• १२ साउन २०८१, शनिबार

सकियो साउन, सकिएन रोपाइँ

blog

धान रोप्दै महिला । फाइल तस्बिर

काठमाडौं, साउन ३२ गते। यो वर्ष साउन सकिँदासमेत धान रोपाइँ सकिएको छैन। साउन ३० गतेसम्म ८७ प्रतिशत मात्र धान रोपाइँ भएको छ। मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिलाे सुरु हुँदा धान रोपाइँमा कमी भएको हो। जसले गर्दा समग्र रोपाइँको क्षेत्रफल घटेको हो। गतवर्षको तुलनामा यो वर्षको धान रोपाइँ सात प्रतिशत कम हो। 

गत आर्थिक वर्ष २०७९/८० मा देशभर धान रोपाइँ भएको क्षेत्रफल ९४ प्रतिशत थियो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटीका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलाे भएका कारण धान रोपाइँ ढिला भएको हो। 

“गतवर्षको तुलनामा यो वर्ष धान रोपाइँमा सात प्रतिशतले कमी आएको छ,” उहाँले भन्नुभयो, “मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलाे भएका कारण धान रोपाँइमा कमी भएको हो।”

अहिले यी क्षेत्रमा मनसुन सक्रिय भएको र रासायनिक मलको उपलब्धता सुनिश्चित भएको हुँदा साउन मसान्तसम्म ९२ देखि ९५ प्रतिशत धान रोपाइँ हुने देखिएको उहाँको भनाइ छ। मुलुकभर १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। जसमध्ये अहिलेसम्म १२ लाख ९१ हजार ९६८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। मध्य तराईमा साउन मसान्तसम्म नै धान रोपाइँ हुन्छ। 

कुन प्रदेशमा कति रोपाइँ ?

यस वर्ष सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। यस प्रदेशमा कुल क्षेत्रफलको ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गतवर्ष यस प्रदेशमा यही समयमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कुल एक लाख ७७ हजार ७६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने यस प्रदेशमा अहिलेसम्म एक लाख ७६ हजार ३५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

यस्तै दोस्रो धेरै रोपाइँ कर्णाली प्रदेशमा भएको छ। यस प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कुल ४५ हजार ३८७ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुने यस प्रदेशमा अहिलेसम्म ४४ हजार ५०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

कोशी प्रदेशमा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कुल तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने यस प्रदेशमा अहिलेसम्म तीन लाख २० हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

लुम्बिनी र गण्डकी प्रदेशमा समान ९३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

लुम्बिनी प्रदेशमा कुल तीन लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने प्रक्षेपण गरिएकोमा अहिलेसम्म दुई लाख ८८ हजार ९७१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यस्तै गण्डकी प्रदेशमा ९७ हजार ८५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने प्रक्षेपण गरिएकोमा अहिलेसम्म ९० हजार ५१४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा कुल एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म ९९ हजार ८२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

प्रमुख धान उत्पादन हुने मधेश प्रदेशमा नै यो वर्ष धान रोपाइँमा कमी देखिएको छ। यस प्रदेशमा अहिलेसम्म ६८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कुल चार लाख एक हजार ६५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने आँकलन गरिएकोमा अहिलेसम्म दुई लाख ७१ हजार ५८९ हेक्टर क्षेत्रफलमा धान रोपाँइ सम्पन्न भएको छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।