गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी छनोटका लागि पठाएको मलेसिया सरकारले तोकेका नयाँ १० मापदण्डबारे म्यानपावर व्यवसायीसँग आधिकारिक धारणा मागेको छ ।
मन्त्रालयले म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पत्र पठाएर आधिकारिक धारणा मागेको हो । मलेसिया सरकारले नेपालसहित श्रमिक पठाउने स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यानपावरका लागि समेत एकै किसिमको मापदण्ड तोकेर मापदण्ड पूरा गरेका म्यानपावरबाट मात्रै श्रमिक लैजाने कुरा पत्रमार्फत जानकारी गराएको छ । मलेसिया सरकारले नेपाल सरकारलाई गरेको पत्र अनुसार अब मलेसियामा श्रमिक पठाउने म्यानपावरले मलेसियाले तोकेका वटा नयाँ मापदण्ड पूरा गरेको हुनुपर्ने छ ।
मलेसिया सरकारको पत्र अनुसार नेपालसँग मलेसियाले तोकेका मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीको सूची तयार गरी कात्तिकको २९ गते (नोभेम्बर १५) भित्र मलेसियाको मानव संसाधन मन्त्रालयमा पेस गर्न अनुरोध गरेको छ ।
मलेसिया सरकारले श्रमिक पठाउने स्रोत देशका केही म्यानपावरको प्रभावमा परेर सिन्डिकेट लगाउन नयाँ १० वटा मापदण्ड ल्याएको आरोप लगाउँदै आएका छन् । व्यवसायीले १० वटा मापदण्ड पूरा गरेका म्यानपावरको सङ्ख्या निकै कम रहेको, मलेसियाले सीमित म्यानपावरलाई मात्रै लाभ दिने र श्रमिकमाथि आर्थिक भार थप्ने उद्देश्यले नयाँ मापदण्ड ल्याएको आरोप लगाउँदै आएका छन् ।
व्यवसायीको फरक फरक अभिव्यक्ति सार्वजनिक हुन थालेपछि श्रम मन्त्रालयले सङ्घमार्फत आधिकारिक धारणा पेस गर्न पत्राचार गरेको जनाएको छ । मन्त्रालयले सूचनामार्फत संविधान, श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धिसम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सरोकारवालासँग छलफल गरेर उपयुक्त निर्णय लिनेसमेत जनाएको छ । साथै मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार मलेसियामा नेपाली श्रमिक पठाउने सम्बन्धमा मलेसिया सरकारसँग २०१८ नोभेम्बर २९ मा भएको श्रम समझदारी नवीकरण गर्ने चरणमा छ । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले गएको बिहीबार मलेसिया परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयमा पठाएको नयाँ १० मापदण्डबारे पत्र प्राप्त भएको जानकारी गराउनुभयो ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्च नेपालले मलेसिया सरकारले तोकेको नयाँ १० वटा मापदण्ड सिन्डिकेटको मनसायले ल्याएको भन्दै विरोध गरेको छ । सो मञ्चले सोमबार पत्रकार सम्मेलनमार्फत उक्त मापदण्डको खारेज गर्न नेपाल सरकारबाट तत्काल पहल गरिनुपर्ने दबाब दिएको हो । नेपालमा रहेका एक हजार १५० वैदेशिक रोजगार व्यवसायीमध्ये अधिकांशले मलेसिया श्रमिक पठाउने काम आएको र नयाँ मापदण्ड कार्यान्वयन भएमा १०/१२ वटाबाहेक अरू नपर्ने सो सङ्घका अध्यक्ष जनक रावलले बताउनुभयो ।