• १३ मंसिर २०८१, बिहिबार

कर्णाली करिडोर मर्मतका लागि एक साता बन्द

blog

मर्मत हुँदै कर्णाली करिडोर। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट । साउन ३२ गते। कर्णाली करिडोर जोड्ने खुलालु पुलको नजिकै सडक मर्मत कार्य सुरु भएको छ। करिडोर जोड्ने कर्णाली पुलको बायाँपट्टिको उकालो सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो। 

सडक मर्मत गर्न भदौ १ गतेदेखि एक साता कर्णाली करिडोर बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले पहिलो पटक ठेक्का खोल्दा कसैले प्रस्ताव पेस नगरेका कारण मर्मतको काम ढिलाे भएको जानकारी दिनुभयो। 

पहिलो पटकको ठेक्का रद्दपछि दोस्रो पटकको ठेक्का स्वीकृत भएको र काम पनि सुरु भएको छ। कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले चार करोड ७० लाख ६२ हजार ३९८ रुपियाँ ८५ पैसामा ठेक्का सम्झौता भएर काम सुरु गरेको हो। 

खुलालु पुल नजिकैको ओरालो सडक मर्मत भएमा जुनसुकै यातायातलाई आउजाउ गर्न सहज हुनेछ। उक्त सडक ढलान गरिने भएको छ। ओरालोमा ग्राभेल गर्दा पानीले बगाउने र पिचसमेत नटिक्ने भएपछि ढलान गर्न लागिएको हो।

सुर्खेत तथा नेपालगन्जबाट आउने यातायात र हुम्ला, मुगु, बाजुरा र कालीकोटको प्रदेश (ख) बाट चल्ने सबै लामो दूरीका गाडी एक हप्तालाई बन्द गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै एक हप्तासम्म सडक बन्द हुने जानकारी गराएको हो। खुलालुको जोखिम सडक मर्मतका लागि हरि सागर, रेग्मी जेभीले जिम्मा लिएको छ।