• ३० वैशाख २०८२, मङ्गलबार

बँदेलबाट मकै बाली जोगाउनै समस्या

blog

घोराही समाचारदाता

घोराही, साउन ३२ गते । दाङमा जङ्गली जनावरका कारण किसानलाई बाली जोगाउनै समस्या भएको छ। जङ्गल नजिक बसोबास गर्ने किसान जङ्गली जनावर बँदेलबाट पीडित बन्दै आएका छन्। भर्खर घोगा लागेको मकैमा बँदेलले क्षति पु-याउन थालेपछि किसान रातभर थाल तथा ढोल बजाएर जाग्राम बस्न थालेका छन्।

बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिका, घोराही उपमहानगरपालिका–१९, तुलसीपुरको वडा नं. ३, ४ र ७ का विभिन्न स्थानमा किसानको बारीमा लगाएको मकै बँदेल र बाँदरले क्षति पु-याएको बताइन्छ। तुलसीपुर उपमहानगरपालिका–७ का ईश्वरी वलीले जङ्गली जनावरका कारण घोगा लाग्दै गरेका मकै जोगाउनै समस्या परेको बताउनुभयो।

उहाँले भन्नुभयो, “बँदेल मार्न पाउनुपर्ने कानुनी व्यवस्था गरिदिनुप-यो। नत्र स्थानीयले मेहनत अनुसारको लगानी उठाउने अवस्था छैन।” उहाँले जङ्गली जनावरण नियन्त्रणका लागि वडा कार्यालय र वन कार्यालयसँग आग्रह गरिए पनि किसानको समस्यालाई गम्भीरतापूर्वक नलिइएको बताउनुभयो।

स्थानीय ढुण्डीराज पराजुलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ अन्तर्गत गणेशपुर, तमाखे, घुसरी, तुलसीपुर–४ का मजुवा, रक्षाचौर, तुलसीपुर–३ को रानागाउँ, गोठीखोलगायतका गाउँमा बँदेलका कारण मकैबाली जोगाउनै समस्या रहेको छ। बँदेलले मकैबाली क्षति पु-याउन थालेपछि रातभर बँदेल धपाउन ढोल बजाउनु पर्छ। साँझमा आएर कति बेला खान्छ पत्तै हुन्न।

उहाँले बँदेललाई मार्न दिने व्यवस्था भए किसानको अन्नबालीमा कम क्षति हुने बताउनुभयो। जङ्गली जनावरलाई मार्न नदिने र मकैबाली बचाउनका लागि रातको समयमा बारीमा जानुपर्दा मकै खान आएका बँदेलले आक्रमण गर्छ कि भन्ने डरसमेत रहेको बताउनुभयो। पश्चिम दाङको बबई गाउँपालिका मलैइलगायतका ठाउँमा बाँदर तथा बँदेलका कारण किसानले बर्सेनि समस्या भोग्नुपर्ने अवस्था रहेको वीरबहादुर घर्तीमगरले बताउनुभयो। उहाँले बाँके राष्ट्रिय निकुञ्ज बस्ती नजिकै रहेका कारण जनावर आएर मकैबालीमा क्षति गर्ने गरेको बताउनुभयो। बँदेल र बाँदरले मकै बाली सखाप पार्न लागेपछि पीडित किसानले मकैलगायतका बाली बचाउनसँगै राहतका लागि स्थानीय सरकारसँग माग गर्ने गरेका छन्।