• ३ जेठ २०८२, शनिबार

अटेरी गर्दै सरकारको आदेश मान्दैनन् सहकारी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ३ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमै रहेका सहकारी संस्थाहरूले नगरपालिकाको ताकेतालाई समेत बेवास्ता गर्ने गरेका छन् । 

बेनी नगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरूले नगरपालिकाले गर्ने ताकेतालाइ समेत बेबस्ता गर्ने गरेको नगरपालिकाले जनाएको छ । आफ्नो क्षेत्र भित्र रहेका सहकारीको नियमन गर्ने निकाय नै नगरपालिका भएता पनि उसकै निर्देशन समेत सहकारी संस्थाहरूले बेवास्ता गर्ने गरेको नगरपालिकाकै गुनासो रहेको छ । नगरपालिका कार्यक्षेत्र भएका ५५ सहकारी संस्थाहरू रहेको भएता पनि उनीहरूले राज्यले तोकेको नियमित काम समेत नगरेर अटेर गर्ने गरेको बेनी नगरपालिका सहकारी शाखा प्रमुख प्रभा शर्माको भनाई छ । सहकारीहरूलाई उनीहरूले गर्ने कारोबार लगायतको राज्यलाई उपलब्ध गराउनु पर्ने विवरण पटक पटक माग गर्दा पनि नबुझाएको उहाँको गुनासो छ ।

कोपोमिसमा अद्यावधिक गर्नु पर्ने विवरणहरू पनि समयमै अद्यावधिक नगर्दा आफूहरूले योजना बनाएर काम गर्ने वातावरण समेत नहुने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाई छ । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम कोपोमिस हो । सहकारी क्षेत्रको सुचना, तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली कोपोमिसमा सहकारी संस्थाहरूले अद्यावधिक गरिदिएको खण्डमा नियमन गर्न सहज हुन्छ ।

सक्रिय रहेका सबै सहकारीका प्रतिनिधिलाई तालिम दिएको र अद्यावधिक गर्न आग्रह गर्दा पनि समयमै अद्यावधिक नगर्दा समस्या भएको उहाँको भनाई छ । चालु आर्थिक वर्षमै सहकारीका सञ्चालक तथा व्यवस्थापकको काम कर्तव्य अधिकार र जिम्मेवारी तथा कोपोमिस अपडेट सम्बन्धी प्रशिक्षण नगरपालिकाले गरेको उहाँको भनाई छ । त्यस्तै सहकारी रजिस्टार कार्यालयकै आयोजना र बेनी नगरपालिकाको समन्वयमा पनि प्रशिक्षण भएको भए पनि सहकारी संस्थाहरूले अद्यावधिक गराउने तर्फ ध्यानै नदिएको जस्तो देखिएको उहाँ बताउनु हुन्छ । विगतमा शून्य प्राय थियो केही सामान्य सुधार मान्न सकिए पनि सोचे अनुरूप सहकारी संस्थाहरूले चासो दिएको पाइँदैन ।

सहकारी शाखा प्रमुख शर्माले कि अद्यावधिक गर्नु कि हामीलाई उपलब्ध गराउनु हामी नै अद्यावधिक गर्छौँ भनेर आग्रह गर्दा पनि उपलब्ध गराउन आनाकानी गर्ने गरेको सुनाउनुभयो । फोन सम्पर्क गर्ने तथा पत्राचार गर्ने गर्दा पनि सहकारी संस्थाहरूले खासै चासो नदेखाएको उहाँको भनाई छ । 

नगरपालिका कार्यक्षेत्र रहने गरी ५५ सहकारी दर्ता भएको भए पनि हाल सम्पर्कमा रहेर सक्रिय अवस्थामा ४३ सहकारी संस्था मात्रै रहेको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १२ वटा सहकारी अस्तित्वमा देखिएका छैनन् ।