घोराही समाचारदाता
घोराही, साउन ३१ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा सघाउन आफू तयार रहेको बताउनुभएको छ।
तस्करी प्रकरणमा आफूलाई अनावश्यक रूपमा जोडेर प्रचार गर्ने काम भएको गुनासो पोख्दै उहाँले दाङको घोराहीमा पत्रकारसँग भन्नुभयो, “सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गर्दछु।”
“सुन तस्करीको प्रकरणमा आफ्नो नाम जोडेर अनावश्यक रूपमा सञ्चार माध्यममा प्रचार गर्ने काम भएकाले अब सुन प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।
“छानबिन तथा अनुसन्धानमा जुन सुकै बेला पनि सघाउन म तयार रहेको छु, अनुसन्धानका लागि जति बेला बोलाए पनि म जान तयार छु,” उपाध्यक्ष महराले भन्नुभयो। उहाँले सुन तस्करी प्रकरणमा आफ्नो नामसँग जोडिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्रै चिनेको स्पष्ट पार्नुभयो।
त्योभन्दा फरक रूपमा आफूले वाङलाई नचिनेको बताउँदै पूर्वसभामुख महराले सुन तस्करीका विषयमा जसरी मेरो नाम राखेर प्रचार गर्ने काम भएको छ, त्यसमा सत्यता छैन भन्नुभयो।
“चिनियाँ नागरिक वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट ‘भेप’ भन्सारमा रोकिएको छ, त्यसका लागि कुरा गर्दिनु प-यो भनेपछि मैले नै ‘इलिगल सामान हो कि लिगल भनेर सोधेको हुँ,” उहाँले भन्नुभयो।
वाङले लिगल सामान हो भनेपछि के रहेछ भनेर भन्सारमा रहेका साथीसँग आफूले सोधेको र कानुन अनुसार काम गर्नुहोला भनेको दाबी उहाँले गर्नुभयो। त्यही संवादलाई आधार मानेर आफूलाई सुन प्रकरणमा जोडेर गलत तरिकाले प्रचार गरिएको उहाँले बताउनुभयो। उहाँले आफ्नो नाम सुन प्रकरणमा जोडेर प्रचार गर्नेहरू नेपालमा कम्युनिस्ट एकता नचाहने र माओवादीलाई मिल्न नदिने शक्तिहरू भएको आरोप लगाउनुभयो। “म ‘एग्रेसिभ’ मान्छे होइन, सकेसम्म सबै वामपन्थी, माओवादी, राष्ट्रवादी शक्तिहरू मिल्नु पर्छ, एक ठाउँमा आउनु पर्छ भन्नेमा छु” उहाँले भन्नुभयो ।
“देशले चाहेको समृद्धि हुन्छ भन्ने मान्छे हुँ, त्यही अनुसार पहल पनि गरिरहेको छु। सायद यही मन नपराउने शक्तिबाट मेरो नाम सुन प्रकरणमा जोडेर प्रचार गर्ने काम भएको हुनु पर्छ भन्ने लागेको छ,” उहाँले थप्नुभयो।