• २ जेठ २०८१, बुधबार

मदन भण्डारी राजमार्गमा पुल निर्माण सम्पन्न

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, साउन ३१ गते । राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार पूर्वी खण्ड अन्तर्गत कटारी नजिकै ठप्पर खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको र कमलामाई नगरपालिका–६ स्थित ग्वाङखोला पुल विवादका कारण निर्माण सुरु हुन सकेको छैन । राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । 

उक्त राजमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभीले लिएको छ । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । 

पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर प्रभातकिरण राईले पूर्वी खण्डमा रहेका ५६ वटा पक्की पुलमध्ये ५५ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६५ मिटर लम्बाइ रहेको ठप्पर खोलाको पुलको काम पनि ५० प्रतिशतभन्दा बढी नै भइसकेको छ । पहुँच मार्गसमेत निर्माण गर्नुपर्ने भएकाले आगामी मङ्सिरसम्म उक्त पुल निर्माण सकिन्छ । यो खण्डमा चार वटा पुलको दायाँबायाँ पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको छ ।” निर्माण सम्पन्न भई पुलबाट यातायात सञ्चालन भइरहेको सूचना अधिकारी राईले बताउनुभयो । पुलको काम सकिएपछि भिमानदेखि बसाहासम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुने छ । 

त्यस्तै पश्चिम खण्डका इन्जिनियर रमेश पाण्डेका अनुसार उक्त खण्डमा रहेका ४० वटा पुलमध्ये ३९ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पश्चिम खण्डमा नै पर्ने ग्वाङखोला पुल विवादका कारण लाइन दिन नसक्दा ठेक्का लागेर पनि काम हुन सक्दा फिर्ता गएको छ । जेडआई इसी अनक लुम्बिनी जेभी निर्माण कम्पनीले ठेक्का लिएको ३३ वटा पुलमध्ये त्यही ग्वाङखोला पुल मात्रै विवादका कारण काम हुन नसकेको हो ।

राजमार्ग निर्माणको सुरुदेखि नै सडक मापदण्डको विषयलाई लिएर विवाद हुँदा पश्चिम खण्डमा पर्ने जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा छ किलोमिटर सडक निर्माण हुन सकेको थिएन । दायाँबायाँ गरी ११ मिटरभित्र सम्पूर्ण संरचना बन्ने गरी सहमति भएपछि छ किलोमिटरमध्ये पाँच किलोमिटर सडक अन्तिम चरणमा पुगको छ । बाँकी एक किलोमिटरमा ठाउँठाउँमा स्थानीयको अवरोधले निर्माणमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी र पश्चिम खण्डमा पुलबाहेक बाँकी सबै काम सम्पन्न भइसकेको छ । 

२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त राजमार्ग २०७७ साल कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बिचमा कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको थियो । दोस्रो कोरोना महामारीमा समेत काम हुन नसकेपछि अरू छ महिना म्याद थप भएको थियो ।