मीना कंडेल
कावासोती, भदौ १ गते । नवलपुरमा रहेको अपाङ्गगता पुनःस्थापना केन्द्रमा 'डे केयर सेन्टर' सञ्चालनमा आउन सकेको छैन । मस्तिष्क पक्षघात स्वावलम्बन समाजको समन्वयमा उक्त अपाङ्गगता पुनःस्थापना केन्द्र नवलपुरको कार्यालय परिसरमा सञ्चालन गरिँदै आएको थियो । कोरोना महामारी लगत्तै बन्द भएको उक्त 'डे केयर सेन्टर' चार वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको अपाङ्गगता पुनःस्थापना केन्द्र नवलपुरका अध्यक्ष दिननाथ भुसालले बताउनुभयो ।
जिल्लामा रहेका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको शारीरिक अवस्था पुनः सुस्त नहोस् भन्ने हेतुले सञ्चालन गरिएको डे केयर सेन्टर आवश्यक बजेट अभावका कारण सञ्चालनमा आउन नसकेको हो । समन्वय संस्थाले कार्यक्रमका लागि प्रशिक्षक र बालबालिकाका लागि आवश्यक खेलकुद सामग्री जस्ता कुरा उपलब्ध गराउन सहयोग पुर्याए पनि टाढादेखि आउने बालबालिकालाई दिनहुँ आउजाउ गर्न आर्थिक समस्या हुने हुँदा सोही कारण कार्यक्रम नियमित गर्न असमर्थ रहेको अध्यक्ष भुसालले बताउनुभयो ।
मस्तिष्क पक्षघात भएका बालबालिका विभिन्न खेलकुद सामग्रीको प्रयोग गर्दै खेल्दै, पढ्न मन पराउने हुँदा डे केयर सेन्टरद्वारा उनीहरुलाई शारीरिक व्यायामसँगै शैक्षिक क्रियाकलापमा समत सहयोग पुर्याउँदै आएको थियो । विशेषतः गैँडाकोटदेखि चोरमारासम्मका बालबालिका उपस्थित हुँदै आएकोमा हाल अभिभावकलाई डे केयर सेन्टर समक्ष आउन जान समेत आर्थिक समस्या हुने र संस्थाले पनि उपलब्ध गराउन नसक्दा उक्त सेन्टर पुनः सञ्चालनमा ल्याउन समस्या भएको हो ।