ललित बसेल
सुर्खेत, कात्तिक १८ गते । पर्यटनको राम्रो सम्भावना भएको कर्णाली प्रदेशमा गत वर्ष पाँच लाखभन्दा बढी पर्यटक घुमेका छन् । यहाँका रारा, से फोक्सुन्डो, काँक्रेविहार, सहिद पार्कलगायतका स्थानमा पाँच लाख १८ हजार ९७० पर्यटक आएका छन् ।
यो तथ्याङ्क गत चैतसम्मको हो । असारसम्मको तथ्याङ्क नआए पनि छ लाखभन्दा बढी पुगेको अनुमान कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छ । त्यस्ता पर्यटकमा बाह्य चार हजार ४८२ र आन्तरिक पाँच लाख १४ हजार ४८८ छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्यटकले सुर्खेतको बुलबुले र सुर्खेतकै प्रादेशिक सहिद पार्क अवलोकन गरेका छन् । बुलबुलेमा तीन लाख २० हजार ८२३ र प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार पर्यटक आएका छन् । मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले असारसम्मको सबै तथ्याङ्क आउँदा कर्णालीमा भित्रिने पर्यटक छ लाख नाघ्ने बताउनुभयो ।
मन्त्रालयका अनुसार रारामा १९ हजार ४४७, भेरी नदीमा ¥याफ्टिङ छ हजार ५७८, सुर्खेतको प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार, बुलबुलेमा तीन लाख २० हजार ८२३, से फोक्सुन्डोमा पाँच हजार ९५, गुराँसेमा १६ हजार ६६ र काँक्रेविहारमा ३० हजार ९६१ पर्यटक रमाएका छन् ।
रारामा ३५३ बाह्य र १९ हजार ९४ आन्तरिक, भेरी नदीमा ¥याफ्टिङ दुई हजार ८६४ बाह्य र तीन हजार ७१४ आन्तरिक, प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार आन्तरिक तथा बुलबुलेमा ७८ बाह्य र तीन लाख २० हजार ७५४ आन्तरिक पर्यटक आएका छन् ।
यस्तै डोल्पाको से फोक्सुन्डो तालमा ५६८ बाह्य र चार हजार ५२७ आन्तरिक, दैलेखको गुराँसेमा ५८९ बाह्य र १५ हजार ४७७ आन्तरिक तथा सुर्खेतको काँक्रेविहारमा ३० बाह्य र ३० हजार ९३१ आन्तरिक पर्यटकले अवलोकन गरेको मन्त्रालयका औद्योगिक प्रवर्धन तथा पर्यटन महाशाखा अधिकृत सातौँ स्मिता बेल्बासेले जानकारी दिनुभयो । उहाँले असारसम्मको पर्यटकको विवरण सम्बन्धित स्थानबाट माग गरिरहेको र आएपछि पुनः सङ्ख्या यकिन गरिने उल्लेख गर्नुभयो ।
यी हुन् कर्णालीका नयाँ पर्यटकीय गन्तब्य
यसैबिच केही समयअघि नेपाल सरकारले नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो । त्यसमा सल्यानको कुपिन्डे दह, डोल्पाका से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको सिँजा सभ्यता र डुडुल स्तूप, हुम्लाको लिमी उपत्यकालाई पर्यटकीय गन्तव्यमा राखिएको छ ।
यसै गरी मुगुको रारा तालसहित से फोक्सुन्डो ताल पदयात्रा मार्ग, कालीकोटको पचाल झरना, जाजरकोटको खलङ्गा दरबार, रुकुमपश्चिमको गोतामकोट चित्रिपाटक साहसिक पदमार्ग, दैलेखको पञ्चकोशी पर्यटन क्षेत्र, कोतगढी–पञ्चदेवल–बेलासपुर महाबु पर्यटन क्षेत्र तथा सुर्खेतको काँक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जाजुरा दह, पञ्चपुरीको गुसीताल, मादले गुफा, शिव गुफा र गिद्धेडाँडालाई पनि पर्यटकीय गन्तव्यमा राखिएको छ ।