• २ कात्तिक २०८२, आइतबार

जुवा खेलिरहेका वडा अध्यक्षसहित ६ पक्राउ

blog

शंकर केसी

सल्यान, कात्तिक २ गते । सल्यानमा वडा अध्यक्षसहित जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । सल्यानको श्रीनगरबाट प्रहरीले एक लाख रुपियाँ बढी नगदसहित उनीहरुलाइ पक्राउ गरेको हो । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले शारदा नगरपालिका १ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा आइतबार बिहान छापा मार्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आइतबार विहान करिब ५ बजे प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको १४ जनाको टोलीले छापा मारेको थियो ।

जुवा खेलिरहेका शारदा नगरपालिका १ का वडा अध्यक्ष प्रदीप पाण्डे, त्यही स्थानका लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका ६ का झपेन्द्रप्रकाश रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घटनास्थलबाट नगद एक लाख सात हजार ६२५ रुपियाँ, मोबाइल फोन ६ थान, जुवा खेल्न प्रयोग गरिएको तासका ४ गड्डी र प्रयोग नगरिएका ७ गड्डी बरामद गरिएको पनि प्रहरीले जनाएको छ।