर्मी जाने सुमोको बाटो हेर्दै थिएँ । कुन बस चढेर जाने भन्ने दुबिधामा बाटोमा उभिएको बेला धुलिखेल अस्पतालको सिधा माथि हामी भेटिएका थियौँ । पुस सकिए पनि माघ सिङ्गै बाँकी थियो । बिहानै जाडो बढी उत्ताउलो भएथ्यो । प्याजी रङको उलनको कुर्ता सुरुवालमाथि घिउ रङको स्वेटर, टाउकोमा उनीको रातो टोपी, कानमा सलको फेरो र खुट्टामा साधारण जुत्तामोजामा म जाडोसँग कुस्ती खेल्दै थिएँ । मैले लत्रिएको सल तानेर कान छोप्दै ऊतर्फ पुलुक्क हेरेँ । खरानी रङको बाक्लो हुडीभित्र बाक्लो हाइनेक, कालो बाक्लो ट्राउजर, कान छोप्ने उनीको टोपी, कालो मास्क, कालो चस्मा । कुनै आवरणले नढाकेको उसको थोरै निधार र नाकेडाँडी मात्रै थियोे । हुन त जाडोमा सबैको हुलिया यस्तै त हुने हो । काभ्रेभन्ज्याङको चेकपोस्ट काट्दासम्म हाम्रो संवाद दोहोरिएन । अलि अघि बढेपछि मेरो मोबाइलमा फोन आयो । मैले घरमा कुरा गरेँ । बेलुकी धुलिखेल अस्पतालमा औषधी किनेर अलि पर बस्ने नातेदारको कोठामा बास बसी बिहान उठेर रोडमा आउँदा फोन नलागेको र पछि बुझ्दा आफू चढ्नुपर्ने गाडी अगाडि नै छुटेकाले अर्को गाडी चढेर खुर्कोटसम्म जाने गरी हिँडेको विवरण सुनाएर फोन राखेँ । मैले ब्यागमा मोबाइल घुसारिनसक्दै एउटा परिचित जस्तो आवाज कानमा ठोक्कियो, “मास्क खोल न ।” 

“हँ किन ?” म झस्किएँ । 

“चिने झैँ लागो ।” 

“चिन्या जस्तो बोली त मलाई पनि लागो ।” मैले भनेँ, “तपाईं पनि मास्क र चस्मा खोल्नु त ।” 

“म कान मात्रै खोल्दिन्छु । आँखामाथिको तिम्रो चोट मैले देखिसकेँ ।” यति भनेर उसले आफ्नो कानको टोपी माथि तान्यो । भकुन्डे नझर्दै म फर्केर झरेँ आफ्नै उमेरको २२ वर्षअघि– 

घर, आँगन, गोठमा 

गल्ली अनि चोकमा 

सन्देश बोकेर 

आइपुग्यो छापामार खुकुरी भिरेर

यो गीतमा नाङ्गो खुकुरी बोकेर नाच्ने अभ्यास गर्दागर्दै छेउको साथी अजल्टिएर लड्यो । उसको हातको खुकुरीको टुप्पो मेरो आँखामाथि जाकियो । निधारको छेउबाट भलभल बगेको रगत मादल बजाइरहेको मिलनले आएर हत्केलाले रोक्यो । उसले घाउमाथि झ्याप्प हत्केला राखेर मलाई छातीमा टाँस्यो । रगतको होली खेल्ने त्यसताकाका मान्छेको छातीमा मुटु कहाँ थियो र ? बन्दुक थियो । भटटट गरेर पड्किरहने तर अचम्म मिलनको छातीमा मुटु थियो । जहाँ प्रेमको धड्कन धुक् धुक् धुक् धुक गरिरहेथ्यो । मैले त्यस दिन घाइते अवस्थामा त्यति नै अनुभव गरेकी थिएँ । हो मिलनको छातीमा मुटु थियोे । एक दिन बाटोमा बारुद बिछ्याएर भाग्ने व्रmममा तुरुन्तै विस्फोट हुँदा उसको देब्रे कानको एउटा चोक्टै उडेर गयो । यसरी युद्धका जिउँदा निसानी बोकेर जीवनयुद्धमा फरक फरक मोर्चा समालिरहेका रहेछौँ हामी । एकअर्कोलाई चिनिसक्दा हाम्रो गाडी रोसी पस्यो । 

“हेर त बाढीको असर !” बगरमा घर्लप्प घोप्टिएको घर देखाउँदै उसले भन्यो । 

“खोलैमा घर बनाएछन्,” मैले जिज्ञासामिश्रित प्रतिव्रिmया दिएँ । 

“होइन बस्तीमा खोलो पसेको ।” 

“माओवादी पसेको बस्ती र खोलो पसेको बस्ती उस्तै हुँदारान् ।” 

“हो नि । दुवैले तहसनहस त पारे नि !” 

“रोसीको बाडीले किनार भत्कायो, युद्धको बाढीले हाम्रो प्रेम भत्कायो ।” म झन्डै झन्डै रोएँ । 

“तिमीलाई जिउँदो देखेर मरेको मेरो प्रेम ब्यँुतियो ।” उसले चस्मा झिक्यो र रुमालले आँखा पुछ्यो । 

“चिया नपिउने आज गुरुजी ?” पछाडिबाट कुनै पेसेन्जर बोल्यो । 

“पिउने अब ।” उसले तुरुन्तै सामुन्नेको होटलमा सुमो रोक्यो । गाडीका मान्छे सबै झरे । केही समय हामी मात्रै भयौँ त्यहाँ तर हेराहेर मात्रै ग¥यौँ । अँगालो हाल्न सकेनौँ । धीत मरुन्जेल हाँस्न पनि सकेनौँ, रुन पनि सकेनौँ । हामी दुरीले जिन्दगीको सबैभन्दा नजिक थियौँ तर अलग अलग थियौँ । हामीबिच कहिल्यै पार गर्न नसकिने दुरी बनाइसकेको 

थियो– समयले । 

“चिया पिउन जाऊँ ।” 

“हुन्छ जाऊँ ।” हामी एउटै टेबुलमा बस्यौँ । चिया पिइरह्यौँ । एकअर्कालाई हेरिरह्यौँ तर कुराकानी गर्न सकेनौँ । किताब फालेर युद्ध पर्चा झोलामा राखी युद्धमा हामी होमिएको दिन ऊ हातमा लामो कट्टी लिएर गोरुका राता फिला काट्दै थियो । दिनदिनै यसरी थपिइरहने योद्धाको अङ्कमा नयाँ थपिएका सबै अनुहार उसलाई वास्ता थियो कि थिएन ? मलाई भने घिन लागेर आयो छि छि छि कस्तो फोहोरी ! गोरु पो काट्दै छ मुर्दा । कमरेड तिर्सनाले हामीलाई हुलभित्र मिसाइन् । त्यो रात मनमा धेरै कुरा खेलेका थिए । भोलिपल्टको रोलकलमा हाम्रो न्वारान भयो । तुलसी विक ‘कमरेड हिमलता’ भई । भागीरथा भुजेल ‘कमरेड जलजला’ भई । म मालती अधिकारी ‘कमरेड माया’ भएँ । हाम्रो नाम फेरियो । हाम्रो काम फेरियो । त्यस दिनदेखि कक्षाकोठाको अन्तिम बेन्चमा बसेर हाई काड्दै अल्जेब्रा पढाइरहेका सरलाई झेल्नु परेन । च्वार्र किताब च्यातेर हिँडेका हामी ध्वार्र रातो कपडा च्यातेर फेटा बाँध्यौँ र जनमुक्ति सेनाको अग्रभागमा उभिएर स्वरमा स्वर मिसायौँ–

गाउँ गाउँबाट उठ

बस्ती बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ । 

साँच्चै देशको मुहार फेर्न निस्केका थियौँ– हामी । भिमान चौकी हान्न जाँदा हिमलताले चोला फेरी र सहिद भई । बेथानमा आफैँले थापेको एम्बुस पड्कँदा काटिएको खुट्टामा स्टिल फेरेर जलजला आजीवन अपाङ्ग भई । बाँच्ने रहरले बाटो फेरेकी म आज वर्षमा एकसरो आङ ढाक्ने फेर्न सङ्घर्ष गर्दै छु । मैले मनमा यति सम्झिसक्दा मिलनले गाडी स्टार्ट गरिसकेको थियो । 

“नामै कालढुङ्गा रहेछ । हेर त कस्तरी झुन्डिएका घर !” मैले कालढुङ्गाका झुन्डिएका घर नियाल्दै भने । 

“वास्तवमा नाम पनि सोचेरै राख्नुपर्ने रहेछ । नामै कालढुङ्गा, कालै बसे जस्तो ।” उसले सहमति जनायो । 

“नाम जस्तो काम सबै ठाउँमा लागु हँुदैन नि !” 

“यहाँ भयो त ।” 

“त्यहाँ भएन त ।”

“कहाँ ?” 

“हाम्रो प्रेममा । म मिलन, तिमी माया । खै त हाम्रो मायामा मिलन भाको ?” उसले ठट्टा गरे झैँ सत्य कुरा ओकल्यो । 

“सायद लेखान्त होला ।” 

“लेख्ने पनि कस्तो निष्ठुरी रहेछ ।” 

“के लेख्ने ?”

“हाम्रो भाग्य ।”

“तर भेट त भयो नि है बाटोमै भए पनि ।”

“यो भेट भेट होइन नि भिडमा कतै देखिए जस्तो मात्रै हो ।”  “मलाई त सपना जस्तै लाग्यो ।” 

“मलाई त सामान्य लाग्यो । पृथ्वी गोलो छ । बाटो घुमिरहन्छ । बाटोमा एक दिन भेटिनु आश्चर्य होइन नि ।” 

“तिमी जिउँदो चाहिा कसरी भयौ हँ ?” 

“तिमीले छोड्दैमा मरिहाल्नु पर्छ ? कि त्यो तेह्र जनामा तिमी परिनौँ ?” 

“कुन तेह्र जना ?” 

“के त्यो समाचार झुटो थियोे ?” 

“कुन समाचार ?” 

“मरिणमा हामीलाई सेनाले घेरा हालेपछि के भयो सम्झन्छ्यौ ?” 

“सम्झन्छु । किन ?” 

–किनकि तिमी माझी बाकोमा पसेपछि म खोलामा माछा मार्ने भुराहरूसँग मिसिएर दिनभरि खोलातिरै अल्मलिएँ । बेलुका माझी बाको घर जान हिम्मत आएन सेना गाउँमै थियोे । राति जङ्गलमा लुकेर बसेँ । गाउँमा धेरै राउन्ड गोली चल्यो आधा राततिर । अर्को बिहान म भाग्दै सर्लाहीतिर निस्केँ । स्थिति सामान्य नहुन्जेल तिमी त्यहीँ हुन्छ्यौ र म लिन आउँछु सोचेथेँ । अर्को दिन समाचार आयो, मरिणमा सेनाले गाउँका १३ जना छोरीमान्छेलाई बलात्कार गर्दै गोली हानेर मार्दै ग¥यो रे । त्यसपछि म पागल जस्तै भएँ । सपनामा पनि विपनामा पनि तिमीलाई सेनाले बलात्कार गरेको देखिरहन्थेँ । म एकप्रकारको मानसिक रोगी नै भएँ । धेरै पछि समालिएको हुँ । 

–त्यसपछि पार्टीमा फर्कियौ कि ? 

–अहँ के फर्किन्थेँ । घर गएँ । घरमा पनि बस्न सकिनँ । तिम्रो याद मात्रै आइरह्यो । त्यसपछि विदेश गएँ । बिचमा आएर बिहे गरेँ । फेरि विदेश गएँ । पटक पटक गरेर झन्डै १० वर्ष विदेश बसेपछि यो सुमो किनेर काठमाडौँ–तिल्पुङ चलाउँछु अचेल । उसले आफ्नो कहानी सिध्यायो । उसले सोधेन, “तिमी त्यसपछि कहाँ गयौ ?” सोधेको भए मैले भन्नु पथ्र्यो । माझी बाको घरमा उनकी भर्खरै बिहे भएकी बुहारीको हुलियामा दुई÷तीन दिन बसेको कुरा । त्यसै रातको गोलीले मिलनलाई उडायो भन्ने हल्ला सुनेर विक्षिप्त भएर रुँदारुँदै कैयौँ दिन, रात बिताएको कुरा । घरमा पुगेको कुरा । आफूभन्दा दोब्बर उमेरको मान्छेसँग दोस्रो स्वास्नीका रूपमा भित्रिएको कुरा । सम्झेर मैले आँखा पुछेँ । 

–आँसु पुछ्दै छौ त के भयो ? उसले स्टेरिङ चलाउँदै भन्यो । 

–यात्रामा यस्तै हुन्छ । हल्का टाउको दुःखेको छ । टार्न खोजेँ । 

–यहाँ पहिले पेट्रोल पम्प थियोे, त्यो पनि बाढीले बगायो । हामी दुम्जा कट्ने तयारीमा रहेछौँ । 

–अब अर्को बनाउलान् नि । मैले सामान्य उत्तर दिएँ । 

–बनाए पनि पैलाको जस्तो काँ हुन्छ त ? 

–किन हँुदैन उही ठाउँमा बनाएपछि ? 

–उही मान्छे भेटेर आज हामीलाई पैली जस्तो भयो ? म नबोली बसेँ । 

–बोल न बोल्नु हुँदैन ? कि बुढाको डर लाग्यो । उसले जिस्क्यायो । 

–बोल्नुपर्ने के छ र । मैले टार्न खोजेँ । 

–पैली समय नहुँदा पनि बोल्थिऊँ । ऐले यत्रो समय छ नबोल्ने र, आज कति विरक्त लाग्ने गीत बजाको हो गुरुजी ? पछाडिबाट पेसेन्जर करायो । उसले त्यता कुनै ध्यानै दिएन । 

–खाना कहाँ खाने ? भित्ताका ऐना नियाल्दै रिट्ठे भिरमा मैले सोधेँ । 

–खुर्कोटमा । अब आइगो नि । के भोक लाग्यो धेरै ? 

–अब छुट्ने बेला आयो । 

–अब तिल्पुङ नै लान्छु, हुँदैन ? फेरि छिल्लियो । 

–म घुर्मी जान्छु, तिल्पुङ किन जानु ? 

–घुर्मीमा के छ ? 

–मेरो घर छ । रोगी लोग्ने छन् । छोराछोरी छन् । 

–सबै भएर पनि आज यता जाऊँ न हिँड । 

–तिम्लाई के लाग्छ ? सबै छोरीमान्छे बाढीको खोल्सो हुन्, जुन खोलो भेट्यो उतै बग्ने ? कि अझै छिल्लिने उमेर छ ? 

–उमेर त छ नि भर्खरै ४० त काटियो । घरजम गरे त उमेर छ साँच्चै, आज जाऊँ न तिल्पुङ । 

–को हो भनेर चिनाउँछौ बुढीलाई ? 

–साथी भन्छु । 

–केटाको साथी केटी हुन्छ भनी भने ? 

–युद्धको सहयोद्धा भन्छु । सँगै बन्दुक बोकेको भन्छु । 

–कानको चोटको कुरा सुनायौ बुढीलाई ? 

–सुनाएँ । स्वास्थ्य शिविरमा तिमीले स्याहार गरेको पनि भनेँ । तिम्रा हातको जाउलो खाको पनि भनेँ । 

–के भनिन् त ?

–कहिलेकाहीँ रिसाउँदा जाउलो ख्वाउनेको याद आयो होला नि खुब भन्छे । ऊ हाँस्यो । 

–घुसघुसे । मैले छड्के आँखा फर्काएँ । ऊतिर । 

–म घुसघुसे ? देब्रे हात मेरो हातमाथि राख्यो उसले । 

–लाइन उता हो । यता फर्के दुर्घटना हुन्छ । मैले हात हटाइदिएँ । 

–तिम्रो चोटको बारेमा सोधेन बुढाले ? 

–सोध्नुभो । भनेँ तर...।

–के तर, कसरी भयो मात्रै भनेँ । तिमीले हत्केलाले रगत थामेको भनिन । 

–किन ? 

–किन होला कल्पना गर त । 

–रिस उठ्दा जताततै रगत थाम्नेसँग भन्छ भनेर होला । 

–बाठो रछौ ।

–खाना खाने ठाउँ आयो । उसले कार्की होटलअगाडि गाडी रोक्यो, खुर्कोटमा । 

–अब म अर्को गाडी चढ्छु । 

–पख न खाना खाऊँ । मै पु¥याइदिऊँला नभए । 

–बाटो अलग छ । तिमी हिँड्ने बाटो मेरो घरसम्म पुग्दैन । 

–कहिलेकाहीँ तिम्रो घरको बाटो हिँड्छु नि ! 

–नहिँड । मलाई सकस पर्छ । 

–उसोभए हाम्रो बाटो छुट्यो त अब ? 

–अब होइन । उतिबेलै छुट्यो । मरिणबाटै छुट्यो । म झन्डै भक्कानिएँ । 

–माया आज हिँड न मेरो घरसम्म । उसले आँखा रसिला पारेर भन्यो । 

–हामी बाटोका यात्री हौँ मिलन, परिवारका सदस्य होइनौँ । 

–ऊ हलेसी जाने स्कोर्पियो आयो, तिमी त्यसैमा चडेर जाऊ आफ्नु बाटो । ऊ सरासर कार्की होटलभित्र पस्यो । मैले भन्न सकिनँ, “मिलन ! कहिलेकाहीँ मेरो घरको बाटो भएर आऊ है !” 

Author

अमला अधिकारी