अमृतकुमार महतो
बिजलपुरा (महोत्तरी), जेठ २ गते । शिक्षा मानव जीवनको आधारशिला हो तर महोत्तरीको बर्दीबास नगरपालिका–१२, बिजलपुराको जुरी बजारमा अवस्थित जुरीमाई जनता आधारभूत विद्यालयपरिसर ‘पाठशालाबाट मधुशाला’ मा परिणत हुँदा दलित, गरिब तथा विपन्न बालबालिकाको पठनपाठन बिथोलिएको छ ।
विद्यालयको उचित शैक्षिक व्यवस्थापन नहुँदा स्कुलपरिसर जाँडरक्सी पिउने, जुवातास खेल्ने, चुरोट खाने र गुट्का थुक्ने अड्डा बनेको छ । विद्यालयपरिसरको घेरबार नहुँदा गाईवस्तु स्कुलमै प्रवेश गर्ने गरेको छ । करिब १० कट्ठामा फैलिएको स्कुलको पूर्व र दक्षिणपट्टि घेरबार नहुँदा पाठशाला मधुशालामा परिणत भएको स्थानीयले जनाएका छन् । विद्यालयको भद्रगोल अवस्थाबारे गाउँलेले गुनासो गरेपछि पत्रकारको टोली बुधबार बिहानै स्कुलमा रिपोर्टिङका लागि पुगेको थियो । एक सय बालबालिका पढ्ने स्कुल अस्तव्यस्त छ । विद्यालयमा गरिब, दलित तथा विपन्न समुदायका एक सय बालबालिका पढ्छन् तर त्यहाँ स्थानीय सरकारको ध्यान नै पुगेको देखिँदैन ।
विद्यालय समस्याको चाङमा फसेको छ । चालिस डिग्री सेल्सियसको चर्को घाम छ । छिन छिनमा प्यास लाग्छ तर स्कुलमा पिउने पानीको थोपो छैन । न स्कुलको घेरबार न त बालबालिकालाई खाजा खुवाइन्छ । पाँच वर्षअघि निर्माण भएको द्ुईकोठे अधुरा भवनले स्थानीय सरकारको शिक्षा समितिलाई गिज्याइँरहेको छ । झन् कक्षाकोठामा पस्दा त दाउरो नै थन्क्याइएको गोठ जस्तो हालत छ । समयमा स्कुल खुल्दैन । शिक्षक पनि अबेला आउँछन् । विद्यालय, अभिभावक, विद्यार्थी, समुदाय र स्थानीय सरकारबिच समन्वय, सहकार्य र सूचना आदानप्रदानको अभावले स्कुल अस्तव्यस्त बनेको वडाध्यक्ष रामकिशोर साहले स्वीकार गर्नुभयो ।
न समयमा स्कुल खुल्छ, न प्रधानाध्यापक समयमा पुग्छन्
पत्रकार बुधबार त्यहाँ पुग्दा अनेक थरीका दृश्य देखियो । विद्यालय बिहान ६ बजे खुल्नुपर्ने तालिका छ तर स्कुलको कक्षाकोठाको ताल्चा बिहान ६ः२० बजे मात्रै खुल्यो । प्रार्थना पनि भएन । प्रधानाध्याक वीरेन्द्र साह ६ः५२ मा मात्रै स्कुलमा मोटरसाइकल चढेर आइपुग्नुभयो । जबकि ६ः३० मै कक्षा सुरु हुनुपर्ने तालिका थियो । विद्यालय समयमा खुल्दैन । कक्षा सञ्चालन ढिला गरी हुन्छ । यसले विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । शिक्षकभन्दा पहिले विद्यार्थी आएको थियो । त्योभन्दा पहिले गाउँबाट बाख्रा चर्न स्कुल प्रवेश गरिसकेको थियो । स्कुलमा भेट्नुभएका स्थानीय रामबालक गुप्ता भन्नुहुन्छ, “हामी पनि स्कुल खुलेको छ कि छैन भनेर हेर्न आएका छौँ तर स्कुल त समयमा खुलेकै छैन । बच्चा आएका छन् तर स्कुलमा शिक्षक पनि आउनुभएको छैन ।”
बच्चा आउनुभन्दा पहिला स्कुल खोलेर सरसफाइ गर्नु पर्छ । अनि विद्यार्थीलाई पढाउनु पर्छ तर यहाँ बच्चा आउनुभन्दा ढिला कार्यालय सहयोगी र शिक्षक आउने गरेको अर्का अभिभावक महेश चौधरीले बताउनुभयो । उहाँले गुनासो गर्दै भन्नुभयो, “समयमा स्कुल नखुल्दा बच्चा स्कुलमा आएर सर, मिसको प्रतीक्षा गर्छन् । यो त राम्रो कुरो होइन् । विद्यालयमा सधैँ यस्तै लापर्वाही भइरहेको छ हजुर ।” प्रधानाध्यापक वीरेन्द्र साहले आफू बाटोमा आउँदा अभिभावकसँग विद्यार्थी भर्नाबारे कुरा गर्न लाग्दा ढिलो भएको स्वीकार गर्नुभयो ।
कक्षाकोठामा दाउरा थन्क्याउने, धारामा थोपो पानी नआउने
कक्षा ३ सम्म पढाइ हुने स्कुलमा तीन वटा कक्षाकोठा रहेको छ । कक्षा ३ मा पढ्ने छात्र अङ्कित शर्माले विद्यालयका कक्षाकोठामा दाउरो, रड, जस्तापाता राखिएकोले हातखुट्टामा चोटपटक लाग्ने गरेको सुनाउनुभयो ।
विद्यालयमा आठ वटा धारा जडान गरिएको छ तर कुनै पनि धारामा थोपो पानी आउँदैन । ती सबै धारा दुई वर्षअघि जडान गरिएको थियो । विद्यालयपरिसरमा चापाकल गाडिएको छ तर कलको हेड नै छैन । विद्यालयपरिसरनजिकै बोरिङ पनि छ तर सञ्चालनमा छैन । बच्चा तिर्खा मेटाउन जुडी बजार र नजिकैको शिवमन्दिरमा जान्छन् । त्यहाँ पनि पानी पिउन सहज नभएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र साहले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुलपरिसर घेरिएको छैन । चापाकलको हेड नै जाडरक्सी खानेले तोडेर फालिदियो ।” बोरिङ सञ्चालन गर्न ल्याइएको विद्युतीय तार र मिटर नै चोरी भएको स्थानीय हरदेव महतोले बताउनुभयो ।
‘राजनीतिको सिकार बन्यो विद्यालय’
राजनीतिक खिचातानीले विद्यालय लथालिङ्ग बनेको अभिभावकले जानकारी दिएका छन् । यसले स्कुल रक्सी खाने, जुवातास खेल्ने, चुरोट खाने अड्डा बनेको विद्यालयकी अभिभावक सुमित्रा देवीले गुनासो गर्नुभयो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “हाम्रो बच्चा पढ्ने स्कुलमा केही सुविधा छैन । विद्यालयलाई त रक्सी भट्टी नै बनाइदियो । यहाँ आएर हाम्रो बच्चाले के सिक्छ ? निकै दुःखलाग्दो विषय बन्यो । सरकारको ध्यान यहाँ जानु पर्छ ।” स्कुलमै रक्सी पिएर बोतल फुटाइदिने गरेको सुनाउँदै उहाँले भन्नुभयो, “स्कुलको फिल्डमा सिसाले हाम्रो नातिको खुट्टा काटियो । गाउँका ठुलाबडाको जुँगाको लडाइँले हाम्रो स्कुल बिग्रियो तर सरकारको ध्यान छैन ।” विद्यालयलाई कुरूप बनाउनेलाई सरकारले खोजी खोजी कारबाही गर्नुपर्ने उहाँको माग छ ।
विद्यालयका प्रधानाध्याक वीरेन्द्र साहका अनुसार स्कुलनजिकै जुडी बजार छ । आइतबार र बुधबार बजार लाग्छ । स्कुलको कम्पाउन्डवाल छैन । उच्शृङ्खल समूह बजारबाट मासु र रक्सी लिएर विद्यालयमा आएर खान्छन् । चुरोटको धुवाँ उडाउँछन् । गुट्का खाएर जथाभाबी थुक्छन् । स्कुलपरिसरमै दिसापिसाब गरेर स्कुललाई दुर्गन्धित बनाइदिन्छ ।
प्रधानाध्यापक साहले गोरखापत्रसँग थप्नुभयो, “विद्यालयमा यत्रतत्र रक्सीका बोतल भेटिन्छ ।
चुरोटका ठुटाले स्कुल शैक्षिक वातावरण बिथोलिएको छ ।” स्कुलमा खानेपानीको अभावले गर्दा वैशाखा १९ यता बालबालिकालाई खाजा खुवाउन नसकिएको उहाँले सुनाउनुभयो । विद्यालयको समस्याबारे बुझ्न फोन गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इसराफिल साफीको मोबाइलमा सम्पर्क हुन सकेन ।
स्कुललाई बजेट छैन
बर्दीबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले समाज अग्रसर भए मात्रै विद्यालय सुधार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुलमा भवन निर्माण, घेरबार, बगैँचा निर्माण जस्ता काम गर्नुपर्ने छ । शिक्षाको बजेट सबै नगरप्रमुुखले चलाउनुहुन्छ । उहाँले बजेट दिइरहनुभएको छैन । विद्यालय विकासमा नगरप्रमुख पनि बाधक बन्नुभएको जस्तो लाग्छ ।”
विद्यार्थीलाई सधैँ खाजा खुवाउनुपर्ने बताउँदै वडाध्यक्ष साहले थप्नुभयो, “यदि स्कुलले खाजा खुवाउँदैन भने खाजाका बारे अनुगमन गर्ने नगरपालिकाको शिक्षा समिति कहाँ हरायो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले स्कुल भद्रगोल हुँदा के हेरेर बसिरहनुभएको छ ? वडाध्यक्ष एक्लै केही गर्न सक्दैन । सबैको पहलले मात्रै स्कुलको अवस्था सुधार हुन्छ ।” आउँदो आर्थिक वर्षमा विद्यालय घेरबार, अधुरा भवन निर्माणका लागि बजेट नगरपालिकासँग माग गर्ने उहाँले बताउनुभयो ।
बर्दीबास नगरपालिकाकाका विद्यालय निरीक्षक रोमन निरौलाले विद्यालय सुधार गर्न सबै पक्ष जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बर्दीबासमा ९० वटा निजी र सामुदायिक स्कुल छन् । स्कुल चलाउन प्रधानाध्यपाक र विद्यालय व्यस्थापन समिति छन् । स्कुलको समस्याबारे हामी गम्भीर छौँ ।”
विद्यालयको समस्या समाधान गर्छौं : नगरप्रमुख क्षेत्री
बर्दीबासका नगरपालिका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले सीमित स्रोत सधानको अधिकतम परिचालन गरेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको समस्या पहिचान गरेर माग, आवश्यकताका आधारमा बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । व्रmमिक रूपमा सबै स्कुलको समस्या समाधान गर्दै जाने छौँ ।”