रेखीराम राना
पाल्पा, भदौ १ गते । ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य उपचार सुरु गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठनागरिकको घरमै पुगेर आवश्यक स्वास्थ्य सेवा सुरु गरेको हो ।
स्वास्थ्य संस्थासम्म पुगेर प्राथमिक सेवा लिन नसक्ने पालिकाभित्रका नागरिकको घरमै पुगेर उपचार गर्ने कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।
जुन क्षेत्रका नागरिकलाई नियमित उपचार र परामर्श आवश्यक छ, उनीहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर यस्तो कार्यक्रम सुरु गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।
यसबाट पालिकाभित्रका तीनसय बढी अपाङ्गता भएका व्यक्ति र एक हजार बढी ज्येष्ठनागरिक लाभान्वित हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । पालिकाले ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँचसँगै आवश्यक परामर्श, मधुमेह, उच्च रक्तचापलगायतका समस्या देखिएमा आवश्यक औषधि वितरण गरेको छ ।
घरमै पुगेर स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँचपछि आवश्यक परे अशक्तका लागि निःशुल्क उपचारका व्यवस्था समेत गरिएको पालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले जानकारी दिनुभयो । यस्तो कार्यक्रमले उपेक्षित र आर्थिक रुपले विपन्न नागरिकलाई ठूलो राहत दिने लुङ्चेको विश्वास छ ।
स्थानीय सरकारको तर्फबाट नागरिकलाई दिन सकिने आधारभूत स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।